दुई वर्ष लामो रक्तपात, विनाश र आँसुका बीच अन्ततः एउटा आशाको उज्यालो किरण देखा परेको छ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौतामा हस्ताक्षर भएको खबरले मध्यपूर्व मात्रै होइन, विश्वभर राहतको महशुश गराएको छ। यो केवल दुई वैरी पक्षबीचको सम्झौता होइन, एक युगको घाउमा मलम लगाउने प्रयास हो।
७ अक्टोबर २०२३ को बिहान, जब हमासका लडाकूहरूले दक्षिण इजरायलमा हमला गरे र करिब १,२०० मानिसको ज्यान लिए, त्यस क्षणबाट क्षेत्रीय इतिहास फेरियो। त्यसपछि इजरायलले गाजामाथि सुरु गरेको प्रतिकारात्मक कारबाहीले पूरा क्षेत्रलाई बारुदको भट्टीमा परिणत गर्यो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६७ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ, जसमा २० हजार बालबालिका पनि छन्। बम वर्षा, नाकाबन्दी, अस्पतालहरूमा औषधिको अभाव र भोकमरीले गाजा मानवतावादी दु:खको प्रतीक बनेको छ।
युद्ध सुरु भएको दुई वर्षपछि जब सबैले शान्तिको सम्भावनामा विश्वास हराउँदै थिए, त्यही बेला डोनाल्ड ट्रम्प पुनः निर्णायक रूपमा सक्रिय भए। पुनः सत्तामा फर्किएपछि उनले तयार पारेको २०-बुँदे ‘गाजा शान्ति योजना’ सुरुमा असम्भव देखिएको थियो। तर कतार, इजिप्ट र टर्कीका मध्यस्थहरूको सहकार्यमा शर्म अल–शेखमा भएको वार्ताले इतिहास पल्टाइदियो। इजरायल र हमास दुवैले सहमति जनाउँदै पहिलो चरणमा हस्ताक्षर गरे, जसअनुसार सबै बन्धकहरूलाई छोडिनेछ र इजरायलले आफ्ना सैनिकहरू सहमत सीमासम्म फिर्ता गर्नेछ।
ट्रम्पले Truth Social मा लेखे, “यो शान्ति र स्थायित्वको दिशामा ऐतिहासिक कदम हो।” नेतन्याहूले यसलाई “इजरायलका लागि महान् दिन” भने। हमासले पनि जिम्मेवार वार्ताको परिणामका रूपमा सम्झौतामा सहमति जनाउँदै अमेरिकी राष्ट्रपति ट्रम्प र सम्लग्न देशहरूलाई सम्झौताका सबै बुँदा कार्यान्वयन गर्न आग्रह गरेको छ। यसले संकेत गर्छ कि दुवै पक्ष युद्धविरामको वास्तविकता स्वीकार्न तयार छन्।
तर यो सुरुवात मात्र हो, अन्त्य होइन। युद्धपछिका वास्तविक प्रश्नहरू अझै बाँकी छन् — गाजाको पुनर्निर्माण कसरी हुनेछ, मानवीय सहायता कति छिटो पुग्नेछ, र हमासले हतियार विसर्जन गर्ने ग्यारेन्टी कसरी सुनिश्चित गरिनेछ? इजरायलमा पनि नेतन्याहूको सरकारभित्रैबाट दबाब बढेको छ कि हमासलाई पूर्णरूपमा नष्ट नगरी सम्झौता गर्नु कमजोरी हो। यता हमासभित्र पनि कडा धारका समूहहरूले शान्ति सम्झौतालाई आत्मसमर्पणको रूपमा हेरेका छन्।
तर यथार्थ के हो भने अब दुबै पक्ष युद्धको बोझ थेग्न सक्ने अवस्थामा छैनन्। इजरायलले आन्तरिक राजनीतिक अस्थिरता भोगिरहेको छ, र गाजामा जिवनका आधारभूत संरचना ध्वस्त छन्। यस अवस्थामा शान्ति मात्रै विकल्प हो। यस सम्झौताले मानवीय सहायता खुला गर्ने, कैदी आदानप्रदानको बाटो खोल्ने र स्थायी युद्धविरामतर्फ अघि बढ्ने सम्भावना जगाएको छ।
कतार, इजिप्ट र टर्कीका मध्यस्थहरूले यो सहमतिको स्वागत गर्दै यसलाई गाजाको स्थायी शान्तितर्फको पहिलो कदम भनेका छन्। तर इतिहासले देखाएको छ — शान्ति सम्झौतामा हस्ताक्षर गर्न सजिलो हुन्छ, त्यसलाई व्यवहारमा रूपान्तरण गर्न कठिन। यदि यो सम्झौता स्थायी बन्ने हो भने, इजरायल र हमास दुबैले परस्पर दोषारोपणको राजनीतिभन्दा माथि उठ्नैपर्छ।
दुई वर्षदेखि चलेको युद्धले मानवीय संवेदना र नैतिकताको सीमाना परिक्षण गरेको छ। अब यदि यो सम्झौता टिक्न सक्यो भने, यो केवल गाजाको पुनर्निर्माण मात्र होइन, मध्यपूर्वमा स्थायित्व पुनःस्थापित गर्ने ऐतिहासिक मोड हुनेछ।
रगत, बारुद र प्रतिशोधको चक्रबाट बाहिर निस्कनुको एउटै उपाय शान्ति हो। ट्रम्पको मध्यस्थतामा भएको यो सम्झौता कागजमा मात्र सीमित नहोस्, व्यवहारमा पनि जीवन रक्षाको नारा बनोस् — यही आशा संसारले गरेको छ।
प्रतिक्रिया