एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले पराजित भएको छ। आइतबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा उत्तर कोरियाले पहिलो हाफमै ५ गोल र दोस्रो हाफमा थप ६ गोल गर्दै सहज जित हात पा¥यो।
यस जितसँगै तीनै खेल जितेको उत्तर कोरियाले ९ अंक जोड्दै समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने यू–२० महिला एसियन कपको अन्तिम चरणमा प्रवेश गर्यो। साविक विजेता उत्तर कोरियाले यस छनोट चरणमा ३६ गोल गर्दै एक गोल पनि नखाएको प्रभावशाली नतिजा निकालेको छ।
नेपालका लागि यो छनोटको पहिलो हार भए पनि यससँगै अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। नेपालले तीन खेलबाट ४ अंक मात्र जोड्यो। पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जित हात पारेको थियो।
छनोट प्रारूपअनुसार ८ समूहको विजेता टिम सिधै अन्तिम चरणमा पुग्छन् भने उपविजेतामध्ये उत्कृष्ट ३ टोली पनि छनोट हुने प्रावधान छ। तर ५ समूहका दोस्रो स्थानका टिमसँग नै ६ अंक भएकाले नेपालको उत्कृष्ट दोस्रो बन्ने सम्भावना पनि सकिएको हो।
नेपालले भुटान र साउदीलाई हराउँदै वा बराबरी गर्दै उत्तर कोरियासँग पनि अंक बटुल्ने लक्ष्य राखेको थियो, तर बलियो प्रतिद्वन्द्वीविरुद्धको एकतर्फी हारका कारण त्यो सपना अधुरै रह्यो।
प्रतिक्रिया