काठमाडौँ । कावा प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग पूर्ण रूपमा लागिरहेको बताएका छन्। निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका अधिकारीहरूको उपस्थिति रहेको थियो। आयोगका सचिव कृष्णबहादुर राउत ले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न देशभरका जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको बताए।

उनका अनुसार ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। निर्वाचनलाई पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको जानकारी पनि उनले कूटनीतिक अधिकारीहरूलाई दिए। कार्यक्रममा आयोगका सहसचिव ज्ञानहरि घिमिरे ले निर्वाचन तयारीसम्बन्धी विस्तृत प्रस्तुति दिएका थिए। उक्त अवसरमा आयोगका आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा सहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक निर्वाचन सामग्री पुगिसकेको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी ले राससलाई जानकारी दिँदै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पठाइसकिएको बताए। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अहिले अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार व्यवस्थापकीय कार्यहरू निर्धारित समयमै सञ्चालन भइरहेको जनाएको छ। दुवै निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई जिल्लाजिल्लामा पुगिसकेको छ। केही आवश्यक सामग्री भने जिल्लामै व्यवस्थापन गरिने आयोगले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतको जिम्मामा सबै सामग्री हस्तान्तरण गरिने व्यवस्था मिलाइएको छ।
स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ गतेदेखि सुरु भई जारी रहेको छ। उक्त कार्यक्रम फागुन १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुने जनाइएको छ। निर्वाचन आचारसंहिता अनुगमन तथा परिपालनालाई निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिसहितका संयन्त्रहरूले सक्रिय रूपमा काम गरिरहेका छन्।
यसैबीच, फागुन ४ गतेदेखि राजनीतिक दलहरूले मुख्य चुनावी प्रचारप्रसार सुरु गरेका छन्। प्रचारप्रसार गतिविधि प्रचलित कानुन र निर्वाचन आचारसंहिताको अधीनमा रही शिष्ट तथा मर्यादित ढंगले सञ्चालन गर्न आयोगले दल तथा उम्मेदवारहरूलाई निर्देशन दिइसकेको छ।
प्रतिक्रिया