नेपाल अहिले एउटा अचम्मको र असामाजिक प्रयोगशालाजस्तो देखिन थालेको छ। यहाँ कुनै व्यक्ति एकै रातमा नायक बन्न सक्छ, र अर्को रातमा खलनायक पनि। अझ कहिलेकाहीँ वास्तविकता नबुझीकन कसैलाई देवत्वकरण गर्ने र कसैलाई राक्षसीकरण गर्ने काम सामाजिक सञ्जालको भीड मानसिकताले गरिरहेको छ। यो प्रवृत्ति केवल सामाजिक व्यवहारको सामान्य विकृति मात्र होइन; यसले समाजको सामूहिक चेतनालाई नै कमजोर बनाउने खतरनाक संकेत दिन थालेको छ।
सामाजिक सञ्जालले सूचना आदानप्रदानलाई सहज बनायो। संसारलाई एउटा गाउँजस्तै बनायो। तर यसले अर्को समस्या पनि जन्मायो – भाइरल संस्कृतिको अन्धो दौड। नेपालमा अहिले कुनै पनि विषयको सत्यता के हो भन्ने बुझ्न भन्दा पहिले त्यसलाई कति छिटो भाइरल बनाउन सकिन्छ भन्ने प्रतिस्पर्धा सुरु हुन्छ। कसैले फेसबुक, टिकटक, युट्युब वा अन्य सामाजिक सञ्जालमा एउटा पोस्ट गर्यो कि त्यसको सत्यता के हो भन्ने बुझ्न भन्दा पहिले नै मानिसहरू त्यसलाई साझा गर्न, टिप्पणी गर्न र प्रचार गर्न दौडिन्छन्। फ्याक्ट चेक गर्ने संस्कार लगभग हराएको जस्तो देखिन्छ।
त्यसपछि सुरु हुन्छ कसैलाई देवता बनाउने अभियान, कसैलाई अपराधी ठहर गर्ने भीड, र कसैको सामाजिक चरित्र हत्या गर्ने ट्रोल संस्कृति। यो प्रवृत्तिले समाजलाई तथ्य र प्रमाणभन्दा पनि भावनाको आधारमा निर्णय गर्ने अवस्थामा पुर्याइरहेको छ। कहिलेकाहीँ यस्तो लाग्छ, अदालत, अनुसन्धान र प्रमाणभन्दा पहिले नै सामाजिक सञ्जालले फैसला सुनाइसकेको हुन्छ।
नेपाली समाजमा एउटा पुरानो उखान छ – “कौवाले कान लग्यो।” पहिले मान्छेले आफ्नो कान छाम्थ्यो, अनि मात्र कौवाको पछि लाग्थ्यो। तर अहिले अवस्था उल्टो देखिन्छ। सामाजिक सञ्जालमा कसैले केही लेख्यो भने धेरैजसो मानिस आफ्नो कान छाम्ने फुर्सद नै नलिई कौवाको पछाडि दौडिन्छन्। अफवाह, अप्रमाणित सूचना र अनुमानको भरमा मानिसहरू कसैलाई नायक बनाइदिन्छन्, अनि अर्को दिन त्यही व्यक्तिलाई खलनायक घोषणा गर्न पनि पछि पर्दैनन्।
यही मानसिकताले गर्दा झूटा सूचना, चरित्र हत्या, व्यक्तिगत गोपनीयता उल्लंघन र सामाजिक अपमानका घटनाहरू बढिरहेका छन्। सामाजिक सञ्जाल अहिले धेरै अवस्थामा सामाजिक भन्दा पनि असामाजिक सञ्जाल जस्तो बन्न थालेको टिप्पणी धेरैले गर्न थालेका छन्। यसको असर समाजमा गम्भीर रूपमा देखिन थालेको छ।
अनलाइन ट्रोलिङ, अपमान र चरित्र हत्या कारण धेरै मानिस मानसिक तनाव र डिप्रेसनमा पुगेका छन्। कसैको सामाजिक प्रतिष्ठा ध्वस्त भएको छ, कसैको पारिवारिक सम्बन्ध बिग्रिएको छ। कति मानिसको घरबार नै उजाडिएको उदाहरण पनि छन्। अत्यधिक सार्वजनिक अपमान, अफवाह र सामाजिक दबाबका कारण मानिसहरू मानसिक रूपमा यति कमजोर हुने अवस्था पनि आएको छ कि कतिपयले जीवन नै त्याग्न पुगेका घटनाहरू पनि देखिएका छन ।
अहिले सामाजिक सञ्जालमा अर्को प्रवृत्ति पनि बढिरहेको देखिन्छ – भाइरल हुन जे पनि गर्ने। कन्टेन्ट बनाउने नाममा झूटो नाटक, नक्कली घटना, सनसनीपूर्ण आरोप र चरित्र हत्या जस्ता सामग्री उत्पादन भइरहेका छन्। लक्ष्य एउटै देखिन्छ – भ्यूज, लाइक र फोलोअर बढाउने। तर यस्तो सामग्रीले समाजमा कस्तो असर पार्छ भन्नेबारे सोच्ने फुर्सद धेरैलाई छैन।
नेपालमा अहिले देखिएको मुख्य समस्या डिजिटल साक्षरताको अभाव पनि हो। सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै मानिसलाई सूचना सत्य हो कि झूटो, स्रोत विश्वसनीय हो कि होइन, अफवाह कसरी चिन्ने भन्ने आधारभूत ज्ञान पनि नहुन सक्छ। सामाजिक सञ्जाल प्रयोग बढ्यो, तर जिम्मेवारी र चेतना त्यति बढेन। परिणामस्वरूप समाज सूचना र अफवाहको भीडमा सजिलै बहने अवस्था सिर्जना भएको छ।
अहिले सामाजिक सञ्जालको प्रयोग केवल युवापुस्तामा मात्र सीमित छैन। साना बालबालिकादेखि किशोरकिशोरी, युवा, अभिभावक र हजुर बा, हजुरआमा सम्म सबै यसको प्रयोगमा संलग्न छन्। तर प्रयोगसँगै जिम्मेवारी, संयमता र नैतिकताको विकास त्यति देखिएको छैन।
यस समस्याको समाधान केवल कानुन बनाएर मात्र सम्भव छैन। समाजले फ्याक्ट चेक गर्ने संस्कार विकास गर्नुपर्छ। कुनै पनि सूचना विश्वास गर्नु अघि स्रोत जाँच्ने, प्रमाण खोज्ने र विभिन्न स्रोतबाट पुष्टि गर्ने बानी बसाल्नुपर्छ। सामाजिक सञ्जाल प्रयोग गर्दा डिजिटल नैतिकताको ख्याल राख्नुपर्छ। कसैको चरित्र हत्या गर्ने, अप्रमाणित आरोप लगाउने वा निजी जीवनमा हस्तक्षेप गर्ने प्रवृत्ति रोक्नुपर्छ।
हरेक प्रयोगकर्ताले आफूलाई एउटा सरल प्रश्न सोध्न जरुरी छ – “मैले अहिले पोस्ट गर्ने कुरा भोलि कसैको जीवनमा कस्तो असर पार्छ?” यदि यो प्रश्न सोध्ने बानी बसाल्न सकियो भने धेरै समस्या आफैं कम हुन सक्छन्।
सामाजिक सञ्जाल आफैंमा राम्रो वा नराम्रो होइन। यसको प्रयोग गर्ने हाम्रो व्यवहारले नै यसलाई समाज निर्माणको माध्यम बनाउने कि समाज विघटनको कारण बनाउने भन्ने निर्णय गर्छ।
हामीले मान्छेलाई मान्छे रहन दिनुपर्छ। कसैलाई देवता बनाउने वा कसैलाई राक्षस बनाउने हतार गर्नु हुँदैन। “कौवाले कान लग्यो” भन्ने सुन्ने बित्तिकै दौडिनु अघि पहिले आफ्नो कान छाम्न सिक्नुपर्छ। सत्यता खोज्ने संस्कार विकास गर्नुपर्छ।
शिक्षा, संस्कार, नैतिकता, अनुशासन र सामाजिक मूल्य मान्यताको ख्याल गर्ने संस्कार बलियो बनाऔँ। कर्म र धर्ममा विश्वास गरौँ। अन्ततः सभ्य समाज निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो। सबैको जय होस्।
प्रतिक्रिया