ढाका / बंगलादेशको वायुसेना प्रशिक्षण विमान राजधानी ढाकाको उत्तरा क्षेत्रस्थित माइलस्टोन स्कूल एण्ड कलेज को क्याम्पसमा खस्दा कम्तीमा १९ जनाको ज्यान गएको छ भने १६४ जना घाइते भएका छन्।
घटनास्थलको भिडियो फुटेजमा विद्यालय भवनमा ठूलो आगो लागिरहेको र बाक्लो धुवाँ निस्किरहेको देखिन्छ। दुईतले भवनमा विमान ठोक्किएपछि आगलागी भएको हो।
बंगलादेशको सशस्त्र बलले फेसबुकमा जारी गरेको वक्तव्य अनुसार, एफ–७ नामक उक्त जेट विमानले दिउँसो १ बजे (स्थानीय समय अनुसार) नियमित प्रशिक्षण उडानका लागि उडेपछि केही समयमै यान्त्रिक समस्या आएको थियो। विमानका पाइलट फ्लाइट लेफ्टिनेन्ट मोहम्मद तौकिर इस्लामको पनि घटनामा मृत्यु भएको वायुसेनाले पुष्टि गरेको छ।
विद्यालयका विद्यार्थीहरूको उमेर ४ देखि १८ वर्षको बीचमा रहेको जनाइएको छ। घटनामा बालबालिका र वयस्कसमेत गरी ५० भन्दा बढीलाई जलनका कारण नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरी मा भर्ना गरिएको छ।
विद्यालयका शिक्षक रेजाउल इस्लामले BBC बंगला लाई बताए अनुसार विमान सीधा विद्यालय भवनमा ठोक्किएको उनले देखेका थिए। अर्का शिक्षक मसुद तारिकले Reuters लाई बताए, “म अचानक ठूलो विस्फोटको आवाज सुनें। फर्केर हेर्दा आगो र धुवाँ मात्र देखियो। त्यहाँ धेरै अभिभावक र बालबालिका थिए।”
एक विद्यार्थीले भने, “मेरा आँखा अगाडि नै विमान भवनमा ठोक्किएको थियो।”
सशस्त्र बलका अनुसार पाइलटले यान्त्रिक समस्या देखिएपछि भीडभाड कम भएको क्षेत्रमा विमान लैजान प्रयास गरेका थिए, तर उनी सफल भएनन्। विमान ढाकास्थित वायुसेनाको आधारशिविरबाट उडेको केहीबेरमै दुर्घटनाग्रस्त भएको हो।
घाइतेहरूलाई छेउका अस्पतालमा सारिएको छ भने उद्धार टोली अझै पनि घटनास्थलमा खोजी तथा राहत कार्यमा खटिएका छन्। सरकारले घटनाको छानबिन गर्न अनुसन्धान समिति गठन गरिसकेको छ।
दृश्यमा आपतकालीन सेवाका कर्मचारीहरू जलिसकेको भग्नावशेषमा जीवितहरू खोजिरहेका देखिन्छन्, भने सयौं स्थानीय बासिन्दाहरू वरपरका अधबनिएका भवनहरू चढेर उद्धार कार्य हेर्दै थिए।
घटनापछि कार्यवाहक प्रधानमन्त्री मुहम्मद युनुसले वक्तव्य जारी गर्दै घटनाको कारणबारे गहन अनुसन्धान गरिने र पीडित परिवारलाई सबै प्रकारको सहायता उपलब्ध गराइने बताए। उनले सामाजिक सञ्जाल X मा लेखे, “यो राष्ट्रका लागि अत्यन्त दुःखद क्षण हो। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु र सबै सम्बन्धित निकायहरूलाई घटनालाई उच्च प्राथमिकतामा राखी व्यवहार गर्न निर्देशन दिन्छु।”
सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। सो दिन देशभर राष्ट्रिय झन्डा झुकाइनेछ।
प्रतिक्रिया