इरान,अमेरिका, इजरायलबीचको तनावपूर्ण युद्धका बीच इरानका विदेशमन्त्री अब्बास अराघचीले नयाँ चेतावनी दिएका छन्। उनका अनुसार संसारकै सबैभन्दा संवेदनशील तेल मार्ग मानिने हर्मुज जलडमरूमध्य (Strait of Hormuz) औपचारिक रूपमा खुला रहे पनि इरानमाथि आक्रमण गर्ने देशहरू र उनीहरूका सहयोगीका लागि भने त्यो मार्ग प्रभावकारी रूपमा बन्द भएको छ। उनले यसलाई “आक्रामक शक्तिहरूका लागि अवरुद्ध समुद्री मार्ग” भन्दै कडा चेतावनी दिएका हुन्।
उता, अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण तीव्र बनाइरहेका छन्। राजधानी तेहरान, ऐतिहासिक शहर इस्फहान र हमदान लगायतका स्थानमा लगातार बमबारी भएको समाचारहरू आएका छन्। यसबीच इरानले पनि प्रतिआक्रमण जारी राखेको छ, जसका कारण इजरायलका विभिन्न शहरहरूमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ।
युद्धको असर खाडी क्षेत्रमा समेत फैलिएको देखिएको छ। संयुक्त अरब इमिरेट्सका अधिकारीहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोनसँग सम्बन्धित घटनाले आगलागी भएको छ। त्यस्तै, फुजैराहको औद्योगिक क्षेत्रमा पनि अर्को ड्रोन आक्रमण भएको रिपोर्ट सार्वजनिक भएको छ, जसले सुरक्षा चिन्तालाई अझ बढाएको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कठोर टिप्पणी गरेका छन्। उनले चेतावनी दिँदै भनेका छन् कि यदि अमेरिकाका सहयोगी राष्ट्रहरूले हर्मुज जलडमरूमध्य खुला राख्न सहयोग गरेनन् भने नाटो (NATO) गठबन्धनको भविष्य निकै खराब हुन सक्छ। इरानले युद्धका कारण यो महत्वपूर्ण तेल मार्ग लगभग अवरुद्ध गरेपछि विश्व ऊर्जा आपूर्तिमा ठूलो चिन्ता बढेको छ।
यता इजरायलले दक्षिणी लेबनानमा नयाँ चरणको सैन्य आक्रमण सुरु गरेको छ। सीमाक्षेत्रमा ट्यांक र सैनिकहरूको ठूलो जमघट गर्दै इजरायली सेना थप आक्रमणको तयारीमा रहेको बताइएको छ। लेबनानमा जारी संघर्षका कारण मृतक संख्या ८५० नाघिसकेको छ, जसमा १०० भन्दा बढी बालबालिका समेत परेको अन्तर्राष्ट्रिय स्रोतहरूले बताएका छन्।
अमेरिकाले विश्वभरको तेल आपूर्ति अवरुद्ध नहोस् भन्ने उद्देश्यले इरानका तेल ट्यांकरहरूलाई हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न अनुमति दिएको जनाएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले अमेरिकी टेलिभिजन नेटवर्क CNBC सँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन्। उनका अनुसार इरानी तेल बोक्ने जहाजहरू केही समयदेखि नै हर्मुज मार्ग पार गरेर बाहिर निस्किरहेका छन् र विश्व बजारमा तेलको आपूर्ति कायम राख्न अमेरिकाले त्यसलाई रोक्ने प्रयास नगरेको बताए।
बेसन्टका अनुसार हाल सो समुद्री मार्ग हुँदै जहाजहरूको आवागमन बिस्तारै बढ्न थालेको छ। विशेषगरी भारत र चीनका जहाजहरू पनि हर्मुज हुँदै आवतजावत गरिरहेका छन्, जसका कारण निकट भविष्यमा समुद्री यातायात अझ बढ्ने अपेक्षा गरिएको छ।
यसैबीच उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीति पनि स्पष्ट रहेको बताएका छन्। ट्रम्प प्रशासनको लक्ष्य इरानको सैन्य क्षमता कमजोर बनाउने र त्यसलाई पूर्ण रूपमा ध्वस्त पार्ने रहेको उनले उल्लेख गरे। यसमा विशेषगरी इरानी नौसेना र इरानले आफ्नो शक्ति विदेशी क्षेत्रसम्म विस्तार गर्ने क्षमतामाथि प्रहार गर्ने रणनीति समावेश रहेको बेसन्टले बताएका छन्।
मध्यपूर्वका विभिन्न मोर्चामा एकैसाथ युद्ध फैलिँदै जाँदा क्षेत्रीय स्थिरता मात्र होइन, विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा समेत गम्भीर असर पर्ने संकेत देखिएको छ।
मध्यपूर्वमा बढ्दो तनावका कारण कतारको हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले आफ्नो उडान तालिका सीमित गरेको घोषणा गरेको छ।
कतार एयरवेजले सोमबार जारी गरेको विज्ञप्तिमा मार्च १८ देखि मार्च २८ सम्म दोहा आउने–जाने केही सीमित उडानहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो। यस अवधिमा कम्पनीले केही गन्तव्यका लागि मात्र उडान अनुमति दिएको छ भने धेरै उडानहरू अझै स्थगित अवस्थामै रहने बताइएको छ।
एयरलाइन्सका अनुसार कतारको हवाई क्षेत्र बन्द भएकाले उडान सञ्चालनको ठूलो हिस्सा अस्थायी रूपमा रोकिएको छ। तथापि, यात्रुहरूलाई सकेसम्म सहयोग गर्न र प्रभावित यात्रुहरूलाई आफ्ना गन्तव्य वा परिवारसम्म सुरक्षित रूपमा फर्काउन कम्पनीले निरन्तर प्रयास गरिरहेको जनाएको छ।
कतार एयरवेजले यात्रुहरूलाई आफ्नो आधिकारिक वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्टमार्फत अद्यावधिक उडान तालिका जाँच गर्न अनुरोध गरेको छ, ताकि नयाँ तालिका अनुसार यात्रा योजना मिलाउन सकियोस्।
मध्यपूर्वमा जारी सैन्य तनाव र सुरक्षा जोखिमका कारण क्षेत्रका धेरै देशहरूले हवाई क्षेत्र बन्द वा सीमित गरिरहेका छन्, जसका कारण अन्तर्राष्ट्रिय उडानहरूमा व्यापक असर परेको छ।
मध्यपूर्वबाट हुने तेल र ग्यास ढुवानीमा आएको अवरोधको सबैभन्दा ठूलो असर एसियाली देशहरूमा पर्ने विश्लेषकहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय ऊर्जा बजार विश्लेषण संस्था Kpler की वरिष्ठ कच्चा तेल विश्लेषक मुयु सुले अल जजिरासँग कुरा गर्दै यस्तो चेतावनी दिएकी हुन्। उनका अनुसार विशेष गरी मध्यपूर्वबाट ऊर्जा आयातमा अत्यधिक निर्भर तर भण्डारण क्षमता कम भएका एसियाली देशहरू अहिले सबैभन्दा जोखिममा छन्।
सुका अनुसार थाइल्याण्ड र भियतनाम जस्ता दक्षिण–पूर्वी एसियाली देशहरू तत्काल प्रभावमा पर्ने सम्भावना बढी छ, किनकि ती देशहरूको ऊर्जा भण्डारण सीमित छ र उनीहरू दैनिक आपूर्तिमा निकै निर्भर छन्।
यसैबीच दक्षिण कोरिया र जापानले आफ्नो रणनीतिक तेल भण्डार (Strategic Reserves) प्रयोग गर्ने योजना बनाएका छन्। तर युद्ध एक महिनाभन्दा बढी लम्बिएमा ती भण्डारले मात्र पर्याप्त राहत दिन नसक्ने विश्लेषण गरिएको छ।
चीनको अवस्था केही फरक देखिए पनि चुनौती भने कायम रहेको बताइएको छ। हाल चीनसँग करिब १.३ अर्ब ब्यारेल कच्चा तेलको भण्डार रहेको अनुमान गरिएको छ। तर आपूर्ति लामो समय अवरुद्ध भएमा त्यो भण्डार मात्रले पनि स्थिति सम्हाल्न कठिन हुन सक्ने विश्लेषकहरूको भनाइ छ।
विशेषज्ञहरूका अनुसार यदि मध्यपूर्वको युद्ध र समुद्री मार्गमा अवरोध लामो समयसम्म जारी रह्यो भने ऊर्जा संकट, इन्धन मूल्य वृद्धि र आर्थिक दबाब सबैभन्दा पहिले एसियाली अर्थतन्त्रमा देखिन सक्छ।
प्रतिक्रिया