गाजामा जारी युद्धका कारण इजरायल अन्तर्राष्ट्रिय समुदायबीच क्रमशः एक्लिँदै गएको संकेत देखिन थालेको छ। विश्लेषकहरूका अनुसार, यो अवस्था रंगभेद कालमा दक्षिण अफ्रिकाले भोगेको अन्तर्राष्ट्रिय बहिष्कार र दबाबसँग मिल्दोजुल्दो दिशातर्फ इजरायल धकेलिँदै गएको छ। त्यही बहिष्कारले दक्षिण अफ्रिकालाई आफ्नो नीति बदल्न बाध्य पारेको थियो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी सरकार गाजा र कब्जा गरिएको वेस्ट बैंकमा आफ्नो नीति जारी राख्दै अन्तर्राष्ट्रिय प्रतिष्ठामा स्थायी क्षति नपुर्याई कूटनीतिक संकट पार गर्न सक्नेछ कि नसक्नेछ भन्ने विषय चासोको केन्द्र बनेको छ। इजरायलका पूर्वप्रधानमन्त्री एहुद बराक र एहुद ओल्मर्टले नेतन्याहूले इजरायललाई ‘अछुत राष्ट्र’ बनाउँदै लगेको आरोप लगाएका छन्।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको गिरफ्तारी वारेन्टका कारण नेतन्याहूको स्वतन्त्र विदेश भ्रमण पनि कठिन बन्दै गएको छ। यसैबीच, बेलायत, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम र क्यानाडासहितका देशले आगामी साताबाट प्यालेस्टाइनलाई आधिकारिक मान्यता दिने योजना सार्वजनिक गरेका छन्। कतारमा हमास नेतामाथि भएको हालैको आक्रमणपछि दोहामा भेला भएका केही देशका नेताले इजरायलसँग सम्बन्ध भएका मुलुकलाई आफ्नो नीति पुनर्विचार गर्न आग्रह गरेका छन्।
बेल्जियमले वेस्ट बैंकका अवैध यहुदी बस्तीबाट हुने आयात रोक, इजरायली कम्पनीहरूसँगको सरकारी खरिद नीतिमा पुनरवलोकन र बस्तीमा बसोबास गर्ने आफ्ना नागरिकलाई कन्सुलर सहायता नदिने निर्णय गरिसकेको छ। बेल्जियमले चरमपन्थी मन्त्रीहरू इतामार बेन–ग्विर र बेजलेल स्मोट्रिचलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गरेको छ। स्पेनले पनि हतियार र आंशिक आयात प्रतिबन्ध घोषणा गर्दै गाजामा नरसंहारमा संलग्न व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ।
नर्वेको दुई ट्रिलियन डलरको ‘सभरेन वेल्थ फन्ड’ले इजरायली कम्पनीहरूमाथि गरेको लगानी फिर्ता गर्न सुरु गरेको छ भने युरोपेली संघले कट्टरपन्थी मन्त्रीहरूमाथि प्रतिबन्ध र व्यापार सम्झौताका केही पक्ष निलम्बन गर्ने तयारी गरिरहेको छ। सेप्टेम्बरमा युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयनले गाजाका घटनाले ‘विश्वको विवेकलाई हल्लाइदिएको’ बताएकी थिइन्।
सांस्कृतिक र खेल क्षेत्रमा पनि बहिष्कारको संकेत देखिएको छ। युरोभिजन सङ कन्टेस्टमा आयरल्यान्ड, स्पेन, नेदरल्यान्ड र स्लोभेनियाले सन् २०२६ मा इजरायललाई सहभागी गराइएमा प्रतियोगिताबाट बाहिरिने चेतावनी दिएका छन्। हलिउडमा पनि इजरायली महोत्सव बहिष्कारको अपिल भएको छ, जसमा एमा स्टोन र जेभियर बार्डेमजस्ता कलाकारले समर्थन जनाएका छन्।
इजरायली विदेशमन्त्री गिदोन सारले यी कदमलाई यहुदीविरोधी भन्दै स्पेनमाथि आरोप लगाएका छन्। नेतन्याहूले पनि चेतावनी जनाउँदै अन्तर्राष्ट्रिय कूटनीतिक कदमलाई ‘पागलपन’ भनेका छन्। तर पूर्वकूटनीतिज्ञहरूले भने इजरायलको अन्तर्राष्ट्रिय प्रतिष्ठा हालसम्मकै कमजोर अवस्थामा पुगेको बताउँदै अमेरिका र जर्मनीजस्ता बलिया सहयोगीका कारण इजरायल पूर्ण बहिष्कारको स्तरमा भने नपुगेको ठम्याएका छन्।
प्रतिक्रिया