काठमाडौं । नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा ‘धुर्मुस’ नामले लोकप्रियता हासिल गरेका कलाकार सीताराम कट्टेल हास्य कलाकार मात्र होइनन्, उनी बहुमुखी प्रतिभाका धनी सर्जक, गीतकार, गायक तथा कुशल अभिनेता पनि हुन्। कला क्षेत्रका विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका कट्टेलले ‘ए ससुरा बा’ बोलको नयाँ गीतमार्फत आफ्नो सांगीतिक प्रतिभालाई समेत उजागर गरेका छन्।
धुर्मुस सुन्तली मिडियाको प्रस्तुतिमा सार्वजनिक भएको ‘ए ससुरा बा’ गीतमा स्वयं सीताराम कट्टेलको शब्द र स्वर रहेको छ भने गायिका जुनु प्रसाईंले उनलाई गायनमा साथ दिएकी छन्। गीतमा बाबुल गिरीको संगीत, संगीत संयोजन तथा मिक्सिङ रहेको छ। स्वराङ्कन स्टुडियोमा शंकरसिंह ठकुरीले गीतको ध्वनि रेकर्डिङ गरेका हुन्।
नेपाली मौलिकता, पारिवारिक परिवेश, हास्यरस र मनोरञ्जनलाई समेट्ने शैलीमा प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोमा सीताराम कट्टेलसहित उषा उप्रेती, राजाराम पौडेल, सविन बाँस्तोला, अंशु महर्जन, सीता तिमल्सिना र सन्तोष थापाको अभिनय रहेको छ।
जेरी भण्डारीको कथा तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अमर रावल ‘कोसिस’ सहायक निर्देशक रहेका छन्। ज्ञानकुमार कट्टेल र उनको टोलीले छायांकन गरेको भिडियोको सम्पादन तथा रंग संयोजन सुजन कोइरालाले गरेका हुन्। अनिमेष गुरुङ र सोनिका गजमेरको शृङ्गार, अनिश लामिछानेको निर्माण व्यवस्थापन तथा सुवास शाहको पोस्टर डिजाइन रहेको छ। निर्माण टोलीले पूर्णायु आयुर्वेद अस्पतालका प्रह्लाद चौहानप्रति विशेष आभार व्यक्त गरेको छ।
लामो समयदेखि नेपाली दर्शकलाई आफ्नो अभिनय र हास्यव्यङ्ग्यमार्फत मनोरञ्जन प्रदान गर्दै आएका कट्टेलले आफूलाई एउटै विधामा सीमित राखेका छैनन्। अभिनय, हास्यव्यङ्ग्य, सिर्जना, गीत लेखन र गायनमा समेत सक्रिय रहनु उनको बहुआयामिक प्रतिभाको परिचायक हो।
कलाकारको वास्तविक सामर्थ्य उसको सिर्जनशीलता र विविधतामा देखिन्छ। यस अर्थमा सीताराम कट्टेल नेपाली कला क्षेत्रका एक प्रतिभाशाली, मेहनती र सिर्जनशील कलाकार हुन्। फरक फरक विधामा आफूलाई प्रस्तुत गर्ने उनको प्रयास नेपाली कला तथा संगीत क्षेत्रका लागि सकारात्मक र उत्साहजनक छ।
‘ए ससुरा बा’ उनको सांगीतिक यात्राको अर्को सुन्दर प्रस्तुति हो। हास्य कलाकारका रूपमा दर्शकको मनमा स्थापित धुर्मुसले गीतकार र गायकका रूपमा पनि आफ्नो छुट्टै पहिचान विस्तार गर्ने सम्भावना देखाएका छन्। उनको यो सिर्जनात्मक यात्रालाई सफलताको शुभकामना !
प्रतिक्रिया