हृदयेन्द्र शाहको ‘जुम्ला भ्लग’ हेरेपछि यो सानो प्रतिक्रिया लेख्न मन लाग्यो ।
नवयुवराजको पुर्खाले आर्जेको मुलुक हो-नेपाल । आफ्नै पुर्खाले आर्जेको मुलुकमा हिँडडुल गर्न पाउनु, मनमा लागेको केही कुरा व्यक्त गर्न पाउनु हाम्रो संवैधानिक स्वतन्त्रता हो । त्यसाे भए ः
उनले कसैको मकै वा कोदोबारी फाँडेका छन् ?
उनले तथाकथित गणतन्त्रको बारेमा नकारात्मक टिप्पणी गरेका छन् ?
उनले कसैको छोरी चेलीको जवर्जस्ती चिरहरण गरेका छन् ?
भविष्यको राजा हुने कतै कुनै संकेत गरेका छन् ?
उनको बोली र शारीरिक हाउभाउमा कतै अहंकार छ ?
उनले यार्सागुम्बाको खेतीपाती गर्न लागेका छन् ?
यी सबै प्रश्नको उत्तर छ-छैन ।
त्यसो भए गणतन्त्रका झोले र सुण्डमुसुण्डहरुले उनीमाथि किन यतिविधि निकृष्ट र तुच्छ गाली गलौज गरिरहेका छन् त ?
दुइ वर्ष अघि राजा ज्ञानेन्द्र शाहले एउटा रात्रीभोजमा नाच्दा यिनीहरुको गणतन्त्रमा भूकम्प गएको थियो । अहिले हृदयेन्द्रले देशको विकट भूमिमा विचरण गरेको यो भ्लगले यिनीहरुको गणतन्त्रमा सात रेक्टर स्केलको भूकम्प गएको छ, यिनीहरुको निदहराम भएको छ ।
गणतन्त्रका भालेहरुले कर्णालीलाई यति विकट बनाएका छन् कि त्यहाँ सिटामोल र जीवनजल पुग्न एक हप्ता लाग्छ । अझै यिनीहरु ”समृद्ध नेपाल ः सुखी नेपाली” को नारा लगाइरहेछन् । के यो राष्ट्रिय लज्जा होइन ? गत हप्ता मात्र तुइन चुँडिएर एक युवाको हृदयविदारक मृत्यु भएको थियो । त्यत्रो ठूलो घटनालाई यिनीहरुको आँखाले कहिल्यै देख्दैन । अनि हृदयेन्द्रको पाइला पाइला पछ्याउँदै देशै लिन आएको फिरंगीलाई जसरी गाली गरिरहेछन् । एक पाइला खुट्टा जुम्लामा राख्दा त यिनीहरुको मुटुमा ढ्यांग्रो ठोकिएको छ भने अरु विकट पहाडी भूभागमा हिँड्ने हो भने यिनीहरु बौलाउनेछन् ।
दरबारमा जन्मिएकोले देशको बारेमा धेरै थाहा नहुन सक्छ । देशको ज्वरो र जनताको नाडी छाम्न हिँड्नैपर्छ । देशको कुना कन्दरा घुम्ने र त्यहाँको जनजीवन, संस्कृति, पर्यटन र रहनसहनका बारेमा जानकारी लिने पाउनु तिम्रो नैसर्गिक अधिकार हो ।
अब उनी बालिग भइसकेका छन् । यो देशको चार किल्लाभित्र जहाँ हिँडे पनि हिँड । अझ हिँड । हिँडेरै हो जितिने संसार । चरैवेति चरैवेति । नहिँडिकन केही जितिँदैन । जित्नका लागि हिँड्नैपर्छ । तिम्रा पुर्खाले पनि हिँडेरै यो भूमि सुरक्षित गरेका हुन् । तिम्रा पुर्खाहरुले आर्जेकाे मुलुक हो । यो राष्ट्रले तिमीजस्तो जनताको मनमा बस्ने शालीन र भद्र ”नायक” खोजिरहेको छ । त्याे नायक तिमी हुनसक्छाै । तिमी हिँड्दा गणतन्त्रको घर भत्किन्छ भने भत्कन देउ । यिनीहरुले नै बनाएका हुन् यस्तो कमजोर धरातलको गणतन्त्र । त्यसैले हिँड । निस्फिक्री हिँड । यो तिम्रो अधिकार हो । तिमी हात्ती हौ । हात्ती लम्किँदा कुकुरहरु भुक्दै गर्छन् । रेमिट्यान्स पाइरहेका छन् र त भुक्छन् । भुक्नु उनीहरुको स्वभाव हो, अधिकार हो । उनीहरु चित्कार गर्छन्, नगरुन् पनि किन ? तिम्रो पदचाप सुनेर मात्रै छँदाखाँदाको धन्दा र लूटतन्त्र समाप्त हुन्छ कि भन्ने डरले अत्तालिएका छन् । चरैवेति ।

प्रतिक्रिया