अमेरिकी अर्थतन्त्रमा केही कुरा एकअर्कासँग मेल खाइरहेको छैन, र यसले मुद्रास्फीति नियन्त्रण र श्रम बजारलाई स्थिर राख्ने जिम्मेवारी पाएका फेडरल रिजर्भका नीतिनिर्माताहरूलाई चिन्तित बनाइरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक आर्थिक नीतिहरूको दीर्घकालीन प्रभावबारे अनिश्चितताका कारण अमेरिकी कम्पनीहरूले यस वर्ष भर्तीको गति तीव्र रूपमा घटाएका छन्। देशले जून र अगस्टमा रोजगार गुमाएको थियो, र सेप्टेम्बरसम्मको तीन महिनाको औसत रोजगार वृद्धि ६२ हजारमा झरेको श्रम मन्त्रालयका तथ्यांकले देखाउँछ।
यता, श्रमिकको उत्पादनशीलता उच्च छ र अर्थतन्त्रमा उत्पादित वस्तु तथा सेवाको समग्र मूल्य (जीडीपी) बलियो छ। एउटा तर्फ अर्थतन्त्र विस्तार भइरहेझैँ देखिन्छ, अर्कोतर्फ श्रम बजार कमजोर बन्दै गएको यो विरोधाभासले फेडरल रिजर्भका नीतिनिर्माताहरूलाई निर्णय गर्न कठिन बनाइदिएको छ कि अर्थतन्त्रलाई अझ चिसो पार्नुपर्ने हो कि तातो राख्नुपर्ने हो। फेडका अधिकारीहरूले अक्टोबरमा भएको बैठकको विवरणमा लेखेका छन्, “मजबुत आर्थिक वृद्धि र कमजोर रोजगारीबीचको अन्तरले नीतिगत निर्णयलाई असाधारण रूपमा चुनौतीपूर्ण बनाएको छ।”
उपभोक्ता खर्च मजबुत छ, कम्पनीहरूले कृत्रिम बौद्धिकता (एआई) मा ठूलो लगानी गरिरहेका छन्, ब्याजदर पनि घट्न थालेका छन्—यी सबले सामान्य अवस्थामा श्रम माग बढाउने थियो। तर कम्पनीहरू नयाँ प्रविधिमा लगानी गर्दा प्रायः अन्य खर्च कटौती गर्छन्, जसमा भर्ती पनि पर्छ। अर्थशास्त्रीहरूको मूल्यांकन अनुसार एआईमा भइरहेको लगानीले अहिलेका लागि भर्तीलाई पछाडि पारेको छ, र यो प्रवृत्ति आगामी वर्षसम्म रहने सम्भावना छ। यता, ट्रम्प प्रशासनले व्यापार र आप्रवासन नीति कडा बनाएको कारण श्रम आपूर्ति र माग दुवैमा अवरोध उत्पन्न भएको विशेषज्ञहरू बताउँछन्।
यथार्थ यति हो कि अमेरिकी श्रम बजार अहिले अड्किएको जस्तै देखिन्छ—रोजगारी बढ्दैन, तर छँदाछँदै ठूलो संख्यामा छँटनी पनि भइरहेको छैन। अक्सफोर्ड इकोनोमिक्सका मुख्य अर्थशास्त्री रायन स्वीटका अनुसार, “अगामी वर्षको मुख्य विषय नै ‘जबलस एक्स्पान्सन’—रोजगारी बिनै भइरहेको आर्थिक विस्तार—कसरी सम्हाल्ने भन्ने हुनेछ।”
रोजगारी बिना बढेको अर्थतन्त्र अत्यन्तै जोखिमपूर्ण मानिन्छ। कुनै पनि सानो झट्काले अर्थतन्त्रलाई मन्दीमा लैजान सक्छ किनकि श्रम बजार अर्थतन्त्रको पहिलो सुरक्षा पंक्ति हो। फेड गभर्नर क्रिस्टोफर वालरले हालैको भाषणमा भनेका छन्, “अब केही न केही त बदलिन्छ—या जीडीपी श्रम बजारको गति जस्तै सुस्त हुन्छ, वा श्रम बजार फेरि बलियो हुन्छ। बीचको अवस्था लामो समय रहन सक्दैन।”
यदि जीडीपी बलियो रहिरह्यो भने फेडलाई ब्याजदर घटाउन हिचकिचाहट बढ्छ, किनकि तीव्र आर्थिक विस्तारले मुद्रास्फीति बढ्ने जोखिम रहन्छ। यही कारण डलास फेड अध्यक्ष लोरी लोगानले भनेकी छन् कि मुद्रास्फीति तीव्र रूपमा गिरावट नआएसम्म वा श्रम बजार चाँडै कमजोर नदेखिएसम्म डिसेम्बरमा फेरि ब्याजदर घटाउन आफू तयार नहुने। उनले थपे, “अहिले देखिँदै गएको संकेतले नीति खासै कडा अवस्थामै छैन भन्ने देखाउँछ।”
अमेरिकी अर्थतन्त्र अहिले दुई दिशामा तानिएको छ—जीडीपी बलियो छ, उत्पादनशीलता उच्च छ, बजारमा प्रविधि–आधारित लगानी बढेको छ; तर रोजगारी सुस्त छ, व्यवसायहरू अनिश्चितताले सतर्क छन्, र नीतिगत वातावरणले श्रम बजारलाई दबाइरहेको छ। यही द्वन्द्वले २०२६ सम्म अमेरिकी अर्थतन्त्रलाई थप अनिश्चिततामा राख्ने विश्लेषणहरू भइरहेका छन्।
प्रतिक्रिया