कालीकोट । बिरामीको ज्यान जोगाउनुपर्ने अस्पताल र उपचारमा खटिएका डाक्टर–नर्स नै असुरक्षित बन्न थालेपछि गम्भीर प्रश्न उठेको छ—नेपालमा ज्यान बचाउन आखिर कहाँ जाने ?
कालीकोटको पलाँता गाउँपालिका–९, थिर्पुस्थित पलाँता अस्पतालमा शुक्रबार दिउँसो स्वास्थ्यकर्मीमाथि कुटपिट भएको केही घण्टा नबित्दै राति फेरि अस्पतालमै प्रवेश गरी कर्मचारीमाथि आक्रमण र व्यापक तोडफोड गरिएको छ।
पछिल्लो विवरणअनुसार दिउँसो र रातिको दुई घटनामा मेडिकल अफिसर डा. अली हैदर रैनसहित छ जना स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारीमाथि आक्रमण भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाको सुरुवात अस्पताल परिसरभित्र बालबालिकाले मोबाइलमा भिडियो गेम खेल्दा बिरामीलाई असर परेको भन्दै स्वास्थ्यकर्मीले रोक्न खोजेपछि भएको बताइएको छ। अस्पताल प्रशासनका अनुसार सामान्य विवादका रूपमा सुरु भएको विषय केहीबेरमै गालीगलौज, हातपात र अन्ततः अस्पतालमाथिकै आक्रमणमा परिणत भएको थियो।
दिउँसो डा. रैन, स्टाफ नर्स शान्ता गिरी र अस्पतालका सुरक्षा गार्डमाथि आक्रमण गरिएको थियो। अस्पताल प्रशासनका अनुसार राति पुनः समूह अस्पतालमा प्रवेश गरेर अहेब विष्णु रोकाया, अनमी उषा शाही र अर्का सुरक्षा गार्डमाथि समेत हातपात गरेको थियो।
दिउँसोको घटनापछि डा. रैनसहित अस्पतालका कर्मचारी प्रहरी चौकी पुगेका थिए। त्यहाँ स्थानीय व्यक्ति, जनप्रतिनिधि, प्रहरी र घटनामा संलग्न पक्षबीच छलफल भएको थियो।
डा. रैनका अनुसार घटनालाई आपसी समझदारीमा मिलाउन आग्रह गरिएको थियो। तर स्वास्थ्यकर्मीमाथि कुटपिट भएको तथा केही समयदेखि गालीगलौज र दुर्व्यवहारसमेत भइरहेको भन्दै आफूहरूले दोषीमाथि कानुनी कारबाही हुनुपर्ने अडान राखेका थिए।
छलफलपछि राति अस्पताल फर्किएको केही समयमै फेरि आक्रमण भएको उनको भनाइ छ।
डा. रैनले आक्रमणका क्रममा आफूमाथि जातीय तथा क्षेत्रीय रूपमा अपमानजनक शब्दसमेत प्रयोग गरिएको आरोप लगाएका छन्। आक्रमणकारी अस्पतालभित्र पस्न खोज्दा रोक्ने सुरक्षा कर्मचारीमाथि समेत कुटपिट भएको बताइएको छ।
आक्रमण अस्पतालका कर्मचारीमा मात्र सीमित रहेन। अस्पतालका विभिन्न उपकरण र संरचनामा समेत तोडफोड गरिएको अस्पताल पक्षले जनाएको छ।
ओपीडीमा रहेको भिडियो स्क्यान उपकरण, खोप तथा औषधि सुरक्षित राख्ने फ्रिज, पंखा, झ्यालढोका लगायतमा क्षति पुर्याइएको बताइएको छ। फार्मेसीको ढोका फोडेर भित्र प्रवेश गरी औषधि राख्ने दराज र र्याकसमेत पल्टाइएको अस्पतालले जनाएको छ।
घटनापछि प्रहरी अस्पताल पुगेको र स्थितिलाई नियन्त्रणमा लिएको थियो। रातभर अस्पतालमा प्रहरी सुरक्षा परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी हिमबहादुर खत्रीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।
प्रहरीले घटनासँग सम्बन्धित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये एक जना नाबालकसमेत रहेको प्रहरीको भनाइ छ।
डा. रैनलगायत स्वास्थ्यकर्मी करिब १६ महिनादेखि दुर्गम कालीकोटमा कार्यरत रहेको विवरण सार्वजनिक भएको छ। यस्तो अवस्थामा अस्पतालमै पटक–पटक आक्रमण भएपछि आफू सुरक्षित महसुस गर्न नसकेको र काम गर्न कठिन भएको डा. रैनले बताएका छन्।
स्थानीय स्वास्थ्य अधिकारीका अनुसार प्रहरीको सहयोगमा उनको सुरक्षित रूपमा अस्पतालबाट बाहिरिने व्यवस्था मिलाइएको छ।
यो पक्ष अझ चिन्ताजनक छ। राजधानी र सुविधासम्पन्न सहर छाडेर दुर्गम गाउँमा उपचार गर्न पुगेको चिकित्सक अन्ततः सुरक्षाकै कारण त्यहाँबाट फर्किनुपर्ने अवस्था आयो भने त्यसको मूल्य कसले चुकाउने ? अन्ततः उपचारबाट वञ्चित हुने त्यही क्षेत्रका सर्वसाधारण होइनन् र ?
पलाँताको घटना एउटा अस्पतालको एउटा दिनको विवाद भनेर मात्रै पन्छाउन मिल्ने अवस्था छैन।
नेपाल चिकित्सक संघले पछिल्ला १० महिनामा मात्रै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका ९० भन्दा बढी शारीरिक तथा मौखिक दुर्व्यवहारका घटना दर्ता भएको जनाएको छ। चिकित्सकमाथि आक्रमण बढेको भन्दै गत जुलाई अन्त्यमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनसमेत गरेका थिए।
वीरगन्जको नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमण र अस्पताल तोडफोड भएको घटनाको विरोधमा गरिएको दुईदिने आन्दोलन सरकारसँग पाँचबुँदे सहमतिपछि मात्र रोकिएको थियो। सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेविरुद्ध विद्यमान कानुनअनुसार कारबाही गर्ने र कानुन थप प्रभावकारी बनाउन आवश्यक संशोधन अघि बढाउने सहमति गरेको थियो।
त्यसको केही दिनमै कालीकोटमा फेरि चिकित्सक, नर्स र अस्पताल कर्मचारीमाथि आक्रमण हुनु स्वास्थ्यकर्मीको सुरक्षाबारे राज्यले गम्भीर भएर सोच्नुपर्ने चेतावनी हो।
नेपालमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ छ। उक्त कानुनले स्वास्थ्यकर्मीलाई घेराउ गर्ने, अपमानजनक व्यवहार वा हातपात गर्ने तथा स्वास्थ्य संस्थामा तोडफोड र आगजनी गर्ने कार्य निषेध गरेको छ।
कानुन कागजमा हुनु मात्रै पर्याप्त हुँदैन। त्यसको तत्काल र निष्पक्ष कार्यान्वयन भएन भने आक्रमणकारीमा दण्डको डर हराउँदै जान्छ।
हरेक घटनापछि ‘मिलापत्र गरौं’, ‘समाजमै बस्नुपर्छ’, ‘कुरा मिलाऔं’ भन्दै हिंसालाई सामान्यीकरण गर्ने हो भने अर्को अस्पताल र अर्को स्वास्थ्यकर्मीमाथि आक्रमण नहोला भन्ने आधार के रहन्छ ?
कुटपिटलाई मेलमिलापको विषय बनाएर छाड्ने होइन, कानुनले निषेध गरेको काम भए निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कानुनअनुसार सजाय दिनु आवश्यक छ।
तर स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्नुको अर्थ अस्पताल, चिकित्सक वा नर्सलाई प्रश्नभन्दा माथि राख्नु पनि होइन।
नेपालका अस्पतालमा बिरामी तथा आफन्तले दुर्व्यवहार भोगेको, समयमा सूचना नपाएको, उपचारबारे स्पष्ट जानकारी नदिइएको, लापरबाही भएको वा भएको आशंका गरिएको तथा व्यवस्थापन कमजोर भएको गुनासो पनि बारम्बार आउने गरेका छन्।
त्यसैले अस्पताल र स्वास्थ्यकर्मी पनि आफ्नो पेशागत जिम्मेवारी, मर्यादा, पारदर्शिता, बिरामीसँगको व्यवहार र उपचारको गुणस्तरप्रति पूर्ण जवाफदेही हुनैपर्छ।
लापरबाही भएको छ भने छानबिन हुनुपर्छ। गल्ती भएको छ भने सम्बन्धित मेडिकल काउन्सिल, अस्पताल प्रशासन, स्वास्थ्य मन्त्रालय, प्रहरी वा अदालतको ढोका खुला छ। पीडितलाई उजुरी गर्ने, अनुसन्धान माग्ने र न्याय खोज्ने पूर्ण अधिकार छ।
तर डाक्टरले गल्ती गरेको आरोप लाग्यो भन्दैमा डाक्टर कुट्ने, नर्सलाई हातपात गर्ने, अस्पताल तोड्ने, औषधि फाल्ने वा उपकरण नष्ट गर्ने अधिकार कसैलाई हुँदैन।
न्याय माग्ने र कानून हातमा लिने कुरा एउटै होइन।
अस्पताल त्यो ठाउँ हो जहाँ मानिस अन्तिम आशा बोकेर पुग्छ। दुर्घटनामा परेको मानिस अस्पताल पुग्छ। मुटु दुखेको मानिस अस्पताल पुग्छ। सुत्केरी हुन लागेकी महिला अस्पताल पुग्छिन्। मृत्युको मुखमा पुगेको बिरामीलाई बचाउन परिवार अस्पताल दौडन्छ।
त्यही अस्पतालमा डाक्टर असुरक्षित, नर्स असुरक्षित, स्वास्थ्यकर्मी असुरक्षित र उपकरणसमेत असुरक्षित हुने हो भने त्यहाँ बिरामी कसरी सुरक्षित हुन्छ ?
आज भिडियो गेम खेल्न रोक्दा अस्पताल तोडिन्छ, भोलि औषधि ढिलो आयो भनेर कुटपिट होला, अर्को दिन बिरामी बचाउन नसकेको भन्दै आगजनी होला—यस्तो प्रवृत्तिलाई समयमै रोकिएन भने नेपालको स्वास्थ्य प्रणालीले गम्भीर मूल्य चुकाउनुपर्नेछ।
प्रश्न सरकारलाई पनि छ—स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने ग्यारेन्टी कहिले ?
प्रश्न स्वास्थ्य संस्थालाई पनि छ—बिरामी र उनका आफन्तप्रति सम्मान, पारदर्शिता र जवाफदेहिता कहिले अझ बलियो बनाउने ?
र प्रश्न हामी नागरिकलाई पनि छ—हाम्रो चेतनाको स्तर कहिले माथि उठ्ने ? असहमति हुनेबित्तिकै हातपात, तोडफोड, आगजनी र आक्रमण नै समाधान हो भन्ने मानसिकताबाट कहिले मुक्त हुने ?
गुनासो गर्न पाइन्छ। विरोध गर्न पाइन्छ। न्याय माग्न पाइन्छ। गल्ती गर्ने डाक्टर वा अस्पताललाई कानुनी कठघरामा उभ्याउन पनि पाइन्छ।
तर हातपात गर्न, तोडफोड गर्न, जलाउन र आक्रमण गर्न कदापि पाइँदैन।
डाक्टर–नर्सले बिरामीलाई आफ्नो जिम्मेवारी सम्झनुपर्छ, अस्पतालले सेवाग्राहीलाई सम्मान गर्नुपर्छ र नागरिकले पनि अस्पताललाई रणभूमि होइन, ज्यान बचाउने पवित्र र संवेदनशील स्थलका रूपमा व्यवहार गर्न सिक्नैपर्छ।
पलाँता अस्पतालको घटनाले फेरि त्यही प्रश्न हाम्रो सामु राखेको छ – ज्यान बचाउनेहरूकै ज्यान असुरक्षित भयो भने, ज्यान बचाउन हामी कहाँ जाने ?
प्रतिक्रिया