अमेरिकाको मेटलाइफ स्टेडियममा आइतबार सम्पन्न फिफा क्लब विश्वकपको फाइनलमा इङ्लिस क्लब चेल्सी एफसी ले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई ३–० ले पराजित गर्दै उपाधि जितेको छ।
पछिल्लो सिजनमा फ्रेन्च लिग, फ्रेन्च कप, सुपर कप र पहिलोपटक च्याम्पियन्स लिग जितेको पीएसजी यस फाइनल जित्दै सिजनलाई ऐतिहासिक रूपमा समाप्त गर्ने लक्ष्यमा थियो। तर, प्रिमियर लिगमा चौथो स्थानमा रहेको चेल्सीले उक्त महत्वाकांक्षामा ब्रेक लगायो। खेल हेर्न ८१ हजार ११८ दर्शक रंगशालामा उपस्थित थिए, जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सामेल थिए।
चेल्सीको जितमा कोल पाल्मर नायक बने। म्यानचेस्टर सिटीबाट आएका २३ वर्षीय पाल्मरले २२औँ र ३०औँ मिनेटमा दुई गोल गरे। दुवैपटक उनले पेनाल्टी क्षेत्र भित्रबाट बायाँ खुट्टाले उत्कृष्ट फिनिश गरे।
४३औँ मिनेटमा पाल्मरले जोआओ पेड्रोलाई थ्रु पास दिए, जसलाई पेड्रोले गोलकिपर जियानलुजी डोन्नारुमा लाई चिप गर्दै गोलमा परिणत गरे। यो पेड्रोको चेल्सीसँगको दोस्रो खेलमै तेस्रो गोल थियो।
यो सिजनमा पाल्मरले हालसम्म १८ गोल गरिसकेका छन्।
खेलको ८४औँ मिनेटमा पीएसजीका जोआओ नेभ्सले मार्क कुकुरेल्लाको कपाल तानेपछि रातो कार्ड पाए र पीएसजी १० खेलाडीमा सीमित भयो।
खेलको अन्तिम क्षणहरूमा तनाव बढेको थियो। पीएसजीका प्रशिक्षक लुइस एन्रिके र गोलकिपर डोन्नारुमा ले पेड्रोलाई धकेलेपछि दुबै टोलीबीच ठुलो विवाद भयो, जसलाई रेफ्रीले हस्तक्षेप गरेर छुट्याउनु परेको थियो।
प्रतिक्रिया