भदौ २४ गतेको जेन–जी आन्दोलन हिंसात्मक बनेपछि आन्दोलनकारीको समूहले शेरबहादुर देउवाको निवासमै घुसपैठ गरी देउवा दम्पतीमाथि धारिलो हतियारले आक्रमण गरेको घटनाले देशभर तरंग ल्याएको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आक्रमणका क्रममा देउवाको गर्धनमा गहिरो चोट लागी १२ वटा टाँका लगाउनुपरेको हो। उपचारपछि देउवाको स्वास्थ्यमा सुधार आइरहेको र उनले पार्टी नेताहरूसँग छलफल सुरु गरेको विश्वकर्माले जानकारी दिए। त्यस्तै, आरजु राणा देउवाको स्वास्थ्यमा पनि उल्लेखनीय प्रगति भएको बताइएको छ।
शुक्रबार सानेपास्थित क्षतिग्रस्त कांग्रेस मुख्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दम्पतीमाथि भएको ‘अमानवीय र बर्बरतापूर्ण’ आक्रमणको तीव्र निन्दा गर्दै दुवैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बैठकले भदौ २३ र २४ गतेको आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटका घटनाले खर्बौँ मूल्य बराबरको निजी तथा सार्वजनिक सम्पत्ति नष्ट भएको भन्दै सरकारलाई उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
बैठकपछि बोल्दै विश्वकर्माले मुलुकको सबै राजनीतिक समस्या संविधानकै दायराभित्र समाधान खोजिनुपर्ने कांग्रेसको अडान पुनः स्पष्ट गरे। पार्टीले भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जाल सुचारु गरिनेजस्ता जायज मागहरूलाई आत्मसात् गर्दै विधिसम्मत समाधानका लागि प्रतिवद्धता जनाएको छ। साथै, मुलुक चुनौतीपूर्ण मोडमा रहेकाले सबै सदस्य, समर्थक र आम नेपालीबीच एकता र संयम आवश्यक भएको कांग्रेसको निष्कर्ष छ।
यता राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा सितल निवासमा आयोजित समारोहमा बोल्दै, प्रतिनिधि सभाबाट सरकार गठन गर्न नसकिने भएपछि संसद विघटन गरिएको बताएका छन्। उनले मुलुक फेरि नयाँ सपनासहित परिवर्तनको मार्गमा अघि बढेको उल्लेख गर्दै, आगामी छ महिनाभित्र अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गरेर निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए। पौडेलले सबै राजनीतिक दल, निकाय र बौद्धिक समुदायलाई पूर्वाग्रह र द्वन्द्वभन्दा पर रही निर्वाचनलाई सफल बनाउन एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
राष्ट्रपतिले भदौ २४ पछि उत्पन्न राजनीतिक रिक्तता र कठिन परिस्थितिलाई सबैको सुझबुझ र सहकार्यले सम्हालिएको भन्दै लोकतन्त्रलाई थप सबल बनाउन सबै पुस्ताको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे। उनले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति संवेदना प्रकट गरे।
यसैबीच, आन्दोलनकै गडबडीका कारण देशभरका २७ कारागार र नौवटा बालसुधारगृहबाट हजारौँ कैदीबन्दी भागेका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी र १,४२२ मध्ये ९६४ बालसुधारगृहका बालबन्दी भागेका थिए। अहिलेसम्म ५,४९५ कैदी र २४४ बालबन्दी फिर्ता भइसकेका छन् भने ८,८१६ अझै फरार रहेको र खोजी कार्य जारी रहेको विभागले जनाएको छ। नेपाल प्रहरीको हिरासतबाट भागेका कैदीबन्दीको पनि खोजी चलिरहेको छ।
प्रतिक्रिया