बुटवल, ८ मंसिर । प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाईंको जन्मदिवसका सन्दर्भमा आयोजित चियापान कार्यक्रममा सञ्चार तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुले बोल्दै अबको पत्रकारिताले परिवर्तन र युवापुस्ताको चाहनालाई आत्मसात गरी अगाडि बढ्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले जेनजी आन्दोलनपछि मुलुक झनै अन्यौलमा परेको चर्चा गर्दै राजनीतिक दलहरुले नै शासनसत्ता सञ्चालन गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले अहिलेको सरकारबाट मुलुकले सही निकास पाउन नसक्ने भन्दै जिम्मेवार राजनीतिक दलहरुले राष्ट्रको आवश्यकता र जनताको चाहना अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार गोविन्द खनालले मुलुकमा अझैपनि विद्रोह र हिंसाको संकेत देखिएको चर्चा गर्दै सुशासन र शान्तिका लागि सार्थक प्रयासको खाँचो रहेको बताए ।
अग्रज पत्रकार दामोदर खनालले मुलुकमा द्वन्द्व र हिंसाको स्थिति विद्यमान रहिरहनु समस्याको सही पहिचान गरी समाधानको दिशा अवलम्बन गर्न नसकेको कारण औल्याए ।
राष्ट्रिय समाचार समिति (रासस) लुम्बिनी प्रदेशका प्रमुख भरत केसीले समाजमा द्वन्द्व र हिंसा भड्किनुमा पत्रकारिताको पनि त्रुटि रहेको बताए ।
समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले समाजको अन्तरविरोध र बाह्य परिस्थितिको सही मूल्यांकन गर्न नसक्दाको परिणति भदौ २३ र २४ गतेको घटना भएको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव सिपी खनालले अबको पत्रकारिताले परिवर्तित सन्दर्भ र आवश्यकतालाई आत्मसात गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा दैनिकपत्र राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, सल्लाहकार सम्पादक ऋषि आजाद, सामाजिक व्यक्तित्व कृष्ण भुसाल ‘दीप’, गंगाधर लुईटेल, युवा पत्रकार तेजेन्द्र केसी, रुद्रहरि कुँवर, विनोद परियार, दैनिकपत्र डटकमका निर्देशक ई. सन्देश चापागाईं, कविन्द्र नेपाल, केशव भण्डारी, सुमित्रा चापागाईं, राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीका सचिव कृष्ण रणपाल, पूजा पन्थी, शिवहरि भण्डारीलगायतले बोल्दै पछिल्लो समयमा पत्रकारिता लगायतका विविध क्षेत्रमा समेत चुनौती थपिएको हुँदा पत्रकारिताले मुलुकलाई सही दिशामा डो¥याउन सार्थक भूमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया