महाअष्टमी र नवरात्रिका नौ देवी — परम्परा, आस्था र बदलिँदो धारणा
आज महाअष्टमी, नवरात्रिको आठौँ दिन। नवरात्रका नौ देवीहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री मध्ये आज महागौरीको विशेष पूजा गरिन्छ। यो दिन शक्ति, साहस र शुद्धताको प्रतीक मानिन्छ।
महाअष्टमीमा घरघरमा घटस्थापनाको कलश, जमरा र नवदेवीका प्रतीक स-साना ढुङ्गा राखेर पूजा गरिन्छ। शक्ति पीठहरू र दसैँघरमा विशेष पूजाअर्चना हुने भएकाले मन्दिरहरूमा भक्तजनको भीड लाग्छ। आज मध्यरातबाट नवमीको सुरुवातसँगै विशेष अनुष्ठान हुन्छ। नेपाली सेना र सुरक्षाकर्मीहरूले आफ्ना हतियार र उपकरणहरूको पूजा पनि आजकै दिन गर्छन्।
यस दिन भद्रकालीको विशेष पूजाको परम्परा छ। पुराणअनुसार सतीदेवीले आत्मदाह गरेपछि महादेवको रौद्र रूपबाट महाकाली उत्पन्न भइन्, र यसै रूपलाई भद्रकाली भनेर पूजा गरिन्छ।
बलि दिने परम्परा र बदलिँदो सोच
महाअष्टमीमा देवीलाई बलि दिने प्रथा पुरानो छ — परम्परागत रूपमा बोका, कुखुरा, हाँस बलि दिइन्छ। तर मासु नखाने वा अहिंसाको पक्षपोषकहरूले कुम्भिण्डो, घिरौँला जस्ता फलफूललाई जनावरजस्तै बनाइ बलिको प्रतीकात्मक रूप अपनाउने चलन बढ्दो छ।
काठमाडौँको तलेजु भवानी मन्दिरमा ५४ वटा राँगा र ५४ बोका बलि दिने परम्परा छ। दक्षिणकाली, गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, इन्द्रायणी, मनकामना, छिन्नमस्ता, कंकालिनी, गढीमाई जस्ता शक्तिपीठहरूमा पनि आज बलि र पूजाअर्चनाको विशेष रौनक हुन्छ।
यद्यपि पछिल्ला वर्षहरूमा जनावर अधिकार र अहिंसाका पक्षमा आवाज बढेका छन्। शहरमा बजारमा मासु सजिलै उपलब्ध हुने, घरमै पशु पालन कम हुनु, स्वास्थ्य सचेतना बढ्नु, फ्रिजजस्ता साधनको प्रयोगले पनि घरैपिच्छे बलि दिने चलन घट्दै गएको छ।
सांस्कृतिक सन्देश
संस्कृतमा “बलि” को अर्थ त्याग हो। आजको दिन देवीलाई पूजा मात्र होइन, आफ्ना रिस–राग, इष्र्या र घमण्डलाई पनि त्याग्ने सन्देश दिन्छ। यही आत्मबलिद्वारा समाजलाई प्रेम, शान्ति र सदाचारको बाटोमा डो¥याउने प्रेरणा नवरात्रि र महाअष्टमीले दिन्छ।
सबैलाई महाअष्टमीको शुभकामना।

प्रतिक्रिया