अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिटिश प्रसारक बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन्। बीबीसीले सन् २०२१ जनवरी ६ मा दिएको ट्रम्पको भाषणलाई गलत तरिकाले सम्पादन गरी प्रसारण गरेको आरोप लगाउँदै उनले मानहानि, भ्रामक प्रस्तुति तथा अनुचित व्यापारिक अभ्यासको आरोप लगाएका हुन्।
सोमबार फ्लोरिडाको अदालतमा दायर गरिएको ३३ पृष्ठ लामो मुद्दामा बीबीसीले राष्ट्रपति ट्रम्पको “झुटो, बदनाम गर्ने, भ्रामक, उत्तेजक र दुर्भावनापूर्ण” चित्रण गरेको दाबी गरिएको छ। मुद्दामा उक्त कार्य सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले गरिएको “निर्लज्ज प्रयास” भएको उल्लेख छ।
ट्रम्पको आरोप अनुसार बीबीसीले जनवरी ६, २०२१ मा दिइएको उनको भाषणका दुई फरक–फरक भागलाई जोडेर एकै सन्देशजस्तो प्रस्तुत गर्यो, जसले उनले भनेको वास्तविक अर्थलाई जानाजानी विकृत बनायो। मुद्दामा बीबीसीले करिब एक घण्टाको अन्तरमा दिइएका भाषणका अंशहरू काटछाँट गरेर समर्थकहरूलाई “मार्च गर्न” र “ज्यान दिएर लड्न” उक्साएको जस्तो देखाउने गरी सम्पादन गरेको दाबी गरिएको छ।
ट्रम्पले मानहानिवापत ५ अर्ब डलर र अनुचित व्यापारिक अभ्यासवापत थप ५ अर्ब डलर गरी कुल १० अर्ब डलर क्षतिपूर्तिको माग गरेका छन्। बीबीसीले भने कानुनी रूपमा मुद्दाको सामना गर्ने जनाएको छ। “जारी कानुनी प्रक्रियाबारे हामी थप टिप्पणी गर्ने छैनौँ,” बीबीसीले संक्षिप्त विज्ञप्ति जारी गर्दै जनाएको छ।
बीबीसीले गत महिना उक्त भाषणको सम्पादनलाई लिएर ट्रम्पसँग माफी मागेको थियो। तर, सार्वजनिक कोषबाट सञ्चालित बीबीसीले ट्रम्पलाई बदनाम गरेको आरोप अस्वीकार गर्दै आएको छ। बीबीसीका अध्यक्ष सामिर शाहले उक्त सम्पादनलाई “निर्णयमा भएको गल्ती” भनेका थिए, जसपछि बीबीसीका शीर्ष कार्यकारी र समाचार प्रमुखले पदबाट राजीनामा दिएका थिए।
विवादित भाषण अमेरिकी कंग्रेसले तत्कालीन राष्ट्रपति–निर्वाचित जो बाइडेनको २०२० को निर्वाचन विजय प्रमाणित गर्न लागिरहेको बेला ट्रम्पका समर्थकहरूले अमेरिकी क्यापिटल भवनमा आक्रमण गर्नुअघि दिइएको थियो। ट्रम्पले सो निर्वाचन आफूबाट “चोरी गरिएको” झुटो दाबी गर्दै आएका थिए।
बीबीसीले सन् २०२४ को अमेरिकी चुनाव हुन केही दिनअघि “Trump: A Second Chance?” शीर्षकको एक घण्टे वृत्तचित्र प्रसारण गरेको थियो। सो वृत्तचित्रमा जनवरी ६ को भाषणका दुई फरक अंशबाट तीन उद्धरण जोडेर एउटै भनाइजस्तो देखाइएको थियो। त्यस क्रममा ट्रम्पले समर्थकहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेको अंश भने हटाइएको थियो।
सोमबार ओभल अफिसमा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले बीबीसीले “मेरो मुखमा मैले नबोलेका शब्द हालिदियो” भन्दै आक्रोश व्यक्त गरे। “मैले देशभक्ति र राम्रो कुरा बोलेको थिएँ, तर ती कुरा उनीहरूले देखाएनन्। बरु मैले कहिल्यै नबोलेका भयानक शब्दहरू जोडिदिए,” ट्रम्पले भने।
यो मुद्दा फ्लोरिडामा दायर गरिएको छ। बेलायतको अदालतमा मुद्दा हाल्ने समयसीमा भने एक वर्षभन्दा अघि नै सकिएको बताइएको छ। कानुनविद्हरूले अमेरिका भित्र उक्त वृत्तचित्र औपचारिक रूपमा प्रसारण नभएकाले अमेरिकी अदालतमा मुद्दा अघि बढाउन चुनौती हुनसक्ने औँल्याएका छन्।
तर मुद्दामा बीबीसीको सामग्री अमेरिकाबाट पनि हेर्न सकिने दाबी गरिएको छ। ट्रम्प पक्षका अनुसार बीबीसीको ‘पानोरामा’ श्रृंखला अन्तर्गतको उक्त वृत्तचित्र ‘ब्रिटबक्स’ नामक सदस्यतामा आधारित स्ट्रिमिङ प्लेटफर्म वा भर्चुअल प्राइभेट नेटवर्क (VPN) प्रयोग गरी अमेरिकामा पनि पहुँचयोग्य छ।
१०३ वर्ष पुरानो बीबीसी बेलायतको राष्ट्रिय संस्थाका रूपमा चिनिन्छ। प्रत्यक्ष टेलिभिजन वा बीबीसी सामग्री हेर्ने प्रत्येक घरधुरीले वार्षिक १७४.५० पाउन्ड लाइसेन्स शुल्क तिर्नुपर्ने व्यवस्था छ। निष्पक्ष रहनुपर्ने चार्टरद्वारा बाध्य बीबीसीमाथि प्रायः वामपन्थी र दक्षिणपन्थी दुवै पक्षबाट कडा निगरानी र आलोचना हुँदै आएको छ।
प्रतिक्रिया