प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको सन्तुलित विकास नभए मानव सभ्यतामै संकट आउन सक्ने चेतावनी दिएका छन्। विश्व जनसंख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ‘राष्ट्रिय जनसंख्या नीति २०८२’ सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समयमै विवाह गरी सन्तान जन्माउनेतर्फ लाग्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको वृद्धिदर एकअर्कासँग मेल खानुपर्छ भन्दै हरेक नागरिकले सन्तान जन्माउने जिम्मेवारीलाई पृथ्वीप्रतिको दायित्वको रूपमा लिनुपर्ने बताए। “जनसंख्या नभएको भए देश नै हुने थिएन। सन्तुलित जनसंख्या विकास मानव अस्तित्वको आधार हो,” उनले भने, “हामीले सृष्टिको रक्षा गर्न मानव जातिलाई केन्द्रमा राखेर नीति बनाउनु आवश्यक छ।”
ओलीले विश्वभर जनसंख्या सन्तुलनमा गम्भीर असन्तुलन देखिएको भन्दै चेतावनी दिए। “एकातिर जनसंख्या वृद्धि रोक्ने बहानामा सेमिनार र गोष्ठी गरिन्छ, अर्कातिर आम विनाशका हतियार बनाएर मानिस मारिन्छ। यस्तो दोहोरो चरित्रले मानव सभ्यता जोगिँदैन,” उनले भने।
उनले सरकारले कानुनी रूपमा २० वर्षपछि मात्रै विवाह गर्ने व्यवस्था गरेकाले समयमै विवाह गरी ३० वर्ष नपुग्दै दुई–तीन सन्तान पाइसक्नुपर्ने सुझाव दिए। “४० काटेपछि रमाइलो गरौं भन्ने गीतमा अल्मलिनु हुँदैन,” उनले ठट्यौली शैलीमा भने।
प्रधानमन्त्रीले अघिल्लो पुस्ताको “सन्तानले डाँडाकाँडा ढाकून्” भन्ने सोचको स्थानमा अहिले सन्तान नहुने स्थिति आउने गरी जनचेतना फैलिन थालेको भन्दै चिन्ता व्यक्त गरे। विकसित देशहरूमा समेत जनसंख्या ऋणात्मक हुन थालेको भन्दै उनले नेपालले समयमै सचेत भई कार्यान्वयनमुखी नीति अपनाउनुपर्ने आवश्यकता औंल्याए।
“जनसांख्यिक असन्तुलन कायम रहिरह्यो भने मानव समाज संकटमा पर्छ,” प्रधानमन्त्री ओलीले भने, “राष्ट्रिय जनसंख्या नीति कार्यान्वयनमा अब ढिला गर्नु हुँदैन।”
प्रतिक्रिया