विद्युतीय सवारी निर्माता टेस्लाका विवादास्पद प्रमुख कार्यकारी अधिकृत एलन मस्क ले टेस्लाको ‘फुल सेल्फ–ड्राइभिङ’ (FSD) प्रणालीको मूल्य संरचनामा ठूलो परिवर्तनको घोषणा गरेका छन्। यो परिवर्तनले टेस्लाको समग्र व्यापार मोडेल नै उल्ट्याउन सक्ने आँकलन गरिएको छ।
टेस्लाले सन् २०२६ फेब्रुअरी १४ देखि FSD प्रविधि एकपटकको भुक्तानीमा बिक्री नगर्ने निर्णय गरेको छ। मार्केटवाचका अनुसार अब यो प्रणाली केवल सब्सक्रिप्सन सेवाका रूपमा मात्र उपलब्ध हुनेछ, जसको शुल्क मासिक ९९ अमेरिकी डलर तोकिएको छ। यसअघिसम्म ग्राहकले ठूलो रकम एकैचोटि तिरेर FSD खरिद गर्न सक्थे। एक समय यसको मूल्य १५ हजार डलरसम्म पुगेको थियो भने पछि घटाएर ८ हजार डलर बनाइएको थियो। तर मस्कले सामाजिक सञ्जाल ‘एक्स’मार्फत फेब्रुअरी १४ पछि एकमुष्ट खरिदको विकल्प पूर्ण रूपमा हटाइने स्पष्ट पारेका छन्।
प्रविधि क्षेत्रमा मासिक वा वार्षिक सदस्यतामा आधारित आम्दानी मोडेल सामान्य मानिए पनि मोटर उद्योगमा यस्तो अभ्यास त्यति प्रचलित छैन। तर FSD को एकमुष्ट बिक्री अपेक्षाअनुसार लोकप्रिय हुन नसकेपछि टेस्लाले मासिक शुल्कको बाटो रोजेको देखिन्छ। यसले FSD लाई धेरै प्रयोगकर्ताका लागि पहुँचयोग्य बनाउने र टेस्लाका लागि दीर्घकालीन रूपमा बढी नाफामूलक हुन सक्ने विश्लेषकहरूको भनाइ छ।
एलन मस्कले लामो समयदेखि FSD लाई टेस्लाको भविष्यको मेरुदण्डका रूपमा चित्रित गर्दै आएका छन्। रोबोट्याक्सी (स्वचालित ट्याक्सी) जस्ता उनका महत्वाकांक्षी योजनाहरू पनि यही प्रविधिसँग जोडिएका छन्। त्यसैले यो प्रणालीलाई आर्थिक रूपमा जोगाइराख्न सब्सक्रिप्सन मोडेल नै एकमात्र उपाय भएको उनी निकट स्रोतहरू बताउँछन्।
टेस्लाका लागि सन् २०२५ त्यति सहज रहेन। मस्कको सरकारी संलग्नतासम्बन्धी विवाद र सवारी बिक्री घट्दै जानुले कम्पनीलाई दबाबमा पारेको थियो। FSD सम्बन्धी घोषणापछि टेस्लाको सेयर मूल्य पनि १.८ प्रतिशतले घटेर बन्द भएको सीएनबीसीले जनाएको छ।
अब FSD लाई सब्सक्रिप्सन–मात्र बनाउँदै टेस्लाले स्थिर र दोहोरिने आम्दानीको स्रोत तयार पार्न खोजेको देखिन्छ। मार्केटवाचका अनुसार मस्कको करिब १ ट्रिलियन डलर बराबरको क्षतिपूर्ति प्याकेजसँग जोडिएको एक प्रमुख लक्ष्य भनेको १ करोड सक्रिय FSD सब्सक्रिप्सन पुर्याउनु हो।
यद्यपि सबै ग्राहक यस परिवर्तनबाट सन्तुष्ट हुनेछन् भन्ने छैन। पूर्ण स्वचालित ड्राइभिङ अझै व्यवहारमा पूर्ण रूपमा सफल भइनसकेको अवस्थामा अनिश्चित अवधिका लागि मासिक शुल्क तिर्न केही उपभोक्ता हिच्किचाउन सक्छन्। यो निर्णयले टेस्लाको भविष्य मस्कले भनेझैँ उज्यालो बनाउँछ वा बनाउँदैन, त्यो भने समयले नै देखाउनेछ।
प्रतिक्रिया