काठमाडौं / ४ भदौ २०८३ / लोकप्रिय हास्य कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा सिर्जित १८ करोड ४३ लाख रुपैयाँको आर्थिक दायित्व समाधान गर्ने प्रयास सफल नभएको भन्दै छोरीसहित पुनः अमेरिका फर्किएका छन्। करिब दुई महिनाअघि समस्या समाधान हुने विश्वाससहित नेपाल आएका कट्टेलले बिहीबार सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति सार्वजनिक गर्दै आफू निराश भएर फर्किन बाध्य भएको बताएका हुन्।
कट्टेलले यसपटक राज्यबाट न्याय पाउने, आफ्नै देशमा बसेर जीवन अघि बढाउने र कलाकारितामार्फत पुनः दर्शक हँसाउने ठूलो आशा बोकेर स्वदेश फर्किएको बताएका छन्। तर दुई महिनासम्म विभिन्न सरकारी निकाय धाउँदा पनि समस्याको निकास ननिस्किएको उनको गुनासो छ।
“यो पटक त १०० प्रतिशत हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,” उनले लेखेका छन्।
उनका अनुसार यस अवधिमा राज्यका विभिन्न निकायमा पुगेर निरन्तर आग्रह गरे पनि आफ्नो पीडा खुलेर राख्ने र समस्या समाधान गराउने अवसरसमेत प्राप्त भएन।
कट्टेलले रंगशालासँग जोडिएको दायित्व भुक्तानीका लागि छुट्याइएको १५ करोड रुपैयाँसमेत कार्यान्वयन हुन नसकेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले लेखेका छन्, “१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु।”
धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा जनसहभागिता र सहयोग संकलनमार्फत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेको थियो। आर्थिक स्रोत जुट्न नसकेपछि निर्माण रोकियो र पछि रंगशालाको जिम्मेवारी भरतपुर महानगरपालिकाले लिएको थियो।
विभिन्न प्राविधिक मूल्यांकनमा फाउन्डेसनले करिब ६० करोड रुपैयाँ बराबरको संरचना निर्माण गरेको देखिएको छ। फाउन्डेसनले भने निर्माणका क्रममा आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा अन्य पक्षलाई तिर्न बाँकी रकम १८ करोड ४३ लाख रुपैयाँ रहेको बताउँदै आएको छ।
समस्या समाधानका लागि संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ मा इन्जिनियरिङ मूल्यांकनका आधारमा ‘सिर्जित सम्पत्ति खरिद’ शीर्षकमा १५ करोड रुपैयाँ भरतपुर महानगरपालिकामार्फत कार्यान्वयन हुने गरी व्यवस्था गरेको थियो। भरतपुर महानगरपालिकाको आधिकारिक बजेट पुस्तिकामा समेत उक्त शीर्षकमा १५ करोड रुपैयाँ उल्लेख छ।
तर उक्त रकम फाउन्डेसन वा सम्बन्धित आपूर्तिकर्तासम्म पुग्न सकेन। महानगरपालिकाले यसअघि निजी फाउन्डेसनले सिर्जना गरेको ऋण स्थानीय सरकारले सीधै भुक्तानी गर्न स्पष्ट कानुनी आधार नभएको तर्क गर्दै संघीय सरकारबाट थप कानुनी तथा प्रक्रियागत सहजीकरण आवश्यक रहेको बताउँदै आएको छ।
यसैले विवाद केवल रकम उपलब्धताको नभई त्यो रकम कुन कानुनी प्रक्रियाबाट कसलाई र कसरी भुक्तानी गर्ने भन्ने विषयमा वर्षौंदेखि अल्झिएको देखिन्छ।
कट्टेलले आफूले पछिल्लो एक दशक कलाकारितासँगै समाज र राष्ट्रका लागि समय खर्च गरेको उल्लेख गर्दै राज्यबाट अपेक्षित साथ नपाएको पीडा पोखेका छन्।
“आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,” उनले भनेका छन्।
२०७२ सालको विनाशकारी भूकम्पपछि धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत एकीकृत बस्ती निर्माणलगायत सामाजिक काममा सक्रिय भएका कट्टेल पछि अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने अभियानमा जुटेका थिए। तर रंगशाला निर्माणकै आर्थिक दायित्व वर्षौंदेखि समाधान नहुँदा उनी सार्वजनिक रूपमा पटक–पटक सरकारसँग गुहार माग्दै आएका छन्।
देश छाड्नुपर्दा मन भारी भएको उल्लेख गरे पनि कट्टेलले राज्य र समयप्रतिको आशा पूर्ण रूपमा नत्यागेको बताएका छन्। कुनै दिन राज्यले आफ्नो योगदान र संघर्ष सम्झिने, वास्तविकता उजागर हुने र पीडाको सुनुवाइ हुने विश्वास उनले व्यक्त गरेका छन्।
उनले “समयले सत्य बोल्नेछ, हाम्रो पीडा सुनिनेछ र संघर्षको मूल्य बुझिनेछ” भन्ने आशा व्यक्त गर्दै न्याय खोज्ने नागरिकको आवाज आफ्नै देशमा दबिनुपर्ने अवस्था अन्त्य होस् भन्ने चाहना राखेका छन्।
कट्टेलले चाँडै पुनः नेपाली दर्शक र शुभेच्छुकसँग भेट हुने आशासहित सबैप्रति माया र सम्मान व्यक्त गरेका छन्।
यससँगै वर्षौंदेखि अल्झिएको १८ करोड ४३ लाख रुपैयाँको रंगशाला दायित्व कसले र कुन कानुनी प्रक्रियाबाट समाधान गर्ने भन्ने प्रश्न फेरि संघीय सरकार र भरतपुर महानगरपालिकासामु उभिएको छ। 
प्रतिक्रिया