गाजामा रहेका इजरायली बन्दीहरूबारे नयाँ विवाद उत्पन्न भएको छ। हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले शनिबार सार्वजनिक गरेको ‘बिदाइ तस्वीर’मा ४८ जना बन्दीहरूको अनुहार देखाइएको छ, जसमा नेपालका विपिन जोशीको तस्वीर पनि समावेश गरिएको छ। यो तस्वीर सार्वजनिक गर्दै हमासले उनीहरूको वास्तविक अवस्थाबारे केही खुलाएको छैन, तर इजरायल र बन्दीका परिवारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास गरेको टाइम्स अफ इजरायलले जनाएको छ।
अल जजिराका अनुसार, इजरायली सेनाले गाजा सिटी कब्जा गर्ने लक्ष्यसहित हवाई र स्थल आक्रमण तीव्र पारेको बेला यो तस्वीर सार्वजनिक गरिएको हो। तस्वीरमा जीवित र मृत दुवै प्रकारका बन्दीहरूको अनुहार राखिएको छ र सबैलाई ‘रोन अराड’ भन्ने क्याप्सन दिइएको छ—यो सन् १९८६ मा लेबनानमा हराएका इजरायली पाइलट रोन अराडको नामसँग तुलना गर्दै गरिएको प्रतीकात्मक टिप्पणी हो।
हमासले तस्वीरसँगै गरेको टिप्पणीमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको “अस्वीकार” र सेनाप्रमुख एयाल जामिरको “आत्मसमर्पण”लाई दोष दिंदै, गाजा सिटीमा सैन्य कारबाही सुरु हुनु अघिको “बिदाइ” भएको दाबी गरेको छ। नेतान्याहूले हमाससँग सम्झौता नगर्ने अडान दोहोर्याउँदै आएको छ भने जामिरले पनि सरकारको रणनीति सार्वजनिक रूपमा आलोचना गरे पनि सैन्य आक्रमणलाई नेतृत्व गरेको बताइएको छ।
इजरायली अधिकारीहरूले अझै करिब २० जना बन्दी जीवितै रहेको विश्वास व्यक्त गरेका छन्, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संख्या २० भन्दा कम हुन सक्ने बताएका छन्। नेतान्याहू र ट्रम्प दुवैले सबै जीवित र मृत बन्दीहरू फर्काउने र हमासलाई पूर्ण रूपमा ध्वस्त पार्ने प्रतिज्ञा गरेका छन्।
हमासले भने इजरायली तीव्र आक्रमण र स्थल अभियानका कारण बन्दीहरूको जीवन खतरामा परेको चेतावनी दिएको छ। समूहका अनुसार केही बन्दीहरू इजरायली बम आक्रमणमै मारिएका छन् र बाँकीलाई गाजाका विभिन्न बस्तीमा “छरिएर राखिएको” दाबी गरिएको छ।
तेल अभिभलगायत इजरायलका ठूला शहरहरूमा लाखौं नागरिकहरू सडकमा उत्रेर युद्ध अन्त्य गर्न र बन्दीहरूलाई सुरक्षित फर्काउन सरकारलाई दबाब दिइरहेका बेला यो तस्वीर सार्वजनिक भएको हो। यसअघि पनि हमासले बन्दीहरूको भिडियो सार्वजनिक गरेर इजरायली समाजमा रोष र चिन्ता जगाएको थियो। यो घटनाले गाजाको संघर्षलाई अझ संवेदनशील र तनावपूर्ण बनाइदिएको छ।

प्रतिक्रिया