इरानमा अभूतपूर्व राजनीतिक तथा सैनिक भुइंचालो आएको छ। सरकारी सञ्चारमाध्यमहरूले देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको पुष्टि गरेका छन्। यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इजरायल संयुक्त हवाई कारबाहीमा खामेनी मारिएको दाबी गरेलगत्तै सार्वजनिक गरिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै एक गुप्तचर तथा एक सैन्य स्रोतले करिब ४० जना उच्च इरानी अधिकारीहरू आक्रमणमा मारिएको जानकारी दिएका छन्। उनीहरूका अनुसार खामेनीसहित सुरक्षा र शासन संयन्त्रका प्रमुख व्यक्तिहरू निशानामा परेका थिए। यसअघि इजरायलले पनि आफूले सात जना इरानी अधिकारीहरूलाई मारिएको दाबी गरेको थियो।
डोनाल्ड ट्रम्पले भने आक्रमण अझै जारी रहने चेतावनी दिएका छन्। उनले यो कारबाहीलाई “इरानी जनताले आफ्नै देश पुनः आफ्नो हातमा लिने सबैभन्दा ठूलो अवसर” भएको दाबी गरेका छन्। ट्रम्पको वक्तव्यपछि क्षेत्रीय तनाव झन् चर्किएको छ। यसको प्रत्युत्तरमा इरानले मध्यपूर्वका विभिन्न स्थानहरूमा सैन्य प्रतिक्रिया सुरु गरेको जनाएको छ। दुबई, दोहा, बहरेन र कुवेत जस्ता स्थानहरूमा विस्फोट तथा क्षेप्यास्त्र आक्रमणको सूचना आएको छ। यी क्षेत्रहरूमा अमेरिकी सैन्य आधार रहेका छन् वा ती राष्ट्रहरू अमेरिकाका निकट सहयोगी मानिन्छन्।
मानवीय क्षति पनि भयावह देखिएको छ। इरानी रेड क्रिसेन्टका अनुसार देशभरि २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। इरानको दाबीअनुसार अमेरिका इजरायलको संयुक्त हवाई आक्रमणमा एक बालिका विद्यालयमा प्रहार हुँदा कम्तीमा १०८ जनाको ज्यान गएको छ।
इरानमा जारी भीषण आक्रमणका बीच सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको परिवारमाथि पनि ठूलो क्षति पुगेको दाबी गरिएको छ। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) निकट मानिने समाचार संस्था फार्स न्युज एजेन्सीले “सर्वोच्च नेताको कार्यालयका सूचित स्रोतहरू”लाई उद्धृत गर्दै खामेनीकी छोरी, ज्वाइँ तथा नाति/नातिनी आक्रमणमा मारिएको जनाएको छ।
उक्त रिपोर्टमा खामेनीकी एक बुहारी पनि आक्रमणमा परी ज्यान गुमाएको हुनसक्ने उल्लेख गरिएको छ। यद्यपि यसअघि सामाजिक सञ्जाल तथा केही माध्यमहरूमा फैलिएको छोरी–ज्वाइँको मृत्यु सम्बन्धी खबरहरू पछि अस्वीकार गरिएको थियो।
घटनाक्रमले मध्यपूर्वमा व्यापक अस्थिरता निम्त्याएको छ। अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम र संयमताको अपिल गरिरहेको भए पनि दुवै पक्ष आक्रामक रणनीतिमा देखिएका छन्। विश्व राजनीतिमा यसको दीर्घकालीन प्रभाव पर्ने विश्लेषकहरूले आकलन गरेका छन्।
संयुक्त राष्ट्रसंघका लागि इरानका स्थायी प्रतिनिधि अमीर सईद इरावानीले अमेरिका र इजरायलमाथि कडा आरोप लगाएका छन्। उनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठकमा बोल्दै “इरानविरुद्ध गरिएको योजनाबद्ध र उक्साहटबिनाको सैन्य आक्रमण”का कारण सयौँ मानिस मारिएको वा घाइते भएको बताएका छन्।
इरावानीका अनुसार दक्षिणी इरानको मिनाब शहरस्थित एक विद्यालयमा भएको विस्फोटमा १०० भन्दा बढी बालबालिकाको ज्यान गएको छ। उनले निर्दोष नागरिकको मृत्यु संख्या निरन्तर बढिरहेको दाबी गर्दै यसलाई “साधारण आक्रमण मात्र होइन, युद्ध अपराध र मानवताविरुद्धको अपराध”को संज्ञा दिएका छन्।
उनले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गर्दै सुरक्षा परिषद्सँग जिम्मेवार राष्ट्रहरूविरुद्ध कडा कदम चाल्न अपिल गरेका छन्।
यद्यपि अमेरिका र इजरायलले मिनाबस्थित उक्त विद्यालयमाथि आक्रमण भएको दाबीबारे कुनै आधिकारिक पुष्टि गरेका छैनन्। उक्त विद्यालय इरानको रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) को एक आधार नजिकै रहेको बताइएको छ, जुन पछिल्ला हवाई कारबाहीहरूको मुख्य लक्ष्यमध्ये एक मानिएको छ।
अमेरिका–इजरायलद्वारा इरानमाथि गरिएको सैन्य कारबाहीको विरोधमा संयुक्त राज्य अमेरिकाभर प्रदर्शन सुरु भएका छन्। विभिन्न सहरमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् र युद्ध विस्तार रोक्न माग गरेका छन्।
शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न स्थानमा सैन्य अपरेसन सुरु गरेका थिए। त्यसको प्रत्युत्तरमा इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा आक्रमण गरेको जनाएको छ। दुबई, दोहा, बहरेन र कुवेत जस्ता अमेरिकी सैन्य आधार रहेका वा अमेरिकासँग निकट सम्बन्ध भएका स्थानहरूमा पनि इरानी आक्रमण भएको खबर सार्वजनिक भएका छन्।
यसैबीच अमेरिकाभित्र विभिन्न अधिकारकर्मी तथा राजनीतिक समूहहरूले सप्ताहन्तभर प्रदर्शन कार्यक्रम आयोजना गरेका छन्। प्यालेस्टिनियन युथ मुभमेन्ट, डेमोक्रेटिक सोसियलिस्ट्स अफ अमेरिका, कोड पिंक र द पिपल्स फोरमलगायत संगठनहरूको संयुक्त पहलमा न्युयोर्क, वाशिङ्टन डीसी, लस एन्जलस, शिकागोलगायत ठूला सहरहरूमा विरोध सभा, र्याली र शान्तिपूर्ण प्रदर्शनको तयारी गरिएको छ।
प्रदर्शनकारीहरूले मध्यपूर्वमा युद्धको दायरा नफैलाउन, कूटनीतिक वार्तामार्फत समाधान खोज्न र नागरिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। उनीहरूले “युद्ध होइन, शान्ति चाहिन्छ” भन्ने नारासहित ब्यानर तथा पोस्टर प्रदर्शन गरेका छन्।
प्रतिक्रिया