– कृष्णराज खनाल
नर्थ क्यारोलाइना । पेनाल्टी सुट आउटमा तमोरले त्रिशुलीलाई पराजित गर्दै दसैँ कपको उपाधि चुमेको छ ।
शनिवार राति सम्पन्न फाइनल खेलमा तमोरले त्रिशुलीलाई ५ ४ को गोल अन्तरले पराजित गर्दै यस वर्षको दसैँ कप जितेको हो ।
एपेक्सस्थित फुटबल खेल मैदानमा सम्पन्न सो फाइनल खेलमा निर्धारित समयमा दुवै टिमबाट २२ गोलको बराबरी भएपछि थप गरिएको समयमा पनि दुवै तर्फबाट गोल नभएपछि पेनाल्टी सुट आउटबाट निर्णय गरिएको थियो । सुरुमा पाँच पाँच जनाले सुट आउट गरेकोमा दुवैतर्फबाट तीन तीन गोल भएर बराबरी भएपछि फेरि एक एक जना थप गर्दा त्रिशुलीको एकका विरुद्ध दुइ गोल गरेर तमोरले उपाधि जितेको हो ।
यस अघि सेमिफाइनलमा तमोरले मस्र्याँदीलाई र त्रिशुलीले बागमतीलाई पराजित गरेको थियो ।
निर्धारित समयमा त्रिशुलीका तर्फबाट मध्यान्तर अघि दुवै गोल अञ्जल कार्कीले गर्नुभएको थियो भने तमोरका तर्फबाट दुवै गोल योगेश पराजुलीले गर्नुभएको थियो ।
जारी प्रतियोगिताको अन्तिम खेल निकै रोचक र प्रतिस्पर्धात्मक रहेको थियो । सो प्रतियोगिता हेर्न टाढाटाढाबाट पनि नेपालीहरु आएका थिए ।
लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको सो प्रतियोगिता सेप्टेम्वर ५ तारिखदेखि सुरु भएको थियो । प्रतियोगितामा त्रिशुली, नारायणी, बागमती, मनोहरा, तमोर, मस्र्यांग्दी, गण्डकी र कोशी फुटबल क्लव गरी आठ टिमका १६५ जना खेलाडीको सहभागिता रहेको थियो । सबै खेलाडी नेपाली मूलका हुन् भने सबै टिमको नाम पनि नेपालका नदीहरुका नामबाट राखिएको छ ।
दसैँ आगमनको पूर्व सन्ध्यामा सदरमुकाम राले वरपर रहेबसेका नेपालीहरुबीच भाइचारा अभिवृद्धि होस् र साथीभाइको भेटघाट समेत होस् भन्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गरिएको हो आयोजकमध्येका एक अनुप अर्यालले बताउनुभयो । धेरै मानिसको सहभागिता हुने हँुदा यो एक पर्व नै हो उहाँले थप्नुभयो ।
यो प्रतियोगिता सन् २०१८ देखि सुरु भएको हो । कोरोनाको समयमा एक दुइ पटक नभए पनि यो प्रतियोगिता लगातार भइरहेको छ ।
प्रतियोगिताका विजयी तथा उपविजयी टिमका खेलाडीहरुलाई एपेक्स काउन्टीका काउन्सिलरहरुले ट्रफी, पुरस्कार तथा पदक प्रदान गर्नुभएको थियो ।
प्रतियोगिता निकै रोचक रह्यो दर्शकदीर्घामा रहनुभएका प्रवीन खनियाले बताउनुभयो । अर्का दर्शक एनसीएनसीका अध्यक्ष विकास शाक्यले पनि यो प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रहेको र सबै दर्शकले मनोरञ्जन लिएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया