नेपाल र भारतबीचको सम्बन्ध सभ्यतागत जगमा खडा छ। इतिहासमा यो सम्पर्क सीताको विवाहदेखि नै प्रकट भएको पाइन्छ। दुवै देशमा बोलिने भाषा, पर्व, खानपान, प्रचलन तथा आस्थाका थुप्रै दैवी प्रतिमा साझा छन्। यद्यपि यी दुवै देश उत्पत्तिका समयदेखि नै दुई पृथक् वा भिन्न राष्ट्रका रूपमा अस्तित्वमा छन्। अतः न त राम्रो सम्बन्धले उनीहरूको भिन्न पहिचान घुलित हुन्छ, न त समस्याले भूगोल नै बदलिन्छ। छिमेकीका रूपमा दुवै जोडिएका छन् र दुवैलाई सद्भावको जगमा उभिनुको विकल्प छैन। यही जगबाट नेपाल–भारत सम्बन्धलाई हेर्नुपर्छ।
१. साझा सभ्यता र सामीप्यको मनोविज्ञान
सबै नेपाली भारत पक्षधर र सबै भारतीय नेपाल पक्षधर छन्; किनकि माटो र पानी अनि धार्मिक, सामाजिक र सांस्कृतिक आस्था जोडिएका यी देशहरूमा नेपालले हिमाली सभ्यता र भारतले भारतीय उपमहाद्वीपको सभ्यताको प्रतिनिधित्व गर्छन्। हिमालबिना उपमहाद्वीप र उपमहाद्वीपबिना हिमालको अस्तित्व अपूर्ण हुन्छ। दुवै भूमि लाखौँ वर्षपहिलेको बृहत् टेक्टोनिक सङ्क्रमणबाट बनेका हुन्। अतः यी दुई देशले पृथकता होइन, सामीप्यको मनोविज्ञानबाट आफ्नो सम्बन्धको व्यवस्थापन गर्नुपर्छ। यसरी कोही भारतविरोधी र कोही नेपालविरोधी हुन सक्दैन। यो हाम्रो समानताको स्वरूप हो।
२. कूटनीतिमा यथार्थवादी दृष्टिकोण
आधुनिक युगमा राष्ट्रहरू धार्मिक र सांस्कृतिक भावनाबाट मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तबाट सञ्चालित हुन्छन्। हाम्रो सम्बन्धको जग सभ्यताको समानता हो, तर हाम्रो भूराजनीतिक यथार्थता पनि छ। हामी समुद्र पुग्न भारत पार गरेर जानुपर्छ—यो यथार्थ हो। भारतको भौगोलिक आकार, अर्थतन्त्र, जनसङ्ख्या तथा अन्तर्राष्ट्रिय हैसियत र भूमिका ठूलो छ—यो पनि यथार्थ हो। छिमेकीका सिमाना जोडिन्छन् र जोडिएकाहरूका समस्या पनि पृथक् प्रकृतिका तथा अनेक हुन्छन्—यो पनि यथार्थ नै हो।
अतः हाम्रो सभ्यतामा उठेको सम्बन्धको कूटनीतिक पक्षको सञ्चालन यथार्थवादी सिद्धान्तबाटै हुनुपर्छ। यसको तात्पर्य “हाम्रा बीचमा समस्या छैनन्” भनेर भावनावादी बन्ने होइन, बरु “हाम्रा बीचमा समस्या छन्” भन्ने यथार्थवादी सिद्धान्तबाट हाम्रो सम्बन्ध निर्देशित हुनुपर्छ भन्ने हो। यसो गर्नुको अर्थ हाम्रो सम्बन्ध राम्रो छैन भन्ने होइन। यथार्थ के हो भने भारत र नेपालको सम्बन्ध सुमधुर छ, तर हामीले समायोजन गर्नुपर्ने समस्याहरू पनि छन्।
३. संवादको बाध्यता र भावनात्मकताको सीमा
भारत र नेपालको पारस्परिक सम्बन्ध सुदृढ र फलदायी बनाउन निरन्तर कुराकानी, सम्पर्क तथा उच्च नेतृत्व र राजनेताहरूबीच विमर्श हुनुपर्छ; यो बाध्यता हो। दुई देशबीचका समस्या वा समाधानका उपाय खोज्दा यदि हामीले—
नेपाल–भारतबीचको खुला सिमाना,
व्यापारमा आयात–निर्यातको विशाल असन्तुलन,
दक्षिण एसियाली अर्थतन्त्र र यातायात सम्पर्कको कमजोर अवस्था, र
भूराजनीतिक जटिलताको गहिरो सुझबुझबिना समाधान खोज्यौँ भने त्यो यथार्थभन्दा भावनाबाट उत्प्रेरित हुन्छ।
यस्तो अवस्थामा समस्या जीवितै रहन्छ, केवल रूप मात्र फेरिन्छ। आजसम्म विगतमा नेपालका तर्फबाट भएको मूल कमजोरी यसैमा छ। केही सहयोग प्राप्त गर्नु, भावनात्मक सम्बन्ध खँदिलो पार्नु र झगडा बिसाउनुले मात्र हाम्रो सम्बन्धलाई यथार्थपरक सम्बन्ध बनाउन सक्दैन।
४. सीमा व्यवस्थापनका चुनौती
हाम्रो सिमानाको व्यवस्थापन हुन नसकेको कुरा यथार्थ हो। यही कारणले कालोबजारीको समस्या छ। चोरी निकासी र पैठारीका कारण सानो अर्थतन्त्र भएको नेपालले गम्भीर समस्या भोगिरहेको छ। हाम्रा उद्योगहरू फस्टाउन सकेका छैनन् र अपराध मौलाएको छ। भारत स्वयंले पनि सुरक्षा समस्या भोगेको छ तथा सिमानामा नागरिकहरूबीच झडप हुने गरेका छन्। नेपाल–भारत सम्बन्धमा यो समस्या आजसम्म समाधान हुन सकेको छैन।
५. व्यापार, ऊर्जा र क्षेत्रीय सहकार्य
हाम्रो बजार भारतमा स्थिर हुन सकेको छैन। नेपालको सानो अर्थतन्त्रले पाउनुपर्ने सुविधाका दीर्घकालीन ढाँचा निर्माण हुन सकेका छैनन्। हामीसँग जलस्रोतको सम्भावना छ, तर यो खुम्चिएको छ। चिनियाँ लगानीबाट उत्पादित ऊर्जाले भारतमा बजार पाएको छैन र बङ्गलादेशसँगको सीधा सम्पर्कमा अवरोध छ। यस्ता समस्याको समाधान गर्ने क्षेत्रीय सङ्गठन मूर्छित छ। यी सबै कारणले नेपालको अर्थतन्त्र भारतनिर्भर बनेको छ। यो अवस्था दुई देशबीचको सम्बन्धको सुदृढीकरणमा बाधक बन्छ।
निष्कर्ष : रणनीतिक स्वायत्तताको बाटो
यी सबै समस्यामा दुई देशले निर्धक्क कुरा गर्नुपर्छ र नेपालले आफ्नो वार्ता तथा विमर्श क्षमताको व्यापक वृद्धि गर्नुपर्छ। नेपालको यो क्षमता कमजोर छ। सरकार प्रमुखहरूबीच निरन्तर हटलाइन सम्पर्क हुनुपर्छ। समस्या भारतीय राजनीतिक नेतृत्वमा भन्दा बढी कर्मचारीतन्त्रमा छ। भारतीय कर्मचारीतन्त्र खुकुलो छैन भने नेपाली कर्मचारीतन्त्रमा कूटनीतिक कुशलताको न्यूनता र लघुताभास देखिन्छ। अतः भारत र नेपालका सरकार प्रमुखहरूको भ्रमणको सफलता यी कडीबाट हेरिए मात्र यथार्थवादी हुन जान्छ।
नेपालको कूटनीतिमा भूराजनीतिलाई सांस्कृतिक सम्बन्धले मात्र सम्बोधन गर्दैन। हाम्रो भूराजनीतिले कुनै पनि मित्रराष्ट्रसँगको सैन्य वा रणनीतिक गठबन्धन स्वीकार्दैन। त्यसैले हामीले सांस्कृतिक सम्बन्धको जगमा उभिएर कूटनीतिक सम्बन्धमा ‘रणनीतिक स्वायत्तता’ को सिद्धान्त अवलम्बन गर्न सक्नुपर्छ।
प्रतिक्रिया