अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यबारे फेरि चासो बढेपछि ह्वाइट हाउसले थप विवरण सार्वजनिक गरेको छ। केही दिनअघि उनका खुट्टा सुन्निएको र हातमा निलडाम देखिएको तस्वीरहरू सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा व्यापक चर्चा भएको थियो। यसपछि प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमार्फत राष्ट्रपति ट्रम्पका चिकित्सकको औपचारिक टिप्पणी पढेर सुनाइन्।
प्रेस सचिव लेभिटका अनुसार ट्रम्पका खुट्टामा देखिएको सुन्निने समस्या “७० वर्षभन्दा माथिका मानिसहरूमा सामान्य रूपमा देखिने सौम्य अवस्था” हो। “हालैका हप्ताहरूमा राष्ट्रपति ट्रम्पले खुट्टाको तल्लो भागमा सामान्य सुन्निने महसुस गर्नुभएको थियो,” उनले भनिन्, “र सावधानी स्वरूप ह्वाइट हाउस मेडिकल युनिटले विस्तृत परीक्षण गरेको हो।”
उनका अनुसार ट्रम्पको खुट्टामा गरिएको भेनस डप्लर अल्ट्रासाउन्ड परीक्षणले ‘क्रोनिक भेनस इन्सफिसेन्सी’ (नसामा रगतको प्रवाहमा समस्या) देखाएको छ, जुन वृद्ध व्यक्तिहरूमा सामान्य मानिन्छ। तर गम्भीर समस्या जस्तो कि डीप भेन थ्रोम्बोसिस (रक्तका गहिरा नसामा थक्का जम्नु) वा धमनी सम्बन्धी रोग भने देखिएको छैन।
ट्रम्पको दाहिने हातको पछाडिको भागमा देखिएको निलडामसम्बन्धी तस्वीरहरू पनि भाइरल भएका थिए, विशेषतः उनले जुलाई १६ मा बहराइनका प्रधानमन्त्री सलमान बिन हमाद अल खलिफासँग भेट्दा।
लेभिटका अनुसार, “राष्ट्रपति ट्रम्पले नियमित रूपमा हृदयघातको रोकथामका लागि एस्पिरिन सेवन गर्नुहुन्छ, साथै धेरै पटक हात मिलाउने गर्दा सौम्य ‘सफ्ट टिस्यु इरिटेसन’ भएको हो। एस्पिरिनको सामान्य र निरापद साइड इफेक्ट हो यो।”
उनले थप भनिन्, “राष्ट्रपति अझै पनि असाध्यै राम्रो स्वास्थ्यमा हुनुहुन्छ, जुन तपाईंहरू हरेक दिन देखिरहनु भएको हुन्छ।”
ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको स्वास्थ्य रिपोर्ट अनुसार, ट्रम्पले हालसालै निम्न परीक्षणहरू गराएका छन्:
रक्त परीक्षणहरू: पूर्ण रक्त गणना (CBC), मेटाबोलिक प्यानल, कोएगुलेसन प्रोफाइल, डी-डाइमर, बी-टाइप नाट्रियुरेटिक पिप्टाइड, कार्डियक बायोमार्कर।
नतिजा: सबै रिपोर्टहरू सामान्य दायराभित्र छन्।
हृदय परीक्षण: इकोकार्डियोग्रामले हृदयको संरचना र कार्य सामान्य देखाएको छ। मुटु, मिर्गौला वा अन्य प्रणालीगत रोगको कुनै संकेत भेटिएन।
एप्रिलमा सार्वजनिक गरिएको मेडिकल रिपोर्ट अनुसार ट्रम्पको स्वास्थ्य यस्तो छ:
उचाइ: ७५ इन्च (६ फिट ३ इन्च)
तौल: २२४ पाउन्ड (१०२ केजी)
हृदयगति (रेस्टिङ): ६२ बीपीएम
रक्तचाप: १२८/७४ mmHg
अक्सिजन स्तर: ९९%
शरीरको तापक्रम: ९८.६°F (३७°C)
सार्वजनिक भएका तस्वीरले शंका उठाए पनि ह्वाइट हाउसको स्पष्टिकरण र चिकित्सकीय विवरणले देखाउँछ कि राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था चिन्ताजनक छैन। प्रेस सचिव लेभिटले भनेझैं, “राष्ट्रपति ट्रम्प अझै पनि अत्यन्त राम्रो स्वास्थ्यमा हुनुहुन्छ – उहाँले आफ्नै सक्रिय जीवनशैलीमार्फत हामीलाई दैनिक देखाइरहनु भएको छ।”
प्रतिक्रिया