काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पुनर्बहालीसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि न्यायिक निष्पक्षता र स्वतन्त्रतामाथि विभिन्न प्रश्न उठ्न थालेका छन्। प्रहरी संगठनको सर्वोच्च पदमा पुगेका व्यक्तिले समेत न्यायका लागि संघर्ष गर्नुपर्ने अवस्थामा सर्वसाधारण नागरिकको हालत के होला भन्दै आलोचनात्मक टीकाटिप्पणी भइरहेका छन्।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। यो आदेशसँगै डा. मनोजकुमार केसीले प्रहरी महानिरीक्षकका रूपमा निरन्तरता पाउने भएका छन्।
गत कात्तिक १८ गते मन्त्रिपरिषद्ले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै डा. केसीलाई महानिरीक्षक नियुक्त गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध कार्की न्याय माग्दै सर्वोच्च अदालत पुगेका थिए।
अदालतको पछिल्लो आदेशपछि न्यायिक क्षेत्रमा सरकारको दबाब, प्रभाव तथा एक प्रकारको डरत्रासको वातावरण रहेको त होइन भन्ने प्रश्नसमेत उठेको छ। कार्यपालिकाका निर्णयमाथि स्वतन्त्र न्यायिक परीक्षण हुनुपर्नेमा अदालत स्वयं सरकारको प्रभावमा पर्ने हो भने नागरिकको न्यायप्रतिको विश्वास कमजोर हुने चिन्ता व्यक्त भइरहेको छ। यद्यपि यस मुद्दामा सरकारी दबाब वा प्रभाव रहेको पुष्टि गर्ने ठोस प्रमाण सार्वजनिक भएको छैन।
नवनियुक्त महानिरीक्षकले कार्यभार सम्हालिसकेको अवस्था, मुलुकको शान्ति सुरक्षाको संवेदनशीलता र प्रहरी संगठनको नेतृत्व प्रणालीलाई आधार बनाउँदै अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।
सर्वोच्चले विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएको वा जवाफ दिने अवधि समाप्त भएको सात दिनभित्र पेसी स्थगित गर्न नपाउने गरी अन्तिम सुनुवाइका लागि मुद्दा पेस गर्नसमेत निर्देशन दिएको छ।
अन्तरिम आदेश जारी नहुनु नै कार्कीले न्याय नपाउनु वा सरकारको निर्णय वैधानिक ठहरिनु भने होइन। अब सर्वोच्चको अन्तिम फैसलाले कार्की र केसीको पदीय विवाद मात्र टुंग्याउने छैन, न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र सरकारको स्वेच्छाचारी निर्णयमाथि न्यायिक नियन्त्रणको प्रश्नलाई समेत सम्बोधन गर्नुपर्नेछ।

प्रतिक्रिया