जापानमा आकस्मिक संसदीय निर्वाचनको जोखिम उठाएकी प्रधानमन्त्री सानाए ताकाइचीले भारी बहुमतसहित ऐतिहासिक जित हासिल गरेकी छन्। सत्ता सम्हालेको केही महिनामै उनले संसद विघटन गरेर चुनावमा जाने साहसी निर्णय लिएकी थिइन्, र त्यो दाउ अन्ततः सफल सावित भएको छ।
४६५ सिटको तल्लो सदनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले दुईतिहाइ नजिकको सिट जित्दै ‘सुपर बहुमत’ सुरक्षित गरेको जापानी सार्वजनिक प्रसारकले जनाएको छ। यो बहुमतका कारण अब सरकारलाई माथिल्लो सदनमा अवरोध आए पनि महत्वपूर्ण कानुन र नीतिगत निर्णय अघि बढाउन सजिलो भएको छ।
कडाकेको जाडोबीच सम्पन्न दुर्लभ जाडो निर्वाचनमा मतदाताको सहभागिता उल्लेखनीय रह्यो। प्रारम्भिक अनुमानअनुसार लिबरल डेमोक्रेटिक पार्टी र यसको गठबन्धन साझेदार इसिन पार्टीले मिलेर ठूलो बहुमत ल्याएका हुन्। अर्कोतर्फ ‘जापानीहरू पहिलो’ भन्ने नारासहित चुनाव लडेका अतिवादी दलले सिट संख्या बढाए पनि अपेक्षित लक्ष्यसम्म पुग्न सकेनन्।
नतिजा सार्वजनिक भएपछि टोकियोस्थित पार्टी मुख्यालयबाट प्रतिक्रिया दिँदै प्रधानमन्त्री ताकाइचीले गठबन्धन सरकार निरन्तर रहने र ठूलो मन्त्रिपरिषद् फेरबदल नगर्ने स्पष्ट पारिन्। उनले सरकारको प्राथमिकता आर्थिक अनुशासन, दीर्घकालीन वित्तीय स्थायित्व र राष्ट्रिय सुरक्षामा केन्द्रित हुने बताइन्।
जापानी राजनीतिक परम्पराअनुसार विजयी उम्मेदवारको नाममा कागजी फूल चढाइन्छ। यसपटक पार्टी कार्यालयमा सजिएका रातो कागजी फूलले ताकाइचीको जित कति ठूलो थियो भन्ने दृश्यात्मक रूपमा देखाइरहेको थियो।
अन्तर्राष्ट्रिय स्तरमा पनि उनको जितको प्रतिक्रिया आएको छ। ताइवानका राष्ट्रपति लाइ चिङ–तेले बधाई दिँदै इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र समृद्धिका लागि सहकार्यको अपेक्षा व्यक्त गरे। ताइवानप्रति ताकाइचीको स्पष्ट समर्थनका कारण चीनसँग जापानको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ।
यसअघि उनले चीनद्वारा ताइवानमाथि आक्रमण भए जापानले सैन्य प्रतिक्रिया दिन सक्ने संकेत गरेकी थिइन्, जसले बेइजिङसँग ठूलो कूटनीतिक विवाद जन्माएको थियो। त्यसको प्रतिक्रियामा चीनले जापानी समुद्री खाद्य पदार्थ आयातमा प्रतिबन्ध, दुर्लभ खनिज निर्यातमा कडाइ र आफ्ना नागरिकलाई जापान यात्रा नगर्न चेतावनी दिएको थियो।
सुरक्षाको सवालमा ताकाइचीको नीति कडा मानिन्छ। चीन र उत्तर कोरियाबाट बढ्दो चुनौतीबीच उनले जापानको रक्षा क्षमता विस्तार र अन्तर्राष्ट्रिय प्रभाव बढाउने एजेन्डासहित जनमत मागेकी थिइन्। अमेरिकाले आफ्नो रणनीतिक ध्यान पश्चिमी गोलार्धतर्फ मोडिरहेको सन्दर्भमा जापानले क्षेत्रीय सुरक्षामा ठूलो भूमिका खेल्नुपर्ने धारणा उनले अघि सारेकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत ताकाइचीलाई शक्तिशाली र दृढ नेतृ भन्दै खुलेर समर्थन जनाएका थिए। उनीहरूले मार्च महिनामा वासिङ्टनमा भेट गर्ने तय भएको छ। सामान्यतया अमेरिकी राष्ट्रपतिले विदेशी चुनावमा समर्थन जनाउने चलन कम भए पनि ट्रम्पले यसअघि पनि यस्ता उदाहरण प्रस्तुत गर्दै आएका छन्।
ताकाइचीले चुनावअघि यदि गठबन्धनले बहुमत गुमाए आफू पदबाट हट्ने घोषणा गरेकी थिइन्। तर परिणाम उल्टो आयो—लिबरल डेमोक्रेटिक पार्टीले युद्धपछिको जापानी राजनीतिमा लामो समयदेखि कायम रहेको आफ्नो प्रभुत्वलाई अझ बलियो बनायो।
पार्टीमाथि लाग्दै आएका घोटाला र पछिल्ला वर्षका चुनावी झड्काबीच पनि ताकाइचीको व्यक्तिगत लोकप्रियता उच्च देखिएको छ। मोटरसाइकल चलाउने र हेभी मेटल ड्रम बजाउने नेतृका रूपमा परिचित उनी धेरै मतदाताका लागि पुरुषप्रधान जापानी राजनीतिमा नयाँ र फरक विकल्प बनेकी छन्।
उनको “काम, काम, काम, काम र काम” भन्ने नारा वर्षकै चर्चित अभिव्यक्ति बन्यो। संसदमा प्रयोग गर्ने गुलाबी पेनदेखि महँगो कालो छालाको ह्यान्डब्यागसम्म सामाजिक सञ्जालमा भाइरल भए। सामाजिक सञ्जालमा उनका अनुयायी लाखौँको संख्यामा पुगेका छन्, र सर्वेक्षणअनुसार युवामध्ये ठूलो हिस्सा उनको समर्थनमा देखिएको छ।
आकस्मिक चुनावको जोखिम उठाएर गरिएको यो राजनीतिक चालले अन्ततः सानाए ताकाइचीलाई जापानको सबैभन्दा शक्तिशाली र प्रभावशाली नेतृको रूपमा स्थापित गरेको छ।











प्रतिक्रिया