मध्य अफ्रिकी देश क्यामरूनका राष्ट्रपति पल बिया ले फेरि एकपटक पदको शपथ लिएका छन्। ४३ वर्षदेखि सत्तामा रहेका ९२ वर्षीय बिया अब लगातार आठौँ कार्यकालका लागि सात वर्षसम्म देशको नेतृत्व गर्नेछन्। यस हिसाबले उनी बाँचुन्जेल ९९ वर्षको उमेरसम्म पनि सत्तामा रहने सम्भावना देखिन्छ।
शपथग्रहण समारोहमा बियाले पछिल्ला विरोध प्रदर्शनमा मारिएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै देशमा अशान्ति फैलाउन खोज्ने “गैरजिम्मेवार राजनीतिज्ञहरू” लाई आरोप लगाए। उनले व्यवस्था र स्थिरता कायम गर्न राज्य प्रतिबद्ध रहने बताएका छन्। बियाको भनाइमा, “देशलाई अराजकताको दिशातिर धकेल्नु व्यर्थ छ, व्यवस्था कायम रहनेछ।”
गत महिना सम्पन्न राष्ट्रपति चुनावमा धाँधली गरिएको आरोप उठेको थियो, तर बियाले निर्वाचन प्रक्रियालाई “सन्तोषजनक” भनेका छन्। यद्यपि, निर्वाचनको समयमा देशभर व्यापक विरोध प्रदर्शन भए, जसमा कम्तीमा १४ जनाको मृत्यु र १२ सयभन्दा बढी व्यक्ति पक्राउ परेको क्यामरून राष्ट्रिय मानव अधिकार आयोगले जानकारी दिएको छ।
अक्टोबर १२ मा भएको मतदानमा बियाले ५३.७ प्रतिशत मत पाएका थिए भने उनका मुख्य प्रतिद्वन्द्वी इसा चिरोमा बाकरीले ३५.२ प्रतिशत प्राप्त गरे। बाकरीले आफू नै वास्तविक विजेता भएको दाबी गर्दै चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन्, तर सरकारले यी आरोप अस्वीकार गरेको छ।
ध्यान दिनलायक कुरा के छ भने, चिरोमा बाकरी पहिले बियाकै मन्त्री तथा निकट सहयोगी थिए। तर अहिले उनी विपक्षीको भूमिकामा उभिएर विशेषगरी युवाहरूलाई राजनीतिक परिवर्तनका लागि प्रेरित गर्दै आएका छन्।
सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र बनेको क्यामरूनमा बिया मुलुकका दोस्रो राष्ट्रपति बनेका हुन्। चार दशकभन्दा बढी समयदेखि सत्तामा रहेका बिया अहिले विश्वकै सबैभन्दा वृद्ध कार्यरत राष्ट्रपति मानिन्छन्।
प्रतिक्रिया