अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सको ‘फाल्कन–९’ रकेटको प्रयोग भइसकेको माथिल्लो भाग तीव्र गतिमा चन्द्रमाको सतहमा ठोक्किएको अनुमान गरिएको छ। करिब चार हजार किलोग्राम तौल भएको उक्त रकेट अवशेष बुधबार बेलायती समयअनुसार बिहान करिब ७:३५ बजे अर्थात् नेपाली समयअनुसार दिउँसो करिब १२:२० बजे चन्द्रमामा खसेको हुनसक्ने वैज्ञानिकहरूको प्रारम्भिक आकलन छ।
रकेटको अवशेष चन्द्रमाको पृथ्वीबाट प्रत्यक्ष नदेखिने भागमा रहेको बेल र आइन्स्टाइन नामका विशाल खाडलको बीचतिर ठोक्किने गणना गरिएको थियो। तर घटनास्थल पृथ्वीबाट सजिलै नदेखिने स्थानमा परेकाले ठोक्किएको दृश्यको प्रत्यक्ष प्रसारण हुन सकेन। जमिनमा रहेका विशेषज्ञ दूरबिन र चन्द्रमाको कक्षमा घुमिरहेका अन्तरिक्षयानबाट प्राप्त हुने तस्बिर तथा तथ्यांकका आधारमा मात्रै घटनाको औपचारिक पुष्टि हुने अपेक्षा गरिएको छ।
यो रकेट सन् २०२५ जनवरी १५ मा अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो। फाल्कन–९ ले फायरफ्लाई एरोस्पेसको ‘ब्लु घोस्ट–१’ चन्द्र अवतरण यानलाई अन्तरिक्षमा पुर्याएको थियो। आफ्नो मुख्य जिम्मेवारी पूरा गरेपछि रकेटको दोस्रो अर्थात् माथिल्लो चरण योजनाअनुसार मूल यानबाट अलग भएको थियो।
अन्तरिक्षमा छोडिएका रकेटका माथिल्ला चरण सामान्यतः पृथ्वीको वायुमण्डलमा प्रवेश गराएर जलाइन्छन्, नियन्त्रित स्थानमा खसालिन्छन् वा सूर्य वरिपरिको सुरक्षित कक्षतर्फ पठाइन्छन्। तर गहिरो अन्तरिक्ष र चन्द्र अभियानमा प्रयोग गरिएका रकेटमा यस्तो प्रक्रिया सधैँ सम्भव हुँदैन।
‘२०२५–०१०डी’ अन्तर्राष्ट्रिय पहिचान नम्बर दिइएको यो रकेटको माथिल्लो भाग इन्धन सकिएपछि अत्यन्त लामो अण्डाकार कक्षमा पृथ्वी र चन्द्रमाको बीचमा घुमिरह्यो। सूर्यबाट उत्पन्न गतिविधि तथा पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण प्रभावले यसको मार्ग क्रमशः परिवर्तन गर्दै लगेको थियो। अन्ततः यो नियन्त्रण गर्न नसकिने गरी चन्द्रमासँग ठोक्किने बाटोमा प्रवेश गरेको वैज्ञानिकहरूले बताएका छन्।
स्वतन्त्र खगोलविद् तथा अन्तरिक्ष वस्तु अनुगमन गर्ने अनुसन्धानकर्ताहरूले रकेटको अवशेष करिब २.४ किलोमिटर प्रतिसेकेन्ड अर्थात् प्रतिघण्टा करिब आठ हजार ७०० किलोमिटरको गतिमा चन्द्रमाको सतहतर्फ गएको अनुमान गरेका छन्।
यति तीव्र गतिमा ठोक्किँदा रकेटको संरचना पूर्ण रूपमा नष्ट हुनुका साथै चन्द्रमाको सतहमा नयाँ खाडल बन्ने अनुमान छ। घटनाबाट चन्द्रमाको धुलो, चट्टान र सतही पदार्थ केही दूरीसम्म उछिट्टिने सम्भावना पनि रहेको छ।
नयाँ खाडल कति ठूलो बन्न सक्छ भन्ने विषयमा वैज्ञानिक अनुमान भने फरक–फरक छन्। नासाले करिब ६० फिट अर्थात् १८ मिटर चौडा र १२ फिट अर्थात् करिब ३.७ मिटर गहिरो खाडल बन्न सक्ने जनाएको छ। यससम्बन्धी स्वतन्त्र वैज्ञानिक अध्ययनले भने करिब ४० मिटर व्यासको खाडल बन्न सक्ने अनुमान गरेको छ। वास्तविक आकार चन्द्रमाको कक्षबाट लिइने उच्च स्पष्टताका तस्बिर प्राप्त भएपछि मात्र थाहा हुनेछ।
अन्तरिक्षमा भएको यति ठूलो घटना भए पनि यसको प्रत्यक्ष भिडिओ उपलब्ध नहुनुका केही प्रमुख कारण छन्। रकेट खस्ने अनुमान गरिएको क्षेत्र चन्द्रमाको पृथ्वीबाट प्रत्यक्ष नदेखिने भागमा छ। त्यहाँ घटनालाई प्रत्यक्ष कैद गर्न सतहमा कुनै क्यामेरा राखिएको थिएन। ठोक्किने समयमा चन्द्रमाको कक्षमा रहेका यान पनि उपयुक्त कोण र स्थानमा नहुन सक्छन्।
चन्द्रमामा पृथ्वीमा जस्तो वायुमण्डल नभएकाले रकेट वायुमण्डलसँग घर्षण भएर ठूलो आगोको गोलामा परिवर्तन हुँदैन। त्यसैले पृथ्वीमा उल्कापिण्ड प्रवेश गर्दा देखिएजस्तो लामो चम्किलो दृश्य अपेक्षा गर्न सकिँदैन। ठोक्किने क्षणमा छोटो प्रकाश र धुलोको बादल उत्पन्न हुन सक्ने भए पनि त्यसलाई पृथ्वीबाट अवलोकन गर्न मौसम, प्रकाशको अवस्था र दूरबिनको सही दिशा मिल्नुपर्छ।
नासाको मेटियोरोइड इन्भाइरोन्मेन्ट्स कार्यालयले जमिनमा रहेका विशेष दूरबिनबाट घटना अवलोकन गर्ने प्रयास गरेको छ। यसबाहेक नासाको ‘लुनार रिकनिसेन्स अर्बिटर’ र दक्षिण कोरियाको ‘कोरिया पाथफाइन्डर लुनार अर्बिटर’मा रहेको ‘स्याडोक्याम’ उपकरणले घटनास्थलको पहिले र पछिको तस्बिर खिच्ने प्रयास गर्नेछन्।
तर ती यान घटनास्थलमाथि कहिले पुग्छन्, सूर्यको प्रकाश कुन कोणमा पर्छ र क्यामेराले स्पष्ट तस्बिर खिच्न सक्छ कि सक्दैन भन्ने विषयमा निर्भर रहने भएकाले प्रमाणित तस्बिर आउन केही दिन लाग्न सक्ने नासाले जनाएको छ।
नासाले यस घटनाबाट पृथ्वी वा पृथ्वीका बासिन्दालाई कुनै खतरा नरहेको स्पष्ट पारेको छ। रकेटको मार्ग चन्द्रमातर्फ निश्चित भइसकेको र पृथ्वीमा फर्किने सम्भावना नरहेको वैज्ञानिकहरूको भनाइ छ।
चन्द्रमामा वायुमण्डल नभएकाले त्यहाँ हरेक दिन साना उल्कापिण्ड ठोक्किने गर्छन्। नासाका अनुसार यस रकेटले उत्पन्न गर्ने ऊर्जासँग मिल्दोजुल्दो उल्कापिण्ड औसतमा करिब प्रत्येक छ दिनमा चन्द्रमामा ठोक्किने गरेको छ। त्यसैले यसले चन्द्रमाको समग्र संरचना वा कक्षमा ठूलो परिवर्तन ल्याउने सम्भावना छैन।
यद्यपि मानव निर्मित वस्तु अनियन्त्रित रूपमा चन्द्रमामा ठोक्किनु तुलनात्मक रूपमा दुर्लभ घटना हो। यसअघि अनुसन्धानका लागि केही अन्तरिक्ष यान र रकेटलाई योजनाबद्ध रूपमा चन्द्रमामा खसालिएको थियो। प्राविधिक खराबीका कारण पनि केही यान चन्द्रमामा दुर्घटनाग्रस्त भएका छन्।
सन् २०२२ मा एउटा रकेटको माथिल्लो भाग चन्द्रमाको हर्ट्जस्प्रुङ खाडलनजिक ठोक्किँदा दुईवटा जोडिएका नयाँ खाडल बनेका थिए। उक्त वस्तु सुरुमा स्पेसएक्सको रकेट भएको अनुमान गरिएको थियो, तर पछिको अध्ययनले त्यसलाई चीनको ‘चाङ्ग–५ टी–१’ अभियानमा प्रयोग भएको रकेटको अवशेषका रूपमा पहिचान गरेको थियो।
यो दुर्घटना योजनाबद्ध वैज्ञानिक प्रयोग नभए पनि नासाले यसबाट उपयोगी तथ्यांक प्राप्त गर्न सकिने जनाएको छ। रकेट ठोक्किँदा बनेको खाडल, उछिट्टिएको धुलो र चन्द्र सतहमा परेको प्रभाव अध्ययन गरेर वैज्ञानिकहरूले चन्द्रमाको माटो तथा चट्टानको प्रकृति बुझ्न सक्छन्।
रकेटको तौल, संरचना, गति र ठोक्किने अनुमानित कोण पहिल्यै थाहा भएकाले घटनापछि बनेको खाडलसँग तुलना गर्न सजिलो हुनेछ। यसले भविष्यमा उल्कापिण्ड वा मानव निर्मित वस्तु ठोक्किँदा पर्ने असरको वैज्ञानिक नमुना अझ शुद्ध बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
नासाले घटनाबाट प्राप्त तथ्यांक चन्द्रमाको भूगर्भ अध्ययनका साथै पृथ्वी–चन्द्रमा क्षेत्रका वस्तु अनुगमन गर्ने प्रविधि सुधार गर्न प्रयोग गरिने जनाएको छ।
यस घटनाले पृथ्वीको कक्षमा मात्र नभई पृथ्वी र चन्द्रमाबीचको ‘सिसलुनार’ क्षेत्रमा बढिरहेका मानव निर्मित वस्तुको व्यवस्थापनमाथि प्रश्न उठाएको छ। काम सकिएका रकेटका भाग, निष्क्रिय उपग्रह, प्रक्षेपण उपकरण र असफल अन्तरिक्ष यान अनुगमनबिनै छोडिँदा भविष्यका अभियानमा जोखिम बढ्न सक्छ।
अहिले चन्द्रमामा स्थायी मानव बस्ती वा ठूलो वैज्ञानिक संरचना सीमित भएकाले यसपटकको ठक्करले कुनै उपकरणमा क्षति पुर्याएको छैन। तर आगामी वर्षहरूमा विभिन्न देश र निजी कम्पनीले चन्द्रमामा अवतरण यान, रोभर, सञ्चार उपकरण र मानव बसोबासका संरचना स्थापना गर्ने तयारी गरिरहेका छन्। त्यस्तो अवस्थामा अनियन्त्रित रकेट अवशेष कहाँ खस्छ भन्ने कुरा महत्त्वपूर्ण बन्नेछ।
खगोलविद्हरूले पृथ्वीको तल्लो कक्षमा रहेका हजारौँ सक्रिय उपग्रह र अन्तरिक्ष फोहोरबीच ठोक्किने जोखिम बढिरहेको चेतावनी दिँदै आएका छन्। एउटा वस्तु अर्को वस्तुसँग ठोक्किएर सयौँ नयाँ टुक्रा बन्ने र ती टुक्राले फेरि अर्को उपग्रहलाई क्षति पुर्याउने क्रम बढेमा सुरक्षित रूपमा अन्तरिक्षमा पुग्न कठिन हुनसक्छ।
यद्यपि चन्द्रमामा ठोक्किएको यो रकेट पृथ्वीको तल्लो कक्षमा रहेका फोहोरसँग प्रत्यक्ष सम्बन्धित छैन। तर दुवै घटनाले अन्तरिक्ष अभियान समाप्त भएपछि रकेट र यानलाई कसरी सुरक्षित रूपमा व्यवस्थापन गर्ने भन्ने अन्तर्राष्ट्रिय नियम र जिम्मेवारी स्पष्ट हुनुपर्ने आवश्यकता देखाएका छन्।
वैज्ञानिकहरूले अब घटनास्थलको पुरानो तस्बिरलाई नयाँ तस्बिरसँग तुलना गर्नेछन्। नयाँ खाडल, सतहको रङमा परिवर्तन वा उछिट्टिएको पदार्थको फैलावट देखिएपछि रकेट ठोक्किएको औपचारिक पुष्टि हुनेछ।
त्यसपछि ठोक्किने वास्तविक स्थान, खाडलको आकार, गहिराइ र चन्द्रमाको सतहमा परेको प्रभावबारे विस्तृत अध्ययन सम्भव हुनेछ। तत्कालका लागि भने चार टन तौलको फाल्कन–९ रकेट अवशेष चन्द्रमामा ठोक्किसकेको बलियो अनुमान छ, तर प्रत्यक्ष दृश्य वा कक्षीय तस्बिर उपलब्ध नभएकाले वैज्ञानिक प्रमाणको प्रतीक्षा भइरहेको छ।
प्रतिक्रिया