ट्रम्पद्वारा ट्यारिफ स्थगन, आर्कटिक क्षेत्रमा अमेरिकी रणनीति स्पष्ट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर अटलान्टिक सन्धि संगठन (नाटो) सँगको उच्चस्तरीय छलफलपछि ग्रिनल्याण्ड तथा समग्र आर्कटिक क्षेत्रलाई केन्द्रमा राखेर “भविष्यको सम्झौता” को प्रारम्भिक खाका तय भएको दाबी गरेका छन् । यही समझदारीका आधारमा फेब्रुअरी १ देखि लागू गर्ने भनिएका नयाँ व्यापारिक कर (ट्यारिफ) हाललाई स्थगित गरिएको उनले बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा राष्ट्रपति ट्रम्पले नाटोका महासचिव मार्क रुटेसँग भएको भेटघाट अत्यन्तै सकारात्मक र परिणाममुखी भएको उल्लेख गरेका छन् । उनका अनुसार उक्त छलफलबाट ग्रिनल्याण्ड र आर्कटिक क्षेत्रको सुरक्षा, प्रभाव र सहकार्यसम्बन्धी साझा समझदारी निर्माण भएको छ । “यदि यो सम्झौता अन्तिम रूप लिन्छ भने यो संयुक्त राज्य अमेरिका मात्र होइन, नाटोका सबै सदस्य राष्ट्रका लागि ऐतिहासिक र लाभदायक हुनेछ,” ट्रम्पले उल्लेख गरेका छन् । यही समझदारीका कारण फेब्रुअरी १ देखि लागू गर्ने भनिएका ट्यारिफहरू लागू नगरिने निर्णय गरिएको उनको भनाइ छ ।
स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ट्रम्पले प्रस्तावित सम्झौताको खाका “धेरै हदसम्म तयार भइसकेको” दाबी गरे ।
“यो सम्झौताले हामीलाई आवश्यक पर्ने सबै रणनीतिक पक्ष समेट्छ,” उनले भने, “केही प्राविधिक प्रक्रिया बाँकी छन्, तर वार्ता निकै अगाडि बढिसकेको छ ।” उनले ग्रिनल्याण्डसँग सम्बन्धित ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबारे पनि थप छलफल भइरहेको जानकारी दिए । यस विषयमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकफले वार्ताको नेतृत्व गर्ने र प्रत्यक्ष रूपमा राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने व्यवस्था गरिएको छ ।
नाटोले पनि ग्रिनल्याण्ड र आर्कटिक क्षेत्रसम्बन्धी छलफलको पुष्टि गरेको छ । नाटोकी प्रवक्ता एलिसन हार्टका अनुसार यी वार्ताहरूको मूल उद्देश्य ग्रिनल्याण्डमा रूस र चीनले आर्थिक वा सैन्य प्रभाव जमाउन नपाउने सुनिश्चित गर्नु हो ।
उनका अनुसार डेनमार्क, ग्रिनल्याण्ड र संयुक्त राज्य अमेरिकाबीच थप वार्ताहरू अघि बढ्नेछन् । ती वार्ताहरू आर्कटिक क्षेत्रका सात नाटो सदस्य राष्ट्रहरूको संयुक्त प्रयासमार्फत सुरक्षा मजबुत बनाउने दिशामा केन्द्रित हुनेछन् ।
यसैबीच, ग्रिनल्याण्डभित्र भने अमेरिकी पहलप्रति असन्तोष देखिएको छ । राजधानी नूकमा आयोजित प्रदर्शनमा स्थानीय नागरिकहरूले “ग्रिनल्याण्ड ग्रिनल्याण्डवासीका लागि हो” भन्ने नारा लगाउँदै अमेरिकी चासोप्रति विरोध जनाएका छन् । तर अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार संयुक्त राज्य अमेरिका र नाटोका लागि ग्रिनल्याण्ड अब केवल टापु मात्र नभई आर्कटिक क्षेत्रमा शक्ति सन्तुलन कायम राख्ने केन्द्रबिन्दु बन्दै गएको छ । रूस र चीनको बढ्दो गतिविधिलाई रोक्ने उद्देश्यले अमेरिका ग्रिनल्याण्डलाई दीर्घकालीन सुरक्षा रणनीतिको महत्वपूर्ण अंगका रूपमा अघि सारिरहेको देखिन्छ ।
विश्लेषकहरूका अनुसार ट्यारिफ स्थगन आर्थिक निर्णयभन्दा बढी भूराजनीतिक रणनीतिको हिस्सा हो । ग्रिनल्याण्ड र आर्कटिक क्षेत्रमा सहकार्य सुदृढ गर्न अमेरिका अस्थायी रूपमा व्यापारिक दबाब घटाउन तयार भएको संकेत यसबाट मिल्छ ।व्हाइट हाउसले भने सम्झौताका विस्तृत बुँदाहरू वार्ता जारी रहँदै क्रमशः सार्वजनिक गरिने जनाएको छ । अहिलेका लागि ट्रम्प प्रशासनले यसलाई “रणनीतिक सहकार्यको प्रारम्भिक रूपरेखा” का रूपमा मात्र व्याख्या गरेको छ ।
प्रतिक्रिया