गाजा सिटीमा इजरायली हवाई आक्रमणमा मारिएका सात जनामध्ये पाँच जना अल–जजिरा पत्रकारको अन्त्येष्टि सम्पन्न भएको छ। मृतकमध्ये २८ वर्षीय संवाददाता अनस अल–शरीफलाई इजरायली सेनाले हमासको “आतङ्ककारी सेलको प्रमुख” भएको आरोप लगाउँदै निशाना बनाएको दाबी गरेको छ, तर त्यसको ठोस प्रमाण भने पेश गरेको छैन। शरीफ हालको युद्ध सुरु हुनु अघि गाजामा हमासको सञ्चार टिमसँग कार्यरत थिए, तर मृत्युअघि सामाजिक सञ्जालमा प्रकाशित कतिपय अभिव्यक्तिहरूमा उनले हमासकै आलोचना पनि गरेका थिए।
यस आक्रमणमा अर्को अल–जजिरा संवाददाता, तीन क्यामेरा अपरेटर र एक स्वतन्त्र पत्रकारको पनि ज्यान गएको छ। अल–जजिराले यसलाई “लक्षित हत्या” र “पत्रकारिता स्वतन्त्रतामाथि पूर्वनियोजित, स्पष्ट आक्रमण” भएको भन्दै कडा रूपमा विरोध जनाएको छ।
संयुक्त राष्ट्रसंघले यो घटनालाई “अन्तर्राष्ट्रिय मानवतावादी कानुनको गम्भीर उल्लङ्घन” भनेको छ भने ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’ का अनुसार सन् २०२३ अक्टोबरदेखि गाजामा सुरु भएको इजरायली सैन्य कारबाहीयता अहिलेसम्म १८६ पत्रकारको ज्यान गइसकेको छ।
इजरायली सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई, जसमा बीबीसी पनि समावेश छ, स्वतन्त्र रूपमा गाजामा प्रवेश गर्न नदिएकाले अधिकांश अन्तर्राष्ट्रिय समाचार संस्थाहरू गाजास्थित स्थानीय पत्रकारकै सूचनामा भर पर्न बाध्य छन्।
यसैबीच, अष्ट्रेलियाले आगामी महिनामा संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरेको छ, जसले यसअघि बेलायत, फ्रान्स र क्यानडाले गरेको कदमसँग मेल खानेछ।
गाजामा इजरायली हवाई आक्रमणमा मारिएका अल–जजिराका पत्रकारहरूको मृत्युले अन्तर्राष्ट्रिय प्रतिक्रिया चर्किएको छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुर्रहमान अल–थानीले यसलाई “पत्रकारमाथिको जानाजानी गरिएको हमला” भन्दै कडा शब्दमा निन्दा गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी वक्तव्यमा उनले “यी अपराध कल्पनातीत” भएको र यसले “यो दुःखान्त रोक्न अन्तर्राष्ट्रिय समुदाय र यसको कानुनी संरचनाको असफलता” देखाएको टिप्पणी गरेका छन्। अल–जजिराको स्थापना कतारमा भएको हो र यसको मुख्यालय दोहामा छ, जसलाई आंशिक रूपमा कतारी सरकारले वित्तपोषण गर्छ।
यसबीच, अल–जजिराका प्रबन्ध सम्पादक मोहम्मद मोआवादले बीबीसीसँग कुरा गर्दै २८ वर्षीय संवाददाता अनस अल–शरीफलाई हमासको “आतङ्ककारी सेलको प्रमुख” भएको इजरायली आरोपबारे प्रत्यक्ष प्रमाण नभएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार, “हामीसँग उनी गाजामा सरकारी संरचनासँग पनि सम्बन्धित थिए भन्ने कुनै जानकारी छैन। उनी पत्रकार थिए, र आफ्नो अन्तिम दिनसम्म जमिनमा भएका जनताको सन्देश विश्वसम्म पुर्याउने काम गर्दै थिए।” मोआवादले इजरायली सेनाबाट कुनै पनि ठोस प्रमाण नपाएको दाबी गर्दै आरोपलाई “आधारविहीन” भनेका छन्।
आक्रमणमा पाँच अल–जजिरा पत्रकारसहित सात जनाको ज्यान गएको हो। गाजामा ठूलो भीडले पत्रकारहरूको शव सेतो कपडामा बेरिएको अवस्थामा अन्तिम यात्रामा साथ दिएको थियो। शवमाथि प्रेस लेखिएका ज्याकेटहरू राखिएका थिए, अन्य पत्रकारहरू टाढाबाट अवलोकन गर्दै थिए।
यस घटनाबारे बेलायतले पनि गम्भीर चिन्ता व्यक्त गरेको छ। प्रधानमन्त्री कियर स्टार्मरका प्रवक्ताले पत्रकारहरू सुरक्षित रूपमा काम गर्न पाउनुपर्ने र अनस अल–शरीफसहितका पत्रकारहरूको हत्या प्रकरणमा स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन्।
यता, अष्ट्रेलियाले आगामी महिना संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरेपछि इजरायली राष्ट्रपति इसाक हर्जगले यसलाई “आतङ्कवादलाई इनाम” र “स्वतन्त्रता तथा लोकतन्त्रका शत्रुहरूको जित” भन्दै आलोचना गरेका छन्। हर्जगका अनुसार यो “गम्भीर र खतरनाक भूल” हो जसले कुनै पनि प्यालेस्टिनीको हित गर्दैन र बन्धकहरूलाई फर्काउँदैन। तर अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानीजले भने दुई–राष्ट्र समाधान नै मध्यपूर्वमा हिंसा रोक्ने र गाजाको संघर्ष, पीडा र भोकमरी अन्त्य गर्ने मानवताको सबैभन्दा ठूलो आशा भएको बताए।
प्रतिक्रिया