नेपालको इतिहासलाई पल्टाएर हेर्ने हो भने, यहाँका राजनीतिक उतारचढावमा छिमेकी भारतको छायाँ अनिवार्य रूपमा परेको देखिन्छ । चाहे त्यो राजतन्त्र उचाल्ने वा पछार्ने खेल होस्, काँग्रेस, एमाले, माओवादीजस्ता दलहरूलाई पालैपालो प्रयोग गर्ने होस्, वा सात बुँदे दिल्ली सम्झौताजस्ता निर्णायक मोड होस् – भारत सधैँ आफ्नो स्वार्थअनुरूप सक्रिय भएको छ । असल छिमेकी भएर सहयोगी बन्न सक्ने ठाउँमा, त्यसले बारम्बार “कुटिल खेल” खेल्दै आएको सत्यलाई अब लुकाएर लुक्ने छैन।
तर, दोष मात्र भारतलाई दिने हो भने त्यो अधुरो कुरा हुन्छ । भारतलाई खेल्ने मौका दिने हाम्रो नेतृत्व र दलहरू आफैं हुन्। यदि नेपाली नेताहरू इमानदार, राष्ट्रप्रेमी र दृढ भएको भए बाहिरका कसैले यहाँको राजनीति यसरी खेल्न पाउने थिएनन्। तर दुर्भाग्यवश, हाम्रो राजनीतिमा बिक्रीमुखी, पदलोभी र दलाल स्वभावका नेताहरूको बाहुल्य छ। भारतलाई आज्ञाकारी भएर “हाम्रो स्वार्थ बेच्ने” काममा उनीहरू कसरी रमाइरहेका छन् भन्ने कुरा नेपाली जनताले दिनदिनै महसुस गरिरहेका छन्। सत्य तितो हुन्छ, तर यही हो – हाम्रै कमजोरीले गर्दा भारतले आफ्नो स्वार्थ सिद्ध गर्न सहजै खेल्ने मौका पाएको छ।
तर, आज भारत आफैं पनि असन्तोष र विद्रोहको छायाँमा प्रवेश गर्दैछ। लद्दाखमा छुट्टै राज्यको मागसहितको आन्दोलन तीव्र बनेको छ, भाजपाको कार्यालयमा आगजनीका खबर आइरहेका छन्। यो सन्देश छ – अरूको देशमा आगो लगाउनेहरूले आफैंलाई पनि सुरक्षित राख्न सक्दैनन्। इतिहासमा जहाँसुकै हेरियो, अन्याय, विभाजन र शोषणमा आधारित राजनीति सधैं बुमराङ बनेर फर्किन्छ। नेपालमा माओवादी आन्दोलन जन्माउन, हुर्काउन, हतियार दिनदेखि आश्रय र तालिम दिनेसम्म भारतको भूमिका निर्णायक थियो। तर त्यसैको असर अहिले उसको आफ्नै देश भित्र आगो झैं फैलिन थालेको देखिन्छ।
भारतले चाह्यो भने नेपाल शान्त, स्थिर र समृद्ध बन्न सक्थ्यो। सहकार्य, विश्वास र समानताको सम्बन्ध विस्तार गर्न सक्थ्यो। तर उसको प्रवृत्ति सधैं फुटाउन, अस्थिर बनाउन, आफ्नो स्वार्थ सिद्ध गर्नकै लागि देखिएको छ। र, हाम्रो दुर्भाग्य -त्यो खेलमा हाम्रा आफ्नै नेताहरू उसका आज्ञाकारी “कुकुर” जस्तै बन्न तयार छन्। जनताले चुनेका नेताले जनताको हैसियतमा काम गर्नु भन्दा विदेशीको इशारामा नाच्दा देशको कहिल्यै भलो भएन ।
आज नेपालमा मात्र होइन, भारतमा पनि आगो सल्किसकेको छ। यो परिस्थिति भारतका लागि चेतावनी हो – पराई देशलाई अस्थिर बनाउन लाग्ने ऊ आफैं अस्थिर बन्न सक्छ।
यसैबीच, नेपाली जनताका लागि पनि पाठ स्पष्ट छ। बाहिरको खेल रोक्ने हो भने आफ्ना नेताहरूको बिक्रीमुखी चरित्र अन्त्य गर्नैपर्छ। असल र इमानदार नेतृत्वले मात्र स्वार्थी छिमेकीलाई नियन्त्रण गर्न सक्छ। नत्र भने, हाम्रो वरिपरि निरन्तर आगो सल्किरहनेछ।
सबैको भलो होस्, सबैले शान्तिको समाचार सुनून्, अप्रिय खबर सुन्नु नपरोस्। तर त्यसका लागि सत्य पहिचान गर्नुपर्छ – हाम्रो असली समस्या बाहिर मात्र होइन, भित्र पनि छ। नेपाललाई असल बनाउने जिम्मा अन्ततः हामी नेपालीकै हो। सबैको चेत खुलोस ।
************
एएनआईका अनुसार, प्रदर्शनकारीहरूले लेहमै रहेको भारतीय जनता पार्टी (बीजेपी)को कार्यालयमा आगो लगाएका छन्। पीटीआईका अनुसार, प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास र लाठीचार्ज गरेको थियो। सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा सवारीसाधन जलिरहेको र सडकमा झडप भइरहेको दृश्य देखिएको छ।
पीटीआईले उद्धृत गरेको विवरणअनुसार हिंसात्मक घटनामा कम्तीमा चारजनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासनले लेहमा पाँच वा सोभन्दा बढी व्यक्तिहरूको जमघटमा प्रतिबन्ध लगाएको छ। साथै पूर्वअनुमतिबिना कुनै जुलुस, र्याली वा मार्च गर्न नपाइने आदेश जारी गरिएको छ।
यसबीच, वातावरणविद् र सामाजिक अभियन्ता सोनम वाङचुकले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै शान्ति कायम राख्न अपिल गरेका छन्। उनले भने, “३५ दिनदेखि अनशन भइरहेका मध्ये दुईजनाको अवस्था गम्भीर बनेर अस्पताल भर्ना गर्नुपरेको थियो। यसले आक्रोश बढाएको छ र लेह बन्द गरिएको छ। हजारौँ युवा सडकमा उत्रिए, यो ‘जेनजी रिभोलुसन’ जस्तै बन्यो।”
उनले लद्दाखका युवाहरू वर्षौँदेखि बेरोजगार रहेको, संरक्षण नपाएको र लोकतान्त्रिक मञ्चहीन अवस्थाका कारण असन्तोष बढेको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा हिंसाको बाटो नअपनाउन आग्रह गरे।
यसैबीच, केन्द्र र लद्दाखका प्रतिनिधिहरूबीच वार्ताको नयाँ चरण अक्टोबर ६ मा हुने तय भएको पीटीआईले जनाएको छ। वार्तामा लेह एपेक्स बडी र कारगिल डेमोक्रेटिक अलायन्सका सदस्यहरू सहभागी हुनेछन्।

प्रतिक्रिया