चीनको सरकारी टेलिभिजनमा प्रसारित एउटा डकुमेन्ट्रीमा, हातकडी लगाएर एक कोठाभित्र बसेको व्यक्ति अनुसन्धानकर्तासँग कुराकानी गरिरहेको देखिन्छ। अनुसन्धानकर्ताले सोध्छन्, “तिमीले कसैलाई मार्न आदेश दिंदै के महसुस गर्यौ?” उक्त व्यक्तिको उत्तर हुन्छ, “मलाई खासै केही महसुस भएन।” यो दृश्य कुनै फिल्मबाट होइन, चीनको प्रहरी र अदालतले चलाइरहेको एउटा वास्तविक अपराध अनुसन्धानको भाग हो।
यो व्यक्ति हो चेन दावेई, कुख्यात वेइ परिवारको सदस्य। यो परिवार म्यानमार–चीन सीमाको लाउकाई क्षेत्रमा वर्षौंसम्म अपराध, मानव तस्करी, अनलाइन ठगी, जुवाखाना र हिंसामा संलग्न रहेको प्रमुख माफिया परिवार मानिन्छ।
लाउकाई क्षेत्र २००० को दशकदेखि केही शक्तिशाली परिवारहरूको नियन्त्रणमा थियो — वेइ, लिउ, मिङ र बाइ परिवार। यी परिवारहरूले राजनीतिज्ञ, सैनिकहरू, प्रहरी र स्थानीय निकाय सबैसँग गाढा सम्बन्ध बनाउँदै बेहिसाब शक्ति र अर्बौंपतिको आपराधिक साम्राज्य खडा गरेका थिए।
सुरुमा तिनीहरूले जुवा र सेक्स व्यापारबाट कमाइ गरे, तर पछिल्ला वर्षहरूमा उनीहरूले ठूलो रूपमा अनलाइन ठगी केन्द्र (scam compounds) सञ्चालन गर्न थाले।
यी केन्द्रहरूमा चीनबाट “उच्च तलबको जागिर” भन्दै ल्याइएका मानिसहरूको पासपोर्ट खोसिन्थ्यो, बन्धक बनाइन्थ्यो, अनि तिनीहरूलाई इन्टरनेटमार्फत विदेशी नागरिकहरूलाई ठग्न बाध्य पारिन्थ्यो।
नमान्नेहरूलाई
बिजुलीको झट्का,
कुटपिट,
आहार रोक्का,
औँला काट्नेसम्मका
निर्दयी यातना दिइन्थ्यो।
यस आपराधिक उद्योगबाट अरबौँ डलर उठाइएको चीनले आरोप लगाएको छ।
यसैबीच, यी परिवारका सदस्यहरू ठूलाठूला भोज, महँगा कार, निजी सुरक्षा र विलासी जीवन बिताइरहेका थिए।
२०२३ मा स्थिति पल्टीयो।
म्यानमार सरकारले यी माफिया परिवारका नेताहरूलाई पक्राउ गरी चीनलाई हस्तान्तरण गरिदियो।
त्यसपछि चीनले उनीहरूलाई
मानव तस्करी,
हत्या,
ठगी,
अपहरण,
यातना
लगायत गम्भीर आपराधिक अभियोगमा मुकदमा चलायो।
अहिले सम्म:
मिङ परिवारका ११ सदस्यलाई फाँसी,
बाइ परिवारका ५ जनालाई फाँसी,
कैयौं सदस्यलाई लामो कैद,
वेइ र लिउ परिवारका विरुद्ध मुद्दा जारी छ।
चीनले यी घटनाहरूलाई राष्ट्रिय टेलिभिजनमा प्रसारण गर्दैछ, किनकि यसको उद्देश्य अर्को स्पष्ट संदेश दिनु हो:
“चिनी नागरिकलाई हानि पुर्याउने अपराधी जहाँ भए पनि, कति शक्तिशाली भए पनि, अन्त्यमा सजाय पाउनेछन्।”
चीनमा अहिले धेरै युवाहरू बेरोजगारी, आर्थिक दबाब र विदेशमा सजिलो कामको लोभमा फसिरहेका छन्।
थाइल्यान्ड, क्याम्बोडिया र म्यानमारको सीमामा रहेका ठगी केन्द्रहरूमा परेका चिनी नागरिकहरूको हराइरहनु, अत्याचार सहनु र परिवारले वर्षौंसम्म खोजी गर्नु एउटा ठूलो सामाजिक ट्र्याजेडी बनिसकेको छ।
२०२3 मा प्रदर्शित No More Bets नामक चलचित्रले चीनमा यस्तो ठगी र मानव तस्करीबारे ठूलो चेतना फैलायो, जसका कारण थाइल्यान्ड जाने चिनी पर्यटकहरूको संख्या कमियो।
चीनको सार्वजनिक भावना यी घटनाले निकै उत्तेजित बनाएको छ, र सरकार अब छवि, नियन्त्रण र राष्ट्रिय सुरक्षा जोगाउन कटिबद्ध देखिन्छ।
२०२३ देखि अहिलेसम्म चीन र म्यानमारले मिलेर ५७,००० भन्दा बढी चिनी नागरिकलाई साइबर–ठगीमा संलग्न आरोपमा पक्राउ गरिसकेका छन्।
चीनका अधिकारीहरूको भनाइ:
“हामी ठूला मुखियाहरू मात्रै होइन, यस्ता नेटवर्कका सबै तहका संचालक र लाभार्थीलाई पनि पक्रन्छौं।”
यति प्रयासपछि चीनले दाबी गरेको छ कि देशभित्र रिपोर्ट हुने साइबर–ठगी घटना उल्लेख्य रूपमा घटेका छन्।
अन्त्यमा, एक अनुसन्धान अधिकृतले डकुमेन्ट्रीमा भनेको कुरा नै चीनको अहिलेको मनोविज्ञान हो:
“हामीले देखेको पीडा र क्रूरता बुझिसकेपछि मात्र थाहा हुन्छ —
सुरक्षा भनेको खुशी हो।”
प्रतिक्रिया