हमास आक्रमणको दुई वर्ष : इजरायलमा शोक र स्मरण, गाजामा शान्ति वार्तामा सुस्त प्रगति
तेल अविभ / इजरायली जनताले शनिबार अक्टोबर ७, २०२३ को हमास आक्रमणको दुई वर्ष पुगेको दिन दुःख र सम्झनामा बिताए। सो दिन हमास लडाकूहरूले दक्षिण इजरायलमा हमला गरी करिब १,२०० जना मारिएका र २५१ जना बन्धक बनाइएका थिए।
सबैभन्दा गहिरो चोट लागेको स्थलमध्ये एक, नोभा सङ्गीत महोत्सव भएको ठाउँमा आज हजारौँ मानिसहरू भेला भए। फुल, मैनबत्ती र श्रद्धाञ्जलीसहितको स्मारकमा अँगालो मार्दै एकअर्कालाई सान्त्वना दिइरहेका दृश्य भावुक थिए। पूर्व बन्धक एली शाराबीले भने, “७ अक्टोबर २०२३ मा हाम्रो शान्त र खुशी जीवन एक्कासी नरकमा बदलियो। त्यो पीडा र क्षति प्रत्येक क्षण सँगै बोकिरहेको छु।”
यसैबीच, मिसरमा इजरायल र हमासबीच डोनाल्ड ट्रम्पको २०-बुँदे गाजा शान्ति योजनाबारे अप्रत्यक्ष वार्ता भइरहेको छ। हाम्रो गाजा संवाददाताका अनुसार केही सतर्क आशाका संकेत देखिए पनि, लामो युद्ध र बर्बादीले अधिकांश प्यालेस्टिनीहरू शान्ति पाउने आशामा अझै विश्वास गर्न सकिरहेका छैनन्।
हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार इजरायलको पछिल्लो सैन्य कारबाहीमा अहिलेसम्म ६७ हजार १७३ जनाको मृत्यु भइसकेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई गाजामा स्वतन्त्र रिपोर्टिङको अनुमति अझै छैन, जसले तथ्याङ्क र घटनाक्रमबारे स्वतन्त्र पुष्टि गर्न कठिन बनाइरहेको छ।
दुई वर्षअघि सुरु भएको संघर्ष अझै समाधानमा पुग्न सकेको छैन। स्मरण समारोहहरूमा सहभागीहरूले बन्धकहरूको सुरक्षित फर्काइ, हिंसा अन्त्य र दीर्घकालीन शान्तिको माग गरे। तर युद्धबिराम र स्थायी समाधानबारे सहमति अझै टाढै देखिन्छ।
इजरायल र हमासबीच चलिरहेको नयाँ शान्ति वार्ताको पहिलो चरण आज बिहान सकिएको छ। एक जना प्यालेस्टिनी अधिकारीले बीबीसीलाई जनाएअनुसार, इजिप्टको समुद्री रिसोर्ट शहर शर्म अल–शेखमा भएको बिहानको बैठक चार घण्टा लामो रह्यो र साँझ ७ बजे (स्थानीय समय)देखि अर्को सत्र सुरु हुने तय भएको छ।
वार्तामा इजिप्ट र कतारका मध्यस्थहरू सहभागी छन्। आजको छलफलमा पाँच प्रमुख विषयमा प्रारम्भिक रूपले कुरा भयो — युद्ध अन्त्य गर्ने सम्भावना, इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान, गाजाबाट इजरायली सेना फिर्ता गर्ने प्रक्रिया, मानवीय सहयोगका व्यवस्था र युद्धपछिको प्रशासनिक संरचना।
यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना अघि बढाउन ट्रम्प प्रशासनका मध्यपूर्व दूत स्टीभ विटकोफ र उनका ज्वाइँ जारेड कुश्नर बुधबार इजिप्ट पुग्ने तय भएको छ। अमेरिकी स्रोतका अनुसार दुवै आज अमेरिकाबाट प्रस्थान गर्ने तयारीमा छन्।
अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले आज ७ अक्टोबर २०२३ को हमास आक्रमणको दोस्रो वार्षिकीमा इजरायलप्रति वाशिङ्टनको दृढ समर्थन दोहोर्याएका छन्। सामाजिक सञ्जाल X मा उनले लेखे, “संयुक्त राज्य अमेरिका इजरायलसँग आतंकवादविरुद्धको साझा लडाइँ र बन्धक तथा उनीहरूको परिवारलाई मुक्ति दिलाउने प्रतिबद्धतामा अडिग छ।” रुबियोले ट्रम्पको २०-बुँदे शान्ति योजनालाई “यो अन्धकारमय अध्याय समाप्त गर्ने ऐतिहासिक अवसर” भनेका छन्।
इजरायली सुरक्षाबलले यमनस्थित हौती विद्रोहीबाट प्रक्षेपण गरिएका चार ड्रोन खसालिएको जनाएको छ। एक ड्रोन इजरायलको सीमा बाहिरै नष्ट गरिएकोले चेतावनी साइरन बजाउनुपरेन। यसअघि दक्षिणी सहर इइलातमा ड्रोन प्रवेशपछि सायरन बजाइएको थियो।
यसैबीच, वाशिङ्टन डीसीमा पूर्व बन्धक र अझै गाजामा रहेका बन्धकका परिवारहरू अमेरिकी सांसदहरूसँग भेटघाट गर्दैछन्। लिरान बेरमनले बीबीसीसँग भने, “दुई वर्षको संघर्षपछि म पहिलोपटक यति आशावादी छु। ट्रम्पकै कारण यो वार्ता सम्भव भएको हो — चाहे तपाईं उनको राजनीतिसँग सहमत हुनुहोस् वा असहमत।”
शुक्रबार हमासले ट्रम्पको शान्ति योजनाका केही सर्तहरू आंशिक रूपमा स्वीकार गरेको घोषणा गरेको थियो। अब मध्यस्थहरूले काइरोमा प्राविधिक र संवेदनशील बुँदाहरू टुंग्याउने प्रयास गरिरहेका छन्।
दुई वर्षअघिको रक्तपात र असफल युद्धविराम सम्झँदै परिवारहरू अझै सावधान छन् तर यसपटक स्थायी सम्झौता हुने आशा भने बढेको देखिन्छ।
प्रतिक्रिया