Updated……अमेरिकी एक उच्च अधिकारीका अनुसार तेहरानमा गरिएको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई (Ayatollah Ali Khamenei) सहित शीर्ष तहका नेताहरू मारिएको दाबी गरिएको छ। उक्त आक्रमण अमेरिका र इजरायलले संयुक्त रूपमा सञ्चालन गरेको “Operation Epic Fury” नामक व्यापक सैन्य कारबाहीअन्तर्गत भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (Donald Trump) ले शनिबार दिउँसो सार्वजनिक सन्देशमार्फत इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई (Ayatollah Ali Khamenei) को मृत्यु भएको पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (IRGC) का अधिकारीहरू अहिले अमेरिकासँग सुरक्षा उन्मुक्ति (इम्युनिटी) खोजिरहेको दाबी गरेका छन्।
ट्रम्पले आफ्नो वक्तव्यमा खामेनेईलाई “इतिहासकै अत्यन्त खराब व्यक्तिमध्ये एक” भन्दै उनको मृत्यु “इरानका जनता मात्र होइन, विश्वभरका ती सबै निर्दोष मानिसका लागि न्याय” भएको बताएका छन्, जसले इरानी शासनका कारण ज्यान गुमाएका वा घाइते भएका थिए।
राष्ट्रपतिले दाबी गरेअनुसार खामेनेई अमेरिकी गुप्तचर संयन्त्र र उच्चस्तरीय ट्र्याकिङ प्रणालीबाट बच्न असफल भए। उनले इजरायलसँगको घनिष्ठ सहकार्यमा गरिएको कारबाहीका कारण खामेनेई र उनीसँगै मारिएका अन्य नेताहरूले कुनै प्रतिकार गर्न नसकेको उल्लेख गरेका छन्।
ट्रम्पले यस घटनालाई “इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर” को रूपमा चित्रण गरेका छन्। उनले इरानका केही IRGC सदस्य, सेना तथा सुरक्षा निकायहरू अब लड्न इच्छुक नरहेको र अमेरिकासँग उन्मुक्ति खोजिरहेको दाबी पनि गरेका छन्। उनले चेतावनी दिँदै भनेका छन् “अहिले आत्मसमर्पण गरे उन्मुक्ति पाउँछन्, पछि मृत्यु मात्रै बाँकी रहन्छ।”
उनले IRGC र प्रहरी निकायहरू इरानी देशभक्त शक्तिहरूसँग “शान्तिपूर्ण रूपमा एकीकृत” भएर देश स्थिर बनाउन सक्ने आशा व्यक्त गरेका छन्।
साथै ट्रम्पले इरानमा गरिएको “सटीक र भारी बमबारी” आवश्यक उद्देश्य पूरा नभएसम्म जारी रहने बताएका छन्। उनले यस अभियानको लक्ष्य “मध्यपूर्व र विश्वभर स्थायी शान्ति स्थापना गर्नु” रहेको दाबी गरेका छन्।
अमेरिकी सेनाले इरानमाथि जारी संयुक्त सैन्य कारबाहीका बीच विमानवाहक युद्धपोतबाट लडाकु विमानहरू उडान भर्दै गरेको भिडियो सार्वजनिक गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड United States Central Command (CENTCOM) ले “Operation Epic Fury” अन्तर्गत अमेरिका र इजरायलले शनिबार गरेको आक्रमणसँग सम्बन्धित दृश्य सामग्री सार्वजनिक गरेको हो।
CENTCOM का अनुसार अमेरिकी तथा साझेदार फौजले पूर्वी समयअनुसार बिहान १:१५ बजेबाट इरानका विभिन्न रणनीतिक लक्ष्यहरूमा प्रहार सुरु गरेका थिए। कारबाहीको उद्देश्य इरानी शासनको सुरक्षा संयन्त्र कमजोर पार्नु र तत्काल खतरा उत्पन्न गर्ने सैन्य संरचनाहरू निष्क्रिय बनाउनु रहेको जनाइएको छ। निशानामा इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (IRGC) का कमाण्ड तथा नियन्त्रण केन्द्र, वायु प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन प्रक्षेपण स्थल र सैन्य हवाई अड्डाहरू परेका थिए।
CENTCOM का कमान्डर एडमिरल ब्राड कुपरले जारी गरेको वक्तव्यमा राष्ट्रपति Donald Trump ले निर्णायक कदम चालेको र अमेरिकी सैनिकहरूस्थल, जल, वायु तथा अन्य सुरक्षा निकाय आदेश कार्यान्वयनमा सक्रिय रहेको उल्लेख गरिएको छ।
प्रारम्भिक आक्रमणपछि इरानबाट सयौं मिसाइल र ड्रोन प्रहार भएको दाबी गरिएको छ। CENTCOM का अनुसार तीमध्ये धेरैजसो आक्रमणहरू सफलतापूर्वक निष्क्रिय पारिएको छ। हालसम्म कुनै अमेरिकी सैनिकको ज्यान गएको वा गम्भीर घाइते भएको विवरण सार्वजनिक गरिएको छैन। अमेरिकी सैन्य संरचनामा सीमित क्षति पुगेको र त्यसले सैन्य अभियानमा प्रभाव नपारेको पनि जनाइएको छ।
सुरुवाती चरणमा हवाई, स्थल तथा समुद्री माध्यमबाट सटीक निर्देशित अस्त्र प्रयोग गरिएको थियो। साथै CENTCOM अन्तर्गतको विशेष कार्यदलले कम लागतका एकतर्फी आक्रमणकारी ड्रोन पहिलोपटक प्रत्यक्ष युद्धमा प्रयोग गरेको जनाएको छ।
यसैबीच अमेरिकी विदेश मन्त्रालयले इरानसँग बढ्दो तनावका कारण विदेशमन्त्री Marco Rubio को इजरायल भ्रमण रद्द गरेको जानकारी दिएको छ। मन्त्रालयका अधिकारीहरूले “हालको परिस्थितिका कारण” निर्धारित भ्रमण स्थगित गरिएको बताएका छन्।
इरानबाट प्रक्षेपण गरिएको एक शक्तिशाली मिसाइलले शनिबार इजरायलको राजधानी Tel Aviv मा प्रत्यक्ष प्रहार गर्दा कम्तीमा २० जना घाइते भएका छन्। उक्त मिसाइलले सुरक्षा प्रतिरक्षा प्रणाली छल्दै आवासीय भवनमा सिधा ठोक्किएको जनाइएको छ।
स्थानीय स्रोतका अनुसार आक्रमणपछि पूरै एक ब्लक ध्वस्त भएको छ। भग्नावशेषबाट दुई जना सर्वसाधारणलाई जीवितै उद्धार गरिएको दृश्य प्रत्यक्षदर्शी पत्रकारहरूले देखेका बताएका छन्।
स्वास्थ्य अधिकारीहरूले कम्तीमा २० जना घाइते भएको पुष्टि गरेका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

Organization of Islamic Cooperation (OIC) ले इरानद्वारा सदस्य राष्ट्रहरूलाई ब्यालेस्टिक मिसाइलमार्फत लक्षित गरिएको घटनाको कडा शब्दमा निन्दा गरेको छ।
जेद्दाहमा २८ फेब्रुअरी २०२६ मा जारी विज्ञप्तिमा OIC को महासचिवालयले इरानले छिमेकी सदस्य राष्ट्रहरूको सार्वभौमिकता र भूभागलाई निशाना बनाएको आरोप लगाउँदै यसलाई क्षेत्रीय स्थायित्वमाथि गम्भीर खतरा भएको जनाएको छ। विज्ञप्तिमा विशेष रूपमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, कतार, कुवेत र जोर्डनजस्ता सदस्य राष्ट्रहरूको नाम उल्लेख गर्दै ती देशहरूको सुरक्षा र क्षेत्रीय अखण्डतामाथि आक्रमण भएको बताइएको छ।
OIC ले यस्तो कदमलाई अस्वीकार्य उक्साहट (escalation) भन्दै यसले सम्पूर्ण मध्यपूर्व क्षेत्रको शान्ति र सुरक्षामा गम्भीर असर पार्ने चेतावनी दिएको छ। महासचिवालयले प्रभावित देशहरूसँग पूर्ण ऐक्यबद्धता जनाउँदै कुनै पनि प्रकारको आक्रमणले उनीहरूको सार्वभौमिकता, सुरक्षा र स्थायित्वमा असर पार्न नदिन अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराएको छ।
विज्ञप्तिमा निरन्तर रूपमा सदस्य राष्ट्रहरूको सार्वभौमिकता उल्लङ्घन हुनु र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरूको बेवास्ता गरिनु अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यतामाथि आघात भएको उल्लेख गरिएको छ। यसले असल छिमेकी सम्बन्ध, पारस्परिक सम्मान र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त कमजोर बनाउने खतरा रहेको OIC को भनाइ छ।
OIC ले तत्काल तनाव बढाउने सबै गतिविधि रोक्न, संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न आह्वान गरेको छ। अन्यथा अवस्था अझै गम्भीर भई व्यापक द्वन्द्वमा रूपान्तरण हुन सक्ने चेतावनीसमेत दिइएको छ।

अमेरिका–इरानबीच चर्किएको सैन्य द्वन्द्वले मध्यपूर्व क्षेत्रलाई अत्यन्त संवेदनशील बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (Donald Trump) ले हालको सैन्य कारबाही तेहरानको शासन परिवर्तन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको संकेत दिएका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार हालसम्म इरानमा २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
इरानले पनि अभूतपूर्व प्रत्याक्रमण गर्दै मध्यपूर्वका विभिन्न स्थानमा रहेका अमेरिकी सैन्य अड्डा, इजरायल र अन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ। यी आक्रमणले घना जनसंख्या भएका क्षेत्रहरूमा ठूलो प्रभाव पारेको छ भने हवाई उडान सेवा तथा तेल ढुवानीसमेत अवरुद्ध भएको रिपोर्टहरू आएका छन्।
अमेरिकी सेनाले भने हालसम्म कुनै पनि अमेरिकी सैनिकको युद्धसम्बन्धी मृत्यु नभएको जनाएको छ। सुरक्षा सतर्कता बढाउँदै संघीय अनुसन्धान ब्युरो (FBI) का आतंकवादविरुद्धका टोलीहरू उच्च सतर्क अवस्थामा राखिएका छन्। अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका अमेरिकी नागरिकहरूलाई “अतिरिक्त सावधानी अपनाउन” परामर्श जारी गरेको छ।
यसैबीच संयुक्त अरब इमिरेट्सले वर्तमान द्वन्द्वलाई “मध्यपूर्वको ऐतिहासिक मोड” को संज्ञा दिएको छ। उसले क्षेत्रीय स्थायित्व सुनिश्चित गर्न विश्व नेताहरू असफल भएको टिप्पणी गर्दै अवस्था थप जटिल बन्न सक्ने चेतावनी दिएको छ।
प्रतिक्रिया