अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प ले इरानलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। उनले अमेरिकी नौसैनिक शक्तिको एक विशाल युद्धपोत बेडा इरानतर्फ तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। ट्रम्पका अनुसार यो बेडा ठूलो शक्ति, उत्साह र स्पष्ट उद्देश्यका साथ अघि बढिरहेको छ र आवश्यकता परेमा छिटो र हिंसात्मक सैन्य कारबाही गर्नसमेत सक्षम र तयार छ।
ट्रम्पले सार्वजनिक गरेको सन्देशमा उक्त युद्धपोत समूह यसअघि भेनेजुएलातर्फ पठाइएको अमेरिकी नौसैनिक समूहभन्दा पनि ठूलो रहेको उल्लेख गरेका छन्। यो बेडाको नेतृत्व शक्तिशाली विमानवाहक युद्धपोत युएसएस अब्राहम लिंकन ले गरिरहेको उनले बताएका छन्।
उनले इरानलाई छिट्टै वार्ताको टेबलमा आउन आग्रह गर्दै सबै पक्षका लागि निष्पक्ष र न्यायोचित सम्झौता गर्नुपर्ने बताएका छन्। ट्रम्पले विशेष जोड दिँदै भनेका छन् कि इरानसँग कुनै पनि हालतमा परमाणु हतियार हुनु हुँदैन। उनका अनुसार समय अत्यन्त सीमित हुँदै गएको छ र ढिलाइले अवस्था अझ गम्भीर बन्न सक्छ।
ट्रम्पले यसअघि पनि इरानलाई सम्झौता गर्न चेतावनी दिएको स्मरण गराउँदै भनेका छन् कि इरानले त्यसबेला सम्झौता नगरेपछि “अपरेसन मिडनाइट ह्यामर” नामक ठूलो सैन्य कारबाही भएको थियो, जसले इरानमा व्यापक विनाश गर्यो। उनले चेतावनी दिँदै भनेका छन् कि यदि फेरि सम्झौता नगरेमा आगामी आक्रमण अझै धेरै विनाशकारी हुनेछ र त्यस्तो अवस्था नदोहो¥याउन इरानले गम्भीर निर्णय लिनुपर्नेछ।
यो चेतावनीसँगै इरान र अमेरिकाबीचको तनाव फेरि चुलिएको देखिएको छ। मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य गतिविधि बढ्दै जाँदा क्षेत्रीय सुरक्षा, कूटनीति र अन्तर्राष्ट्रिय राजनीतिमा यसको गहिरो प्रभाव पर्न सक्ने विश्लेषकहरूको भनाइ छ।
प्रतिक्रिया