बुझ्नेले कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि के नै गर्न सकिन्छ र ! जसको अहङ्कार, घमन्ड, कुशासन र अत्याचारका कारण विद्रोह भयो, उसैले अरूलाई सुरक्षा घेरा भित्र बसेर तथानाम भन्न थालेछ । यति हुँदा पनि अझै चेत नआए कहिले आउने हो महाशय ?? यो प्रश्न सोध्लान् भनेको तिनकै पछाडि कुद्न र जिन्दाबाद भन्न सुरु भएछ । कस्तो अचम्म !!

यत्रतत्र सर्बत्र आलोचित, नेपालको बर्तमान दुर्दशाका निम्ति एक कारक मानिएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्का बिबादित व्यक्ति महेश बस्नेतलाई दाहिने छे राखेर हालको राजनीतिक परिस्थितिमा आफू र आफ्नो पार्टी देश छाडेर नभाग्ने सन्देश दिएका छन्। बिहीबार भक्तपुरमा युवा संघ नेपालले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरूको पासपोर्ट रोक्ने र सुविधाहरू कटौती गर्ने चर्चा भइरहे पनि एमाले नेतृत्व राष्ट्र छाडेर नभाग्ने बताए।
ओलीले आफ्नो घरसमेत ट्र्याक गरी घेर्न खोजिएको आरोप लगाउँदै भने, “यदि सरकार यति नै साहसी छ भने म कहाँ बस्छु भन्ने ठेगाना दिन्छु। तर हामीलाई असुरक्षित बनाउने प्रयास सफल हुँदैन।”
अध्यक्ष ओलीले जेन–जी आन्दोलनको नाम दुरुपयोग गरिएको आरोप लगाए। संसद भवन र सिंहदरबारमा गरिएको आगजनी तथा छानीछानी गरिएको तोडफोड आन्दोलनकारी युवाले होइन, योजनाबद्ध तत्वले गराएको उनको दाबी छ। “जेन–जीको नाममा तोडफोड र आगजनी गर्नेहरूलाई देशले चिन्नुपर्छ,” उनले भने।
भदौ २३ गतेको घटनाबारे बोल्दै ओलीले गोली चलाउने सरकारी आदेश नभएको र प्रहरीले रबरका गोली मात्र चलाएको जानकारी आफूले पाएको पनि सुनाए।
ओलीले सरकारको कर्तव्यबारे प्रश्न उठाउँदै भने, “सरकारमा पुग्न आतंक र असुरक्षाको वातावरण सिर्जना गर्नेहरू अहिले अरूलाई सुरक्षा दिन्नँ भन्छन्। यो कस्तो शासन हो? सुविधा रोक्ने, पासपोर्ट खारेज गर्ने धम्कीले देश र लोकतन्त्रलाई बलियो पार्दैन।”
जेन–जी आन्दोलनपछि पहिलोपटक भक्तपुरको गुण्डुमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले संयम र एकतामा जोड दिए। उनले भने, “नेकपा (एमाले)का कार्यकर्ताहरूलाई भन्न चाहन्छु—कतिपयको घर जले, ठुलो क्षति भयो। तर हरेश नखानुहोस्। यो देशलाई फेरि सही बाटोमा फर्काउने जिम्मा हामीले लिनुपर्छ।”
उनले देशभरका जनतालाई आक्रोश र वैमनस्य छोड्न आग्रह गर्दै भने, “हामीलाई अहिले चाहिएको कुरा एकता, समझदारी र संयमता हो। रिस, राग र प्रतिशोधले होइन, शान्ति र समृद्धिको बाटो समातेर अघि बढ्नुपर्छ।”

प्रतिक्रिया