चिनियाँ अदालतले म्यानमारमा ठगी र आपराधिक गतिविधि सञ्चालन गर्ने कुख्यात मिङ परिवारका ११ जनालाई मृत्युदण्ड सुनायो
चीनको पूर्वी शहर वेनझाउस्थित एक अदालतले म्यानमारको लाउकाई सहरमा ठगी र अपराध सञ्जाल चलाउँदै आएको कुख्यात मिङ परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार सोमबार सुनाइएको यो फैसलामा मिङ परिवारका ३९ सदस्य दोषी ठहरिएका छन्। ११ जनालाई मृत्युदण्ड, ५ जनालाई दुई वर्ष स्थगित मृत्युदण्ड, ११ जनालाई आजीवन कारावास, र बाँकीलाई ५ देखि २४ वर्षसम्म कैद सजाय सुनाइएको हो।
अदालतले जनाएको अनुसार सन् २०१५ देखि मिङ परिवार र अन्य अपराधी समूहहरूले दूरसञ्चार ठगी, अवैध क्यासिनो सञ्चालन, लागुऔषध कारोबार र यौन व्यापारजस्ता गतिविधि सञ्चालन गर्दै आएका थिए। यी अपराधबाट करिब १० अर्ब युआन (झन्डै १.४ अर्ब अमेरिकी डलर) बराबरको रकम आर्जन गरिएको प्रमाणित भएको अदालतले जनाएको छ।
चीन सीमावर्ती म्यानमारको सानो सहर लाउकाईमा प्रारम्भिक रूपमा चिनियाँ जुवाको माग पुरा गर्न क्यासिनो खोलिएका थिए। तर पछि त्यही क्यासिनोहरू ठगी, पैसाको हेरफेर (मनी लन्ड्रिङ), मानव बेचबिखन र जबर्जस्ती श्रम गराउने ठगी केन्द्रमा परिणत भए। संयुक्त राष्ट्रसंघले यसलाई “Scamdemic” अर्थात् ठगीको महामारी नाम दिएको छ।
यी केन्द्रहरूले सयौँ हजार मानिसलाई—धेरैजसो चीनबाट लगिएका—कैदीझैँ राखेर दिनरात अनलाइन ठगी गराउन बाध्य पारिन्थ्यो। म्यानमारको सान राज्यमा मिङ परिवार अत्यन्त शक्तिशाली मानिन्थ्यो र उनीहरूले कम्तीमा १०,००० मानिसलाई नियन्त्रणमा राखेका थिए। ‘क्राउचिङ टाइगर भिल्ला’ नामको कम्पाउन्डमा मजदुरलाई नियमित रूपमा कुटपिट र यातना दिइन्थ्यो।
दुई वर्षअघि म्यानमारको सैन्य शासनविरुद्ध लडिरहेका विद्रोही समूहहरूले चीनको मौन समर्थनसहित लाउकाईमा कब्जा गरे। त्यसपछि म्यानमारले मिङ परिवारका धेरै सदस्यलाई पक्राउ गरी चीन पठाएको हो। परिवारका प्रमुख मिङ स्युचाङले आत्महत्या गरेको भनिन्छ। बाँकी सदस्यहरूले चिनियाँ प्रहरीसँग आत्मसमर्पण गर्दै गल्ती स्वीकार गरेका थिए।
यस फैसलासँगै चीनले आफ्नो सीमासँग जोडिएका ठगी व्यवसायबारे कडा सन्देश दिएको छ। बेइजिङको दबाबले यसअघि थाइल्यान्डले पनि सीमावर्ती ठगी केन्द्रहरूमा कारबाही गरेको थियो। यद्यपि ठगी सञ्जालले स्वरूप बदलेर क्याम्बोडियासहित अन्य स्थानमा अझै पनि काम गरिरहेको बताइन्छ।
चिनियाँ सरकारको यो कदमलाई म्यानमार–चीन सीमा क्षेत्रमा लामो समयदेखि फैलिँदै आएको अपराध सञ्जालविरुद्धको निर्णायक प्रहारको रूपमा हेरिएको छ।
प्रतिक्रिया