साउदी अरेबियामा राष्ट्रिय स्वतन्त्र पार्टीको भ्रातृ संगठन प्रवास नेपाली सम्पर्क विभाग साउदी अरेबियाको दोस्रो अधिवेशन छ बुँदे घोषणासहित सम्पन्न भएको छ। अधिवेशनले प्रवासी नेपालीका हक–अधिकार, श्रमिक संरक्षण र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको आयोजकले बताए।
शुक्रबार साउदीको राजधानी रियादमा आयोजित अधिवेशन घण्टी बजाएर सुरु गरिएको थियो। अधिवेशनले प्रेम आचार्यको अध्यक्षतामा भूपाल भण्डारीलाई सन् २०२६–२०२८ कार्यकालका लागि सर्वसम्मत सभापतिमा चयन गरेको आयोजकले जानकारी दिए।
नवनिर्वाचित कार्यसमितिमा उपसभापतिमा पद्मबहादुर थापा क्षेत्री, सचिवमा नरबहादुर खतिवडा, सहसचिवमा नेत्र न्यौपाने र कोषाध्यक्षमा नारायणप्रसाद भुसाल चयन भएका छन्। सदस्यहरूमा रविन अधिकारी, युवराज पाठक, अकल प्रधान (जुवेल), मिनबहादुर सुनार, राजेश परियार, सुभेष शर्मा पण्डित, लक्ष्मण पुरी, तीर्थ गौतम, मनोज लामिछाने थापा मगर र वितेन्द्र चौधरी चयन भएको आयोजकले बताए। यसरी १५ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो।
अधिवेशनले कानुनी सहायता तथा श्रमिक अधिकार संरक्षण, सूचना प्रवाह र डिजिटल प्लेटफर्म विस्तार, सामाजिक सुरक्षा र आपतकालीन सहयोग, मानसिक स्वास्थ्य र सामाजिक एकता, सीप विकास तथा पुनःस्थापनाको योजना र संगठन सुदृढीकरण तथा पारदर्शितामा केन्द्रित भएर काम गर्ने निर्णय गरेको छ।
आयोजकका अनुसार “नारामा मात्र होइन, व्यवहारमा परिवर्तन” भन्ने मूल भावनासहित संगठनको उद्देश्य साउदी अरेबियामा रहेका नेपालीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी का विचार र अभियानसँग जोड्नु, प्रवासी नेपालीका समस्या र अधिकारका विषयमा आवाज उठाउनु, सुशासन र पारदर्शिताको प्रवर्द्धन गर्नु तथा आपतकालीन अवस्थामा समन्वय र सहयोग गर्नु रहेको छ। साथै प्रवासी अनुभवलाई नेपालको विकासमा योगदान गराउने लक्ष्य पनि राखिएको बताइयो।
कार्यक्रममा नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेती, फिजा साउदी अरेबिया अध्यक्ष विष्णु घिमिरे, पत्रकारहरू, भर्चुअल माध्यमबाट केन्द्रीय तहका नेताहरू तथा पार्टीप्रति आस्था राख्ने नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले बताए। हालसम्म संगठनमा चार हजारभन्दा बढी क्रियाशील सदस्य रहेको पनि जानकारी दिइयो।
अधिवेशनमा सहभागी वक्ताहरूले दोस्रो अधिवेशनसम्म योगदान पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै पार्टीको विधि–विधान पालना गर्दै श्रमिक नेपालीहरूको पक्षमा निडर, स्पष्ट र प्रभावकारी रूपमा उभिनुपर्ने बताए। उनीहरूले नयाँ कार्यसमितिले जिम्मेवार, सक्रिय र उपलब्धिमूलक भूमिका खेल्ने अपेक्षा गरिएको पनि बताए।
प्रतिक्रिया