इरानले अचानक आफ्नो हवाई क्षेत्र बन्द गरेपछि मध्यपूर्वमा तनाव नयाँ स्तरमा पुगेको छ। इरानी नागरिक उड्डयन प्राधिकरणले बुधबार राति NOTAM (नोटिस टु एयरमेन) जारी गर्दै अन्तर्राष्ट्रिय अनुमति नलिएका सबै उडानका लागि इरानको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको हो। उक्त सूचना करिब दुई घण्टाभन्दा बढी समयका लागि लागू गरिएको बताइएको छ।
फ्लाइट ट्र्याकिङ वेबसाइटहरूका अनुसार दर्जनौँ अन्तर्राष्ट्रिय विमानहरूलाई इरानी हवाई क्षेत्रमा प्रवेश गर्न नदिइएको छ भने केही उडानहरू इरानलाई छलेर वैकल्पिक मार्गबाट गन्तव्यतर्फ मोडिएका छन्। यस कदमलाई क्षेत्रीय सुरक्षा अवस्था अत्यन्त संवेदनशील बन्दै गएको संकेतका रूपमा हेरिएको छ।
यस NOTAM जारी भएको केही मिनेटमै यरुशलम र कतारस्थित अमेरिकी दूतावासहरूले सुरक्षा सतर्कता सूचना जारी गरेका छन्। ती सूचनामा ‘अत्यधिक सावधानी अपनाउन’ आग्रह गर्दै कतारको अल–उदेद एयर बेसतर्फ गैर–आवश्यक यात्रामा कडाइ गरिएको छ। अल–उदेद खाडी क्षेत्रको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा हो, जहाँ हजारौँ अमेरिकी सैनिक तैनाथ छन्।
यसैबीच, बेलायतको विदेश मन्त्रालय (FCDO) ले इजरायलतर्फ ‘अत्यावश्यक बाहेक सबै यात्रा नगर्न’ सल्लाह जारी गरेको छ। मन्त्रालयले चेतावनी दिँदै भनेको छ— “क्षेत्रीय तनाव अत्यन्त बढेको छ। अवस्था झन् चर्किएमा उडान अवरोध, सुरक्षा जोखिम र अप्रत्याशित प्रभाव पर्न सक्छ।”
अमेरिकी अधिकारीहरूले पनि अवस्था गम्भीर भएको संकेत दिएका छन्। एक अमेरिकी अधिकारीले रोयटर्ससँग कुरा गर्दै बढ्दो तनावका कारण रक्षा मन्त्रालयले आफ्ना केही कर्मचारीको स्थानान्तरण गरिरहेको बताएका छन्। एक पश्चिमी सैन्य अधिकारीले भने— “सबै संकेतले अमेरिकी आक्रमण नजिकिँदै गरेको देखाउँछन्, तर यो प्रशासनको रणनीति नै अनिश्चितता सिर्जना गरेर सबैलाई सतर्क राख्नु पनि हो।”
NOTAM जारी हुनुअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसबाट पत्रकारहरूसँग कुरा गर्दै इरानमा प्रदर्शनकारीमाथि भइरहेको हत्या रोकिएको दाबी गरेका थिए। “हामीलाई विश्वसनीय स्रोतबाट भनिएको छ कि इरानमा हत्या रोकिँदैछ, र अब मृत्युदण्डको कुनै योजना छैन,” ट्रम्पले भने। “अब वास्तविकता के हुन्छ, हामी हेर्नेछौँ।”
इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे सोध्दा ट्रम्पले तत्काल निर्णय नभएको संकेत दिए। “हामी प्रक्रियालाई नियालिरहेका छौँ,” उनले भने, “हामीलाई अवस्थाबारे जानकारी राख्ने व्यक्तिहरूबाट निकै सकारात्मक विवरण दिइएको छ।”
इरानभित्र भने अवस्था अझै विस्फोटक छ। सर्वोच्च नेता अयातोल्लाह अली खामेनी नेतृत्वको शासन व्यापक आलोचनामा परेको छ। अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूका अनुसार आर्थिक संकट र राजनीतिक दमनविरुद्ध उठेको राष्ट्रव्यापी आन्दोलनमा हालसम्म ३ हजारभन्दा बढी नागरिक मारिएका छन्। इन्टरनेट अवरुद्ध, गिरफ्तारी, मृत्युदण्डको डर र बल प्रयोगले इरानभित्र आक्रोश अझै दबिएको छैन।
यसै कारण ट्रम्पले मंगलबार इरानी अधिकारीहरूसँग तय भएका सबै बैठक र वार्ता तत्कालका लागि रद्द गरेको घोषणा गरेका थिए। “जब हत्या रोकिन्छ, तब मात्र संवादको कुरा हुन्छ,” ट्रम्पको भनाइ थियो।
प्रतिक्रिया