वीरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको हैजा प्रकोप अहिले गम्भीर अवस्थामा पुगेको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा २६ वटा बेडमात्र भए पनि दैनिक ५० भन्दा बढी हैजा र झाडापखालाका बिरामी भर्ना भइरहेका छन्। बेड नपुग्दा भुइँमै म्याट्रेस बिछ्याएर बिरामी राख्नुपरेको छ। अस्पताल प्रमुख डा. चुमनलाल दासका अनुसार, पछिल्ला सात दिनमै ६१२ भन्दा बढी बिरामी उपचारका लागि आइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्र ८४ जना नयाँ संक्रमित थपिएका छन्। अहिले आईसीयूमा ३१ जना, एचडीसीयूमा ६ जना र जनरल वार्डमा १४१ जना बिरामी छन्।
वीरगञ्ज महानगरपालिकापछि पर्सा र बारामा पनि संक्रमण फैलिएको पुष्टि भएको छ। चिकित्सकहरूको भनाइमा, संक्रमितको संख्यामा कमी हुने कुनै संकेत देखिएको छैन, बरु दैनिक बढिरहेको छ।
जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार, स्थिति नियन्त्रणबाहिर जान सक्ने संकेत देखिएको छ, त्यसैले नाका बन्द गरेर र आवश्यक परे कर्फ्यु लगाएर छिट्टै नियन्त्रणको कदम चाल्न जरुरी छ। उनले हैजा दूषित खानेपानीमार्फत फैलिएको हुँदा ७२ घण्टा आवतजावत बन्द गरेर संक्रमण स्रोतलाई रोक्नुपर्ने बताए।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, हैजालाई नियन्त्रणमा लिन सरकारले पहिलो प्राथमिकतामै राख्नुपर्छ। संक्रमितको संख्याभन्दा १० गुणा बढी लक्षणविहीन संक्रमित समुदायमा हुनसक्ने भएकाले तत्काल सजगता आवश्यक छ। उनका अनुसार, हैजाले उपचार नपाउँदा मृत्यु दर ५० प्रतिशतसम्म पुर्याउन सक्छ, तर समयमै उपचार भए मृत्यु दर न्यून हुन्छ।
सरकारको भनाइमा भने संक्रमणको स्रोत पत्ता लगाउन कठिनाइ भइरहेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलका अनुसार, हाल विभिन्न टोली अनुसन्धानमा खटिएका छन्, तर दूषित पानी वा अन्य कारण ठ्याक्कै पत्ता लाग्न सकेको छैन। नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी थप गरिएको, र डब्ल्यूएचओको प्रोटोकल अनुसार औषधि निःशुल्क उपलब्ध गराइएका छन्।
तर विज्ञहरूले चेतावनी दिएका छन्— यदि तुरुन्त कदम चालिएन भने यो प्रकोप २०६६ सालको जाजरकोट जस्तै महा- महामारीमा रूपान्तरण हुन सक्छ, जहाँ ३५० जनाको मृत्यु भएको थियो र ६० हजारभन्दा बढी उपचारको आवश्यकता परेको थियो। वीरगञ्ज सीमावर्ती क्षेत्र भएकाले भारततर्फबाट दैनिक हजारौं गाडी आउनु अर्को जोखिम हो।
प्रतिक्रिया