अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १५ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा भेटवार्ता गर्ने घोषणा गरेका छन्। उक्त भेटवार्ता युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको हिस्सा हुने जनाइएको छ।
अगस्ट ८ मा ट्रुथ सोसलमार्फत ट्रम्पले लेखेका छन्, “ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति म र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको धेरै प्रतिक्षित बैठक २०२५ अगस्ट १५, शुक्रबार, महान् अलास्का राज्यमा हुनेछ। थप विवरण पछि सार्वजनिक गरिनेछ। धन्यवाद।”
यसअघि सोही दिन ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै, आफू र पुटिनबीचको भेटवार्ता छिट्टै हुने र स्थान “थोरै पछि” घोषणा गरिने बताएका थिए। उनका अनुसार, नाटोको बढ्दो सैन्य खर्च र रुसबाट तेल किन्ने राष्ट्रहरूलाई अमेरिकाले लगाएका नयाँ प्रतिबन्धहरूले मोस्कोलाई वार्तामा सहमत गराउन सहयोग गरेको हुन सक्छ।
“यो कुरामा हामी लामो समयदेखि काम गर्दै आएका छौं,” उनले ह्वाइट हाउसमा भने, “विराम–सम्झौताको पूर्वतयारीका वार्ताहरू जटिल छन्।”
क्रेमलिनले बिहीबार पुटिनले “आगामी केही दिनमै” ट्रम्पसँग भेट्ने जनाएको थियो। पुटिनले सुरुमा वार्ता संयुक्त अरब इमिराट्समा हुन सक्ने संकेत गरेका थिए। पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीबीच पनि आर्मेनिया–अजरबैजानबीच गत शुक्रबार भएको सम्झौताजस्तै शान्ति सम्झौता हुन सक्नेबारे सोध्दा, ट्रम्पले आशावादी प्रतिक्रिया दिएका थिए। “मलाई लाग्छ यसमा हामीसँग राम्रो सम्भावना छ,” उनले भने।
यो शिखर बैठक ट्रम्पको जनवरीमा ह्वाइट हाउसमा पुनरागमनपछि पुटिनसँगको पहिलो प्रत्यक्ष भेट हुनेछ।
यसअघि ट्रम्पका विशेष दूत स्टिभ विटकफ मोस्को पुगेका थिए र अगस्ट ६ मा पुटिनसँग करिब तीन घण्टा लामो वार्ता गरेका थिए। विटकफको यो भ्रमण ट्रम्पले रुसलाई शान्ति सम्झौतामा प्रगति गर्न तोकेको समयसीमा भन्दा केही दिनअघि भएको हो।
दुवै नेताबीच प्रत्यक्ष भेटवार्ता तय हुनु अघि ट्रम्पले रुसलाई वार्तामा ल्याउन थप दबाबमूलक कदम चाल्दै भारतबाट आयात हुने सामानमा २५ प्रतिशत थप शुल्क लगाएर कुल भन्सार दर ५० प्रतिशत पुर्याएका थिए। यो दर हालसम्म अमेरिकाले आफ्नो कुनै व्यापारिक साझेदारमाथि लगाएको सबैभन्दा ठूलो भन्सार दर हो।
ट्रम्पले यसअघि चेतावनी दिएका थिए कि रुसले अगस्ट ९ सम्म युक्रेनसँगको वार्तामा प्रगति नगरे “गम्भीर शुल्क” लगाइनेछ।
भारत पनि ट्रम्पको निशानामा परेको छ, विशेष गरी ब्रिक्स गठबन्धन (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) अन्तर्गतको भूमिकाका कारण। अगस्ट ४ मा ट्रुथ सोसलमा ट्रम्पले भारतले रुसबाट किनेको तेल पुनः खुला बजारमा “ठूलो नाफामा” बेचिरहेको आरोप लगाएका थिए। “उनीहरूलाई युक्रेनमा कति मानिसहरू रुसको युद्ध मेशिनले मारिरहेको छ भन्ने कुरा कुनै मतलब छैन,” उनले भने।
भारतको परराष्ट्र मन्त्रालयले अगस्ट ४ मा दिएको विज्ञप्तिमा भने, रुससँगको तेल कारोबार आफ्नो जनतालाई सस्तो ऊर्जाको आपूर्ति गर्नका लागि भएको दाबी गरेको छ। मन्त्रालयका अनुसार, युक्रेन युद्धपछि पारम्परिक आपूर्ति युरोपतर्फ मोडिएको कारण वैकल्पिक स्रोतको खोजी गरिएको हो।
प्रतिक्रिया