उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मस्तिष्कमा रक्तस्राव भएर मृत्यु भएको सनसनीपूर्ण हल्ला अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएपछि उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले उनी सार्वजनिक कार्यक्रममा सहभागी भएको तस्बिर सार्वजनिक गरेका छन्। नयाँ तस्बिरले मृत्युको दाबीलाई थप शंकास्पद बनाएको छ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनए र सरकारी पत्रिका रोडोङ सिनमुनले सार्वजनिक गरेका तस्बिरमा ४२ वर्षीय किम आफ्नी पत्नी री सोल जु, छोरी किम जु ए र उच्च अधिकारीहरूसँग प्योङयाङमा आयोजित कपडा तथा जुत्ता प्रदर्शनीको अवलोकन गरिरहेको देखिन्छन्। सरकारी सञ्चारमाध्यमका अनुसार उनले अक्टोबर १९ मा उक्त प्रदर्शनीको निरीक्षण गरेका थिए।
किमको मृत्यु भएको दाबी अमेरिकामा बस्दै आएका चिनियाँ असन्तुष्ट नेता वानजुन सिएले सामाजिक सञ्जाल एक्समार्फत गरेका थिए। उनले किमको मस्तिष्कमा गम्भीर रक्तस्राव भएपछि बेहोस अवस्थामा उपचारका लागि चीनको बेइजिङ लगिएको, त्यहीँ मृत्यु भएको र शव गोप्य रूपमा उत्तर कोरिया फर्काइएको दाबी गरेका थिए। तर उनले आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत गरेका छैनन्।
दक्षिण कोरियाका कूटनीतिक तथा सुरक्षा अधिकारीहरूले पनि किमको मृत्यु भएको भन्ने सूचना पुष्टि गर्ने कुनै जानकारी प्राप्त नभएको जनाएका छन्। उत्तर कोरियाले मृत्युको हल्लाबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि सार्वजनिक गरेका नयाँ तस्बिरले ती दाबीमाथि गम्भीर प्रश्न उठाएका छन्। यद्यपि तस्बिर खिचिएको वास्तविक समय स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
यसअघि सन् २०२० मा पनि किमको मुटुको शल्यक्रियापछि मृत्यु भएको हल्ला व्यापक रूपमा फैलिएको थियो। तर केही समयपछि उनी सार्वजनिक कार्यक्रममा देखिएसँगै उक्त दाबी गलत सावित भएको थियो।
किमको स्वास्थ्यलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा लामो समयदेखि चासो छ। अत्यधिक तौल, धूमपान र परिवारमा मुटुसम्बन्धी रोगको इतिहासका कारण उनी स्वास्थ्य जोखिममा रहेको दक्षिण कोरियाली गुप्तचर निकायको आकलन छ। यद्यपि पछिल्लो मूल्यांकनमा उनमा गम्भीर स्वास्थ्य समस्या देखिएको स्पष्ट संकेत नभएको जनाइएको छ।
अर्कोतर्फ किमले आफ्नी किशोरी छोरी किम जु एलाई महत्त्वपूर्ण सार्वजनिक तथा सैनिक कार्यक्रममा निरन्तर सहभागी गराउँदै आएका छन्। दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूले उनलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरे पनि उत्तर कोरियाले औपचारिक रूपमा उत्तराधिकारी घोषणा गरेको छैन।
विश्वकै अत्यन्त गोप्य शासन व्यवस्था रहेको उत्तर कोरियामा नेतृत्व परिवर्तनको सम्भावना, आणविक हतियारको नियन्त्रण र क्षेत्रीय सुरक्षाका विषय संवेदनशील मानिन्छन्। त्यसैले किमको स्वास्थ्यसम्बन्धी सानो हल्लाले समेत चीन, दक्षिण कोरिया, अमेरिका र अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्ने गरेको छ।
हालसम्म प्राप्त विश्वसनीय सूचनाअनुसार किम जोङ उनको मृत्यु भएको कुनै प्रमाण छैन। बरु उत्तर कोरियाली सरकारी सञ्चारमाध्यममा सार्वजनिक नयाँ गतिविधिले उनको मृत्यु भएको हल्लालाई आधारहीन देखाएको छ।
प्रतिक्रिया