काठमाडौं / हिन्दूहरूको महान् पर्व बडादसैँ आज घटस्थापनासहित सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यो पर्व असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा श्रद्धा र उल्लासका साथ मनाइन्छ।
आज बिहान नित्यकर्म सकेर भक्तजनले नदी वा चोखो स्थलबाट माटो ल्याई पूजा कोठा वा दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरेका छन्। गाईको गोबरले लिपपोत गरिएको स्थानमा जौ रोपेर जमरा राख्ने चलन छ। जमरा दुर्गा देवीको प्रिय मानिँदै आएको र विजयादशमीका दिन समृद्धिको प्रतीकका रूपमा टीका र प्रसादसँगै ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका प्रा. डा. देवमणि भट्टराईका अनुसार जौ बाहेक अन्य अन्न जमरामा रोप्ने शास्त्रीय विधि छैन।
समितिले आज घटस्थापनाको साइत बिहान ९ः१३ बजे उत्तम रहेको जनाएको छ। अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सुर्योदयकालमा प्रतिपदा परेका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय परम्परा अनुगमन गरिएको हो। नवरात्रभर देवीका नौ रूप — शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री — को पूजा आराधना गरिन्छ।
फूलपाती सातौँ दिन भित्र्याइने, महाअष्टमी र महानवमीका दिन बलिपूजा हुने परम्परा छ। गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा–दर्शनका लागि भक्तजनको घुइँचो लाग्नेछ। हनुमानढोकाको दसैँ घरमा पनि आजदेखि वैदिक विधिअनुसार पूजा सुरु भएको छ, जहाँ महानवमीका दिन कोतमा ५४ बोका र ५४ राँगाको बलि दिने चलन छ।
विजयादशमी असोज १६ गते परेको छ। देवी विसर्जनको साइत बिहान ९ः२३ र टीका प्रसाद ग्रहणको उत्तम साइत बिहान ११ः५३ रहेको समितिले जनाएको छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने र पूर्णिमाको रात महालक्ष्मीको जाग्राम बसेर धन ऐश्वर्यको कामना गर्ने धार्मिक विश्वास छ।
दसैँलाई पारिवारिक पुनर्मिलन र सामाजिक एकताको पर्वका रूपमा समेत मानिन्छ।


प्रतिक्रिया