प्रधानमन्त्री ‘खीर खाने वातावरण’ को कुरा गर्छन्, तर गाउँमा बुढाबुढी र सहरमा बेरोजगारीले युवा रुँदै विदेशिँदै
काठमाडौं, साउन ३१ / प्रधानमन्त्री केपी शर्मा ओलीले हालै आयोजित एक कार्यक्रममा सबै नेपालीले साउन १५ मा खुसीसाथ ‘खीर खाने वातावरण’ निर्माण गर्नुपर्ने बताएका छन्। नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्। तर प्रधानमन्त्रीले बोलेका यी शब्दहरू अहिलेको कठोर नेपाली यथार्थसँग मेल खान्छन् त? जब देशका गाउँघर बुढाबुढी र बालबालिकाको मात्रै आश्रय स्थल बन्दैछन्, र लाखौं युवाहरू श्रम बेच्न विदेशी भूमिमा पलायन भइरहेका छन्?
हालै सार्वजनिक भएका सरकारी तथ्यांकहरू अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै करिब ८ लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीको स्वीकृति लिएका छन्, र १,१८० जना नेपाली कामदारको शव मात्र विदेशबाट नेपाल फर्काइएको छ। गाउँमा हिँड्दा अब युवाको उपस्थिति भेटिँदैन, खेतबारी बाँझो छन्, घरमा बाआमा, जेष्ठ नागरिक, रोगीहरू छन् र उनीहरूका छोराछोरी विदेशबाट पठाउने रेमिट्यान्सको भरमा दुई छाक जोहो गरिरहेका छन्।
त्यतिमात्र होइन, देशभित्रको अवस्था पनि दयनीय छ। बेरोजगारी चरम सीमामा छ, महँगी आकासिएको छ, रोग र भोकको चपेटामा लाखौं नागरिक छन्। कतिपय स्थानमा बालबालिकाको कुपोषण दर alarming स्तरमा पुगिसकेको छ। बाढी, डुबान, सुक्खा, र जलवायु आपतका बीचमा राज्यको प्राथमिकता अझै भाषण, उद्घाटन, र महोत्सवमा केन्द्रित देखिन्छ।
यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले “साउन १५ मा सबै नेपालीले खीर खानुपर्छ” भन्ने अभिव्यक्ति दिनु सामान्य रहँदैन। खीर खानु संस्कृति हो, तर संस्कृति पाल्नका लागि पेट भर्नु पहिलो शर्त हो। आजको नेपालमा खीर मात्र होइन, दुई छाक भातको पनि ग्यारेन्टी छैन। कतिपय स्थानमा त साउन १५ न सामान्य हो, न विशेष, त्यहाँका नागरिकका लागि त्यो दिन पनि अन्य दुःखद दिनभन्दा फरक हुँदैन।
प्रधानमन्त्रीले भनेका छन् कि तराई,मधेशमा सुक्खा परेकोले सरकारले सिँचाइ प्रबन्धमा ध्यान दिइरहेको छ र सुनकोशी मरिन डाइभर्सन, रानी–जमरा–कुलरिया, तमोरजस्ता आयोजनाहरू छिटो सम्पन्न गर्न निर्देशन दिइएको छ। तर देशका पूर्वका युवाहरू कोरियातिर, पश्चिमका यूवाहरू साउदी, कतारतिर लागिरहेका छन् उनीहरूलाई ती आयोजना कहिले पुग्ने?
यो बेला प्रश्न उठेको छ के यो खीर खाने नेपाल हो त? न त सरकारले खीर बनाउन दूध उपलब्ध गराएको छ, न चामल, न चिनी। अधिकांश नेपालीका लागि त्यो खीर सम्झना मात्रै हो, न हर्षको, न त उपलब्धिको, बरु विसंगतिको। प्रधानमन्त्रीको भनाइ सुन्दा लाग्छ, राजधानीमा बसेर पञ्चतारे होटलमा खीर खाँदा देशभरिका नागरिक पनि त्यसै गरी रमाइरहेका छन्।
नेपाली जनता आज पनि बाँझो खेत, थाकेका बाआमा, बिरामी शरीर र टाढा पुगेका छोराछोरीको सपना लिएर बाँचेका छन्। जबसम्म सरकार ‘खीर खाने’ सपना होइन, ‘रोजगारी खाने’, ‘स्वास्थ्य पाउने’, र ‘स्वाभिमानले बाँच्न सक्ने’ वातावरण निर्माणमा केन्द्रित हुँदैन, तबसम्म साउन १५ का खीरका कुरा केवल राजनीतिक भाषणमा सीमित हुनेछन्।
आजको यथार्थले प्रधानमन्त्रीको ‘खीर’भन्दा पहिला रित्तिएको भाँडो देखाइरहेको छ। प्रश्न यत्ति हो, के त्यो भाँडो भर्न देशको नेतृत्व तयार छ ?
प्रतिक्रिया