Washington DC, US : February 22, 2025, Saturday 09:17 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

अमेरिकालाई फेरि महान् बनाउनका लागि इश्वरले मलाई बचाए भन्दै ‘सबै गैर कानुनी प्रवेश रोकिने’, ‘दशौँ लाखलाई देशनिकाला गरिने’ ट्रम्पको घोषणा, अमेरिका मात्रै होइन संसार भर तरङ्ग बाइडेन प्रशासनले "अराजकता र विनाश" छाडेर गएको आरोप लगाउँदै ट्रम्पले भने "अमेरिकी सपनालाई पुनर्स्थापित गर्ने" वाचा गर्दछु

  NepalMother.com | ८ माघ २०८१, मंगलवार १२:१५

अमेरिकाको ईतिहासमा, अमेरिकामा आज सम्म कुनै पनि राष्ट्रपतिले यस्तो गरेका थिएनन जुन ट्रम्पले पहिलो दिनमै शुरुवात गरे । बिसौं हजार मान्छेका अगाडि उनीहरुलाई साक्षी राख्दै उनले जसरी कार्यकारी आदेशहरु जारी गर्न, बिपक्षी र निबर्तमान बाइडेनलाइ आलोचना गर्न, स्वर्ण युगको शुरुवातको घोषणा गर्न, एक हजार पाँच सयभन्दा बढी लाई एकै पटक आम माफी दिने लगायतका निर्णय गरे, सय भन्दा बढी कार्यकारी आदेश जारी गरे र अझै सय भन्दा बढी कार्यकारी जारी गर्ने बताए । यो देखेर अमेरिका मात्र होइन आज संसार चकित भएको छ । उनीहरुले भन्दैछन – एउटा ब्यक्तिले यति सम्म पनि गर्न सक्दो रहेछ ।

डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकालको आरम्भ विभिन्न कार्यकारी आदेशहरू जारी गरेर गरेका छन। पदभार ग्रहण गरेको केही घण्टाभित्रै राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसबाट विभिन्न दस्तावेजहरूमा हस्ताक्षर गरेर अनुमोदन गरेका छन्। उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा गरेका छन् भने लागुपदार्थ तस्करहरूको गिरोह, कार्टेलहरूलाई आतङ्कवादी संगठन घोषणा गरेका छन्। यसअघि उनले भरिभराउ रङ्गशालामा बसेर एक चरणका कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए। मञ्चमा राखिएको डेस्कबाट उनले बाइडन प्रशासनले लागु गरेका झण्डै असीवटा प्रावधानहरूलाई उल्टाइ दिएका थिए भने प्यारिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए।  मतदाताहरूमाझ कायम यथास्थितिप्रतिको गहिरो असन्तुष्टिको बलमा दोस्रो पटक राष्ट्रपति चुनिएका डोनल्ड ट्रम्पले आफ्नो उदघाटन भाषणमा ‘सुनौलो युग’को वाचा गरेका छन्। उनको भाषण वाचा एवं विरोधाभाषहरूले भरिएका छन् जसमा उनले दोस्रो कार्यकालमा सामना गर्नु पर्ने चुनौती एवं अवसरहरू पनि उल्लेख छन्।

सोमवार उनले विभिन्न समारोहहरूमा सम्बोधन गरे। दिउँसोबाट सम्बोधन थालेका उनले संसद् भवन, क्यापिटलमा स्वस्फूर्त भाषण दिए अनि ‘स्पोर्ट्स एरिना’ रङ्गशालामा आयोजित परेड र्‍याली तथा ह्वाइट हाउसबाट कार्यकारी आदेश जारी गर्दै गर्दा पनि भाषण गरे – लगभग अबेर साँझसम्मै। ती सबै सम्बोधनहरूमा ट्रम्पले उनको विशिष्ट शैली, अनि विवाद तथा टकरावसँग नदच्कने उनको स्वभाव प्रदर्शन गरे – जसका कारण उनले उनका समर्थकहरूलाई उत्साहित तथा आलोचकहरूलाई क्रुद्ध बनाउँदै आएका छन्।
उद्घाटन भाषणका क्रममा ट्रम्पले आप्रवासन तथा अर्थतन्त्रमा बढ्ता जोड दिए। गत वर्षको निर्वाचनमा अमेरिकी मतदाताले यिनै दुई विषयलाई धेरै प्राथमिकता दिएको देखिएको थियो।

उनले ‘सरकार-प्रवर्तित विविधता र समावेशीता सम्बन्धी कार्यक्रमहरू’ को अन्त्य गर्ने अनि आधिकारिक अमेरिकी नीतिले ‘महिला र पुरुष गरि केवल दुई लैङ्गिक पहिचानमात्र मान्ने’ घोषणा गरे।

उक्त पछिल्लो उदगारलाई नजिकैको स्पोर्ट एरिनामा उपस्थित उनका समर्थकहरूको भिडले स्वागत गरेको थियो।

गत वर्ष उनले डेमोक्र्याटहरूभन्दा स्पष्ट विमति प्रकट गरेका यस्ता सांस्कृतिक मुद्दाहरू नै आगामी दिनमा उनका आफ्ना समर्थकहरूसँग जोडिने प्रमुख विषय बनिराख्ने सङ्केत यसबाट मिल्छ।
आफूले वाचा गरेको नौलो युग कस्तो हुन्छ भनेर बताउनु अगाडि ट्रम्पले वर्तमान अमेरिकी राजनीतिक वातावरणको भने अन्धकारपूर्ण चित्रण गरे।

आफ्ना पूर्ववर्ती जो बाइडन तथा अन्य डेमोक्र्याटिक दलका नेताहरू चुपचाप बसिरहँदा ट्रम्पले सरकारले ‘विश्वासको सङ्कट’ बेहोरेको बताए। उनले अमेरिकी न्याय मन्त्रालयको ‘दुष्टतापूर्वक, जथाभावी अनि पक्षपाती’ किसिमले दुरुपयोग गरिएको बताए। सन् २०२० को निर्वाचन परिणामलाई चुनौती दिएकोमा उक्त निकायले ट्रम्पविरुद्ध अनुसन्धान तथा अभियोजनको प्रयास गरेको थियो।

उनले ‘उग्र तथा भ्रष्ट संस्थापन’को निन्दा गर्दै तिनले अमेरिकी नागरिकहरूको शक्ति तथा सम्पत्ति अपहरण गरेको बताए। साथै उनले ती ‘त्रासदीपूर्ण धोकाधडी’ उल्ट्याउन जनमत प्राप्त गरेको दाबी गरे।

गत एक दशकयता उनले यस्तै लोकप्रियतावादी र कुलीन वर्ग विरोधी भाषण गर्दै आएका छन्। सन् २०१५ मा पहिलो पटक अमेरिकी राजनीतिको शिखरमा पुग्दै गर्दाको वखत भिन्नै भए पनि अहिले त ट्रम्प स्वयं पनि अरू जस्तै यही उदाउँदो संस्थापनको हिस्सा हुन्।

अनि, उनले त्यसो भनिरहँदा उनका पछाडि मञ्चमा चाहिँ संसारकै सबभन्दा धनी, सबभन्दा प्रभावशाली कर्पोरेट दुनियाका अगुवाहरू उपस्थित थिए।
शपथग्रहणका दिन ट्रम्पमाथि सबैको ध्यान रह्यो। उनका सहयोगीहरूले आप्रवासन, ऊर्जा, व्यापार, शिक्षा तथा अन्य विवादित सांस्कृतिक विषयहरूमा सयौँ कार्यकारी कारबाही थालिने दाबी गरेका छन्।

‘मेक्सिकोको खाडी’लाई ‘अमेरिकाको खाडी’ भनी पुन:नामाङ्कन गर्ने अनि पानमा नहरको नियन्त्रण अमेरिकाले लिने अघिल्ला वाचाहरू पनि उनले दोहोर्‍याए।

उनले चीनले उक्त मुख्य जलमार्गको व्यवस्थापन गरिरहेको आधारहीन आरोप लगाए। अमेरिकाका पानीजहाजहरूले सो मार्ग प्रवेश गर्न निकै धेरै शुल्क तिरिरहेको पनि उनले बताए – सायद यसले उनले भविष्यमा पानमा सरकारसँग गर्न चाहेको लेनदेनको सङ्केत गर्छ।

“अमेरिकाले फेरि एक पटक आफूलाई फैलँदो राष्ट्र मान्नेछ,” उनले अमेरिकी वैभव तथा ‘क्षेत्र’ विस्तारको वाचा गर्दै भने।

यी पछिल्ला टिप्पणीले अमेरिकाका सहयोगी राष्ट्रहरूका कान ठाडा हुन सक्छ। ट्रम्पले ग्रीनल्यान्ड लिने अनि क्यानडालाई देशको ५२औँ राज्य बनाउने भनेर गरेका टिप्पणीका कारण उनीहरू पहिले नै चिन्तित भइसकेका छन्।

निर्वाचन अभियानताका अनि आफ्ना सम्बोधनमा ट्रम्पले ठूल्ठूला वाचाहरू गरेका थिए। अब राष्ट्रपति भइसके पछि तिनको कार्यान्वयन बारे उनले प्रश्नहरूको सामना गर्ने छन्। आफूले भनेको ‘सुनौलो युग’को खास अर्थ प्रदर्शन गर्न पनि उनमा दबाव पर्ने छ।

भाषण सकिएपछि र बाइडनलाई सेनाको मरिन हेलिकप्टरमा चढाएर ह्वाइट हाउसबाट बिदावारी गरे पछि उनले क्यापिटलमा आफ्ना समर्थकहरूलाई स्वस्फूर्त सम्बोधन गरे। जहाँ बारम्बार अखबारका हेडलाइन समाचार बन्ने विवादित टिप्पणी गर्ने स्वरूपमा ट्रम्प फेरि देखा परे।

उनले सन् २०२० को निर्वाचन धाँधलीपूर्ण भएको दोहोर्‍याए। सन् २०२१ को ज्यानुअरी ६ को क्यापिटल हमलामा पूर्व सभामुख न्यान्सी पेलोसीको अपराधपूर्ण जिम्मेदारी रहेको बताए। उनले सन् २०२४ मा आफ्नो निर्वाचन विजयको बखान गरे। साथै उद्घाटन भाषणमा ‘एकता’को विषय पार्न आफू बल्लबल्ल राजी भएको पनि बताए।

आगामी चार वर्षमा ट्रम्प कसरी अघि बढ्लान भन्ने बारे ती अभिव्यक्तिले केही सङ्केत गर्छन्।

साँझ भएको हस्ताक्षर समारोहमा ट्रम्पले परम्परागत रूपमा (अघिल्ला सरकारका आदेश उल्ट्याउने) कार्यलाई नाटकीय बनाइदिए।

दिनको तेस्रो भाषणपछि आफ्नो ‘इनगरल परेड’ भएको स्पोर्ट एरिनाको मञ्चमा राखिएको सानो डेस्कमा पुगेर ट्रम्पले नयाँ सङ्घीय नियमन एवं भर्ना स्थगन, बाइडन प्रशासनका निर्देशनहरू उल्ट्याउने तथा प्यारिस जलवायु सम्झौताबाट अलग्गिने जस्ता कार्यकारी आदेशहरू जारी गरे।

“जो बाइडनले यस्तो गरेको तपाइँ कल्पना गर्न सक्नुहुन्छ?” उनले उपस्थितहरूलाई प्रश्न गरे।

साथै उनले ‘सरकारको दुरुपयोग’ रोक्न अनि महँगी सम्बोधन गर्न प्रतीकात्मक आदेशहरू पनि जारी गरे।

एरिनामा भएको समारोहपश्चात् ट्रम्पले हस्ताक्षरमा प्रयोग गरिएको कलम भिड तर्फ हुर्याइदिए।
त्यसपछि उनी ह्वाइट हाउसमा फर्किए जहाँ थप कार्यकारी आदेशहरू जारी भए – ६ ज्यानुअरी २०२१ मा क्यापिटल दङ्गामा पक्राउ परेका लगभग सबै १६ सयभन्दा धेरै समर्थकहरूलाई क्षमादान दिने, टिकटक प्रतिबन्धलाई अस्थायी स्थगन गर्ने अनि विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिकालाई अलग्ग्याउने आदेश जारी गरे।

साथै उनले एउटा महत्त्वपूर्ण संवैधानिक संशोधनको पुनर्परिभाषा गर्दै अवैध आप्रवासीका अमेरिकामा जन्मिएका सन्तानलाई अमेरिकी नागरिकता दिने कार्य बन्द गर्न आफ्नो प्रशासनलाई आदेश दिए।

यी सबैका माझ उनले मेक्सिको तथा क्यानडा (का आयात)माथि फेब्रुअरी १ देखि २५% प्रतिशत शुल्क लगाउने, सन् २०२० को चुनावमा डेमोक्र्याटले धाँधली गरेको अनि वर्तमान गाजा युद्धको युद्धविरामबारे संशय रहेको विषय पनि भन्न भ्याए।

शासनको विस्तृत रणनीति एवं आक्रामक अजेन्डाहरूसहितको आफ्नो टोली लिएर ट्रम्प शक्तिमा फर्किएका छन्। उनी स्वयं पहिले जस्तै अनुमान गर्न गाह्रो र धेरै तिर ध्यान फैलिएको व्यक्ति जस्तै देखिन्छन् जसका टिप्पणी ‘यत्तिकै बोलिएको वा नयाँ नीति’ के हो भनेर खुट्ट्याउन कठिन हुने गर्छ।

ट्रम्पले ओभल अफिसको आफ्नो कार्यालयबाट कार्यकारी आदेशहरू जारी गरेर आप्रवासनलाई नियन्त्रण गर्ने कदम चालेका छन्। ‘जन्मका आधारमा नागरिकताको हक’ को परिभाषा परिवर्तन गर्नेदेखि सीमाबाट हुने गैरकानुनी प्रवेशलाई रोक्न मेक्सिकोसँगको सीमामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने विषय त्यसमा समेटिएका छन्। तर जन्मिएकै आधारमा नागरिकता प्राप्त गर्ने अधिकारलाई बदल्ने उद्देश्य राखेकासहित उनका कतिपय आदेशले कानुनी कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। ट्रम्पले यसअघि बाइडन नेतृत्वको ह्वाइट हाउसको ‘विध्वशंकारी’ नीतिहरू ‘पाँच मिनेटभित्रै खारेज’ गर्ने बताउँदै आएका थिए। नयाँ प्रशासनले ‘सीबीपी वान’ नामक ‘एप’ रद्द गरेपछि केही घण्टाअघि नै हजारौँ विदेशीहरूका आप्रवासनसम्बन्धी कामका लागि सरकारी भेटका लागि आरक्षित समयहरू रद्द भएका थिए। उक्त ‘एप’ सीमा प्रवेश बिन्दुमा उपस्थितिको समय लिनका लागि प्रयोग गर्ने गरिन्थ्यो। आफ्नो शपथग्रहणपछिको मन्तव्यमा ट्रम्पले अमेरिकामा हुने ‘सबै गैर कानुनी प्रवेश रोकिने’ भन्दै दशौँ लाख ‘अपराधी विदेशी’लाई देशनिकाला गरिने बताए ।

राष्ट्रपति बनेपछि ट्रम्पले के के कदम चाले ?

“डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी” नाम दिइएको सरकारी खर्च प्रभावकारीता सम्बन्धी विभागको स्थापना, जुन औपचारिक सरकारी विभाग भने होइन।
“लैङ्गिक विचारधाराबाट महिलाहरूको प्रतिरक्षा” र “संघीय सरकारमा जैविक सत्यताको पुनर्स्थापना”
विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने प्रकृयाको थालनी
अमेरिकाको दक्षिणी सिमानामा “राष्ट्रिय सङ्कटकाल” को घोषणा
टिकटक विरुद्धको प्रतिबन्ध कार्यान्वयनमा आउनमा अस्थायी रोक लगाउने कार्य
६ ज्यानुअरीको दङ्गामा संलग्नहरूलाई क्षमादान
“भूतपूर्व सरकारी अधिकारीहरूलाई निर्वाचनमा चलखेल गरेकोमा जिम्मेवार” ठहर गर्ने।
६ ज्यानुअरीमा क्यापिटल भवनमा दङ्गा गर्नेहरूलाई क्षमादान दिने।
राष्ट्रपति ट्रम्पले जारी गरेका यी आदेशहरू ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित गरिएको छ।

क्षमादान

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशबाट चार वर्ष अघि अमेरिकी संसद् भवन क्यापिटलमा जबर्जस्ती प्रवेश गरेर हुलदङ्गा भएको घटनामा संलग्न झण्डै १६ सय जनालाई क्षमादान दिइएको छ।

त्यस घटनामा उनका समर्थकहरूले त्यसबेलाको राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई उल्टाउने प्रयास गरेका थिए।

त्यसरी क्षमादान पाउनेमा ‘प्राउड बोइज’ नामक समूहका एकजना नेता एनरिके टारियो पनि छन्। उनले क्यापिटलमा भएको आक्रमणको नेतृत्व गरेका थिए र उनलाई बीस वर्षको जेल सजाय सुनाइएको थियो।

एकजना वरिष्ठ डिमोक्र्याट न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले दिएका क्षमादानलाई “लज्जाजनक” भनेर टिप्पणी गरेकी छन्।

ट्रम्पको शपथग्रहण कार्यक्रममा कोको सहभागी भए

ट्रम्पको शपथग्रहण कार्यक्रममा सहभागी
ट्रम्पको शपथग्रहण कार्यक्रममा सहभागी
ट्रम्पको शपथग्रहण कार्यक्रममा सहभागी

राष्ट्रपतिले अहिलेको अमेरिकाको गम्भीर मूल्याङ्कनको प्रस्ताव गरे। उनले “कट्टर र भ्रष्ट संस्थापन”का कारण अमेरिकाले “देशभित्रको साधारण सङ्कट पनि व्यवस्थापन गर्न नसकेको” आरोप लगाए। लस एन्जलसमा भएको आगलागी नियन्त्रणमा देखिएको विफलतातर्फ सङ्केत गर्दै उनले त्यस्तो आरोप लगाएका थिए।

“अब हामी अझै पनि हाम्रो फाइदा उठाउने विषयलाई स्वीकार्दैँनौँ,” उनले भने।

नीतिहरूको लामो सूची

ट्रम्प

तस्बिर स्रोत,Reuters

शपथग्रहण मन्तव्यलाई राष्ट्रपतिहरूले एकताको लागि आह्वान गर्ने तथा व्यापक खालका प्रतिबद्धताहरू जनाउने अनि नीतिहरूबारे विस्तृतमा खासै उल्लेख नगर्ने अवसरका रूपमा लिइन्छ।

तर ट्रम्पले त्यसो गरेनन्।

उनले त आफूले पहिला १०० दिनमा गर्ने कामहरू, लिने नीतिहरू र प्रतिबद्धताहरूको लामो सूचीसहित त्यसको विस्तृत विवरणसमेत दिए।

ट्रम्पले दक्षिणी सिमानामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने र अध्यागमनसम्बन्धी नियमहरू कार्यान्वयनका लागि राष्ट्रिय सेना परिचालन गर्ने घोषणा गरे। उनले सन् २०१९ मा पनि त्यस्तै सङ्कटको घोषणा गरेका थिए भने आफ्नो चुनावी अभियानमा पनि त्यस्तो गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यस्तै उनले तत्काल कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकामा “तत्कालै सेन्सरशिप अन्य गर्ने र वाक् स्वतन्त्रता फिर्ता ल्याउने” घोषणा पनि गरे।

‘ईश्वरले बचाए’

ट्रम्पले भाषणका क्रममा आफ्नो अराजक र अशान्तिपूर्ण चुनावी अभियानको सबैभन्दा महत्त्वपूर्ण क्षणको स्मरण गरे। त्यो भनेको उनको हत्या प्रयास भएको क्षण थियो।

“हाम्रो अभियान रोक्न चाहनेहरूले मेरो स्वतन्त्रता खोस्न खोजे र वास्तवमा ज्यानै लिन खोजे,” उनले भने।

“केही महिनाअघि मात्र पेन्सिलभेनियाको सुन्दर चउरमा मेरो ज्यान लिन खोजिएको गोली मेरो कानमा लागेर गयो तर मैले त्यसपछि अझ बढी के विश्वास गरेँ भने मेरो जीवन केही कारणकै लागि बचेको हो।”

“मलाई अमेरिकालाई फेरि महान् बनाउनका लागि बचाइएको हो।”

मङ्गलग्रह र पानमा कनाल

ट्रम्प

तस्बिर स्रोत,Reuters

ट्रम्पले आफ्नो वैदेशिक र अन्तरिक्ष नीति तथा प्रतिबद्धताबारे पनि उल्लेख गरे। उनले वैदेशिक क्षेत्रमा नाटकीय कदम चाल्ने प्रतिबद्धता जनाए।

उनले पानमा कनाल अमेरिकी नियन्त्रणमा ल्याउने बताए र त्यसलाई अहिले चीनले चलाइरहेको झुटो दाबी गरे। पानमा उक्त जलमार्गका लागि स्वायत्त रहेको छ।

“हामी यसलाई फिर्ता ल्याउने छौँ,” ट्रम्पले भने।

उनले ‘गल्फ अफ मेक्सिको’को नामलाई परिवर्तन गरेर ‘गल्फ अफ अमेरिका’ बनाउने घोषणा गर्दा अमेरिकाकी पूर्वविदेशमन्त्री हिलरी क्लिन्टन हाँस्न बाध्य भइन्।

ट्रम्पले अन्तरिक्षतिर पनि हेरे र वाचा गरे, “हामी ताराहरूतर्फ अघि बढ्छौँ र मङ्गलग्रहमा हाम्रो झण्डा फहराउनेछौँ।”

उनको उक्त भनाइपछि ट्रम्पका सल्लाहकार तथा अर्बपति इलोन मस्क मुस्कुराए। उनले लामो समयदेखि मङ्गलग्रहमा मानवबस्ती बनाउने घोषणा गर्दै आएका छन्।

अब दुईवटा लिङ्ग मात्र

शपथग्रहण समारोहमा ट्रम्पले सबैभन्दा धेरै तालीको गडगडाहट त्यसबेला पाए, जब उनले अमेरिकामा दुईवटा मात्र लिङ्ग रहेको आधारमा नीतिहरू बन्ने बताए।

उनले भने, “यो अबदेखि संयुक्त राज्य अमेरिका सरकारको आधिकारिक नीति हुनेछ- यहाँ दुई लिङ्ग मात्र छन् : पुरुष र महिला।”

ट्रम्पले “सार्वजनिक र निजी जीवनका हरेक हरेक पक्षमा” जाति र लिङ्गका आधारमा गरिने “सोशल इन्जिनिअरिङ”लाई विफल पार्ने वाचा गरे।

उनले ‘कलर ब्लाइन्ड’ अर्थात् रङ्गहरू नचिन्ने र ‘योग्यतामा आधारित’ देश बनाउने वाचा पनि गरे।

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।