नेपाल सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी संगठनको सर्वोच्च पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक गरे।
कार्कीको नियुक्ति कात्तिक २७ गतेदेखि लागू हुनेछ। अहिले कायम रहेका आईजीपी चन्द्रकुवेर खापुङले प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि मंसिर २५ गते मध्यरातदेखि अनिवार्य अवकाशमा जाने भएकाले रिक्त हुने पदमा कार्कीलाई जिम्मेवारी दिइएको हो।
कार्की नेपाल प्रहरीका ३३औँ आईजीपी हुन्। उनले यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखका रूपमा काम गरेका थिए। त्यसअघि उनी मानव संसाधन विभाग, लुम्बिनी प्रदेश प्रहरी कमाण्ड, र काठमाडौं प्रहरी परिसर लगायत संवेदनशील जिम्मेवारीमा रहेर नेतृत्व सम्हालिसकेका छन्। काठमाडौंमा कार्यरत रहँदा भुटानी शरणार्थी प्रकरणका मुद्दाहरू सम्हाल्नु उनका लागि चुनौतीपूर्ण मानिन्थ्यो। उनी इमानदार, अनुशासित र संगठनभित्र कुनै ठूलो विवादमा नजोडिएको अधिकारीका रूपमा चिनिन्छन्।
फिल्ड कमाण्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव, विदेशमा प्राप्त तालिमहरू, र नेपाल प्रहरीका प्रवक्ताका रूपमा सेवाकालले उनको प्रशासनिक र सार्वजनिक कार्य क्षमता सुदृढ गरेको मानिन्छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अन्य केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। सरकारका ७ प्रमुख निर्णयहरू यसप्रकार छन्
१) नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने।
२) राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने।
३) भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगका लागि ४ निजामती र ११ प्रहरी थप उपलब्ध गराउने।
४) भारतको नयाँ दिल्लीमा नेपाल–भारत समन्वय समितिको ९औँ बैठकमा सशस्त्र प्रहरी प्रमुख राजु अर्याल नेतृत्वको टोलीलाई स्वीकृति प्रदान गर्ने।
५) भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने।
६) फागुन १ देखि ७ सम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने।
७) मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
यससँगै नेपाल प्रहरीमा नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा पूरा भएको छ।

प्रतिक्रिया