काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई तत्काल हेरफेर गर्ने कुनै योजना वा तयारी नरहेको स्पष्ट पारेका छन्।
बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरूको काम, कार्यक्षमता र सरकारको कार्यसम्पादनबारे पार्टीभित्र प्रश्न उठ्नु स्वाभाविक भए पनि त्यसलाई मन्त्री परिवर्तनको संकेतका रूपमा बुझ्न नहुने बताए।
उनका अनुसार रास्वपामा नेतृत्व, सरकार र मन्त्रीहरूको कामबारे खुला रूपमा प्रश्न गर्ने तथा जवाफ खोज्ने राजनीतिक संस्कारलाई प्रोत्साहन गरिएको छ। संसदीय दलको बैठकमा पनि सरकारका कामकारबाही, देखिएका समस्या र सुधारका विषयमा छलफल भएको तर मन्त्री फेरबदलको विषय एजेन्डामै नरहेको उनले बताए।
“सरकारमा रहेका मन्त्रीहरूले कस्तो काम गरिरहेका छन् भन्ने विषयमा सांसदहरूले प्रश्न गर्नु अस्वाभाविक होइन,” लामिछानेले भने, “तर प्रश्न उठ्यो भन्दैमा मन्त्री परिवर्तन हुँदैछन् भन्ने निष्कर्ष निकाल्नु सही हुँदैन।”
लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह र आफूबीच कुनै प्रकारको राजनीतिक विवाद वा व्यक्तिगत मतभेद नरहेको पनि स्पष्ट पारे। दुई नेताबीच सम्बन्ध बिग्रिएको भन्ने चर्चा र समाचारले उल्टै आफूहरूबीच संवाद र समझदारी अझ बढाएको उनको भनाइ थियो।
प्रधानमन्त्री साहले पछिल्लो समय सामाजिक सञ्जालमा आफू “एक्लै लडिरहेको” आशयको अभिव्यक्ति दिएको विषयलाई पनि लामिछानेले राजनीतिक असन्तुष्टिका रूपमा नबुझ्न आग्रह गरे।
प्रधानमन्त्री साह कलाकार र कविसमेत भएकाले उनका प्रत्येक अभिव्यक्तिलाई राजनीतिक संकेतका रूपमा व्याख्या गर्न आवश्यक नरहेको उनले बताए।
“सिङ्गो पार्टी उहाँसँग उभिएको छ, उहाँ कसरी एक्लो हुनुहुन्छ ?” लामिछानेले प्रश्न गर्दै प्रधानमन्त्री र सरकारलाई रास्वपाको समर्थन पूर्ण रूपमा कायम रहेको बताए।
उनले प्रधानमन्त्री साहसँगको सहकार्य व्यक्तिगत सम्बन्ध वा आपसी वाचामा मात्र आधारित नभई देशको भविष्य, जनताको अपेक्षा र इतिहासप्रतिको साझा जिम्मेवारीमा आधारित रहेको दाबीसमेत गरे।
पार्टीभित्र फरक–फरक धार वा दुई गुट सक्रिय रहेको भन्ने चर्चालाई पनि सभापति लामिछानेले अस्वीकार गरे।
महाधिवेशनपछि पार्टीको सांगठनिक समायोजन प्रक्रिया अघि बढिरहेको र विधानले सभापतिलाई दिएको अधिकारअनुसार योग्यता, क्षमता र आवश्यकता हेरेर क्रमशः केन्द्रीय समितिमा जिम्मेवारी दिइने उनले बताए।
केन्द्रीय समितिलाई पूर्णता दिने प्रक्रिया तत्कालै सक्नुपर्ने नभई योजनाबद्ध रूपमा अघि बढ्ने उल्लेख गर्दै उनले पार्टीभित्र देखिएका मतभिन्नतालाई गुटबन्दीका रूपमा चित्रण गर्नु गलत हुने बताए।
“पार्टीभित्र प्रश्न, बहस र फरक धारणा हुन सक्छन्, तर त्यसलाई गुटको रूपमा हेर्न मिल्दैन,” उनको भनाइ थियो।
लामिछानेले सरकार समग्रमा सही दिशामा अघि बढिरहेको दाबी गरे पनि केही विषयमा व्यवस्थापनगत कमजोरी देखिएको स्वीकार गरे।
पछिल्लो समय देखिएको ग्यास अभावलगायतका समस्यालाई सरकारको समग्र असफलतासँग जोडेर हेर्न नहुने उनको तर्क थियो। राम्रो काम भइरहेका बेला पनि आपूर्ति, व्यवस्थापन वा कार्यान्वयनका क्रममा समस्या देखिन सक्ने भन्दै उनले त्यस्ता कमजोरी तत्काल सुधार गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
उनका अनुसार जनताले दिएको म्यान्डेट पूरा गर्नु सरकार र रास्वपाको मुख्य जिम्मेवारी हो। सरकारको सफलता व्यक्तिको लोकप्रियताभन्दा पनि जनतालाई सेवा, सुशासन, आर्थिक सुधार र प्रभावकारी कार्यसम्पादन दिन सक्ने क्षमताबाट मापन हुनुपर्ने उनले बताए।
लामिछानेले सरकारप्रति पार्टीको समर्थन कायमै रहेको दोहोर्याउँदै अहिलेको प्राथमिकता मन्त्री परिवर्तनभन्दा सरकारको कामलाई प्रभावकारी बनाउने, कमजोरी सच्याउने र जनताले अनुभूति गर्ने नतिजा दिने रहेको स्पष्ट पारे।
प्रतिक्रिया