
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङसँग बिहीबार एक लामो टेलिफोन वार्ता गरेका छन्। वाशिङ्टन र बेइजिङबीच व्यापार र राष्ट्रिय सुरक्षासम्बन्धी बढ्दो तनावका बीच गरिएको यस संवादमा दुई देशबीचको व्यापार सम्झौताबारे विशेष चर्चा भएको थियो।
ट्रम्पले Truth Social मा लेखेका छन्, “मैले चीनका राष्ट्रपति सीसँग एकदमै राम्रो फोन वार्ता गरें, जसमा हामीले हाम्रो हालै सहमति भएको व्यापार सम्झौताका केही जटिल पक्षहरूबारे छलफल गर्यौं। यो वार्ता झण्डै डेढ घण्टा लामो भयो र दुबै देशका लागि सकारात्मक निष्कर्ष निकालियो।”
उनले भनेअनुसार कुराकानी मुख्यतः व्यापारकै विषयमा केन्द्रित थियो। राष्ट्रपति सीले ट्रम्प र मेलानिया ट्रम्पलाई चीन भ्रमणको निम्तो दिएका छन् भने ट्रम्पले पनि सी र उनकी पत्नी पेंग लियुआनलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका छन्।
चिनियाँ सञ्चारमाध्यमहरूले बिहीबार नै दुई नेताबीच वार्ता भएको पुष्टि गर्दै यो कुराकानी ट्रम्पको अनुरोधमा भएको दाबी गरेका छन्। यसअघि अमेरिकी राष्ट्रिय आर्थिक परिषदका निर्देशक केभिन ह्यासेटले एबीसी न्यूजसँग कुरा गर्दै ट्रम्प र सीबीच वार्ता हुने सम्भावना रहेको बताएका थिए।
ट्रम्प र सीबीचको यो संवाद त्यस्तो समय भएको हो जब ट्रम्पले चीनमाथि पुरानो व्यापार सम्झौता उल्लंघन गरेको आरोप लगाएका थिए। वार्ताको अघिल्लो दिन ट्रम्पले सीप्रति कटाक्ष गर्दै भनेका थिए कि उनीसँग सम्झौता गर्नु “अत्यन्तै कठिन” कुरा हो।
यस व्यापार सम्झौताअनुसार अमेरिका चीनबाट आउने सामानमा लगाइएको ट्यारिफ १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा ल्याउने र चीनले अमेरिकाबाट आयात हुने सामानमा लगाइएको ट्यारिफ १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति भएको थियो। तर ट्रम्पले चीनले आफ्नो तर्फबाट सम्झौता पालना नगरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका थिए, “दु:खद कुरा के हो भने, चीनले पूर्ण रूपमा सम्झौताको उल्लंघन गरेको छ – म NICE GUY हुँ भन्ने कुराको त अर्थै छैन अब!”
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले शुक्रबार CNBC सँगको अन्तर्वार्तामा भने, “संयुक्त राज्यले आफूले गर्नुपर्ने सबै काम गर्यो, तर चीनले भने सम्झौताको कार्यान्वयनमा ढिलासुस्ती गरेको छ, जुन स्वीकार्य छैन।”
त्यसैबीच चीनले अमेरिकामाथि उल्टै दोष लगाएको छ। चिनियाँ दूतावासका प्रवक्ता लिउ पेङ्युले शुक्रबार विज्ञप्ति जारी गर्दै भने, “चीनले फेरि एकपटक अमेरिका समक्ष अनुरोध गर्दछ कि उसले तुरुन्तै आफ्ना गल्ती सच्याओस्, चीनमाथि लगाइएका विभेदपूर्ण प्रतिबन्धहरू हटाओस्, र जेनेभामा उच्चस्तरीय वार्ताबाट भएको सहमति पालना गरोस्।”
तर ट्रम्पले पछि भने कि दुई नेताबीच वार्ताबाट जटिलता समाधान भएको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जसँग ओभल अफिसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले भने, “हामीबीच राम्रो संवाद भयो, र हामीले सबै जटिलताहरू मिलायौं। यस्ता कुरा निकै जटिल हुन्छन्, तर हामीले त्यसलाई प्रष्ट बनायौं। मलाई लाग्छ हामी चीनसँग व्यापार सम्झौताका सन्दर्भमा एकदम राम्रो अवस्थामा छौं।”
यसबाहेक, ट्रम्पले सी र उनकी पत्नीलाई अमेरिका आउन निमन्त्रणा दिँदै गर्दा आफ्नो प्रशासनले चिनीया विद्यार्थीहरूमाथि कडाइ गर्ने नीति अघि बढाइरहेको छ। उनले केही समयअघि मात्र चिनीया विद्यार्थीहरूको भिसा खारेज गर्न सकिने चेतावनी दिएका थिए। तर बिहीबार भने ट्रम्पले यसबारे केही नरम अभिव्यक्ति दिँदै भने, “हामी विदेशी विद्यार्थीहरू चाहन्छौं, तर उनीहरूको राम्रोसँग जाँच हुनु आवश्यक छ।”
यसरी, यो संवादले दुई देशबीच व्यापार तथा कूटनीतिक सम्बन्ध केही सहज बनाउने संकेत दिएको छ, यद्यपि पुराना विवादहरू पूर्ण रूपमा अन्त्य भएका छैनन्।
प्रतिक्रिया