गत २३ र २४ भदौमा जेनजी युवाहरूको आह्वानमा भएको प्रदर्शनका क्रममा देशभर भौतिक संरचना, निजी व्यवसाय र सरकारी निकायमा ठूलो क्षति पुगेको छ। विशेषगरी काठमाडौं उपत्यकामा भएका आगजनी र तोडफोडका घटनाले ठूलो मानवीय र आर्थिक क्षति बेहोर्नु परेको छ।
चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगजनीपछि सरसफाइ गर्ने क्रममा सातजनाको जलेको शव फेला परेको छ। यी शवहरू अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएका छन्। फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४६ वटा शव पोस्टमार्टमका लागि ल्याइएका थिए। तीमध्ये ३९ वटा शवको पोस्टमार्टम सकिएर आफन्तलाई बुझाइएको छ, तर सात शव अत्यन्त जलेको कारण पहिचान हुन सकेको छैन।
बिहीबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा अर्को शव भेटिएसँगै आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ। डा. चौधरीका अनुसार यी जलेका शवहरूको पहिचान केवल डीएनए परीक्षणमार्फत मात्र सम्भव छ। उनले भने, “शरीरको मासु र ऊतक पूर्ण रूपमा जलेका कारण हड्डी वा दाँतबाट नमुना लिनु पर्नेछ। तर, धेरै दिनसम्म आगोको तापमा रहँदा डीएनए नमुना नष्ट भइसकेको हुन सक्छ।”
पोस्टमार्टमको लागि तयारी भए पनि प्रहरीबाट अनुमति पत्र नआएसम्म परीक्षण सुरु नहुने उनले जनाए। प्रहरीले आन्दोलनका क्रममा हराइरहेका वा सम्पर्कमा नआएका आफन्तहरूको विवरण नजिकैको प्रहरी कार्यालयमा, कन्ट्रोल नम्बर १०० वा ९८५१२८३०१२ मा जानकारी दिन आग्रह गरेको छ।
यसबीच, भाटभटेनी सुपरमार्केट, हिल्टन होटल, ह्यात होटल, चौधरी ग्रुप, सीजी डिजिटल पार्क लगायत अर्बौंको लगानी भएका व्यवसायमा आगजनी र तोडफोड हुँदा करिब १० हजारभन्दा बढी श्रमिकको रोजगारी गुम्ने जोखिम देखिएको छ। भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार एकैपटक ५ हजारभन्दा बढी कर्मचारी बेरोजगार भएका छन्। देशभरका ठूला स्टोरहरू जलेर खरानी भएपछि सामानको क्षति, नगद लुटपाट र रोजगारको संकट एकैसाथ आएको उनले बताए।
होटल एसोसिएसन नेपालका सीईओ टेकबहादुर महतका अनुसार होटल क्षेत्रमा कम्तीमा २ हजार जनाको रोजगारी गुमेको छ। पर्यटन क्षेत्रमा परेको प्रत्यक्ष असरले होटल तथा रेस्टुरेन्ट व्यवसाय थप संकटमा परेको छ। अखिल नेपाल ट्रेड युनियन महासंघका वरिष्ठ उपाध्यक्ष धनबहादुर विकका अनुसार चन्द्रागिरि हिल्स, सीजी ग्रुप जस्ता ठूला कम्पनीमा भएको क्षतिले हजारौँ श्रमिक विस्थापित भएका छन्।
श्रम विज्ञ डा. जीवन बानियाले यो अवस्था कोभिड–१९ र भूकम्पपछिको संकटभन्दा गहिरो भएको बताए। उनका अनुसार, तत्काल रोजगार सिर्जना गर्ने नीति वा लगानीको अभावले धेरै नेपाली वैदेशिक रोजगारीतर्फ जान बाध्य हुनेछन्। “भूकम्पले आन्तरिक अवसर र सहयोग ल्याउँथ्यो, तर यो अवस्थाले मानिसलाई देश छोड्न बाध्य बनाउने देखिन्छ,” उनले भने।
जेनजी आन्दोलन नियन्त्रण बाहिर पुगेपछि सरकारी संरचना मात्र होइन, निजी व्यवसाय र नागरिकको जीवनमा समेत गहिरो चोट पुगेको छ। हराएका आफन्तहरूको पहिचान, क्षतिको मूल्याङ्कन र रोजगारीको पुनर्स्थापनाका लागि तत्कालीन सहयोग र दीर्घकालीन योजनाको खाँचो देखिएको छ।
जेनजी आन्दोलनका कारण निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबी करिब ३० अर्ब रुपैयाँ पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। भदौ २३ र २४ गते भएका प्रदर्शनपछि मंगलबारसम्म बीमा कम्पनीहरूमा यो दाबी दर्ता भएको हो। प्राधिकरणका अधिकारीहरूका अनुसार मूल्याङ्कन कार्य अझै जारी रहेकाले यो रकम ४० अर्ब नाघ्ने अनुमान गरिएको छ।
२०७२ सालको गोरखा भूकम्प, कोरोना महामारी र हालका बाढीजस्ता प्राकृतिक विपत्तिले पनि नदिएको दायित्व जेनजी आन्दोलनले बीमा क्षेत्रलाई दिएको प्राधिकरणको ठहर छ। आन्दोलनका क्रममा निजी तथा औद्योगिक सम्पत्तिमा तोडफोड र आगजनी हुँदा बीमा कम्पनीहरूलाई अर्बौंको क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने अवस्था आएको हो।
सिंहदरबार, सर्वोच्च अदालतसहित धेरै सरकारी कार्यालयमा तोडफोड भए पनि ती सम्पत्तिहरूको बीमा नभएकाले कम्पनीहरूको दायित्व सीमित छ। तर, चन्द्रागिरि केबलकार, भाटभटेनी सुपरमार्केट, सीजी डिजिटल, मौलाकालिका केबलकार, एनसेल, होटल हिल्टन, ह्यात रिजेन्सी, बैंकका शाखा कार्यालय, गाडीका शोरुम, व्यक्तिगत घर र व्यवसायमा भएको तोडफोड तथा आगजनीका कारण बीमा दाबी असाध्यै बढेको छ। निजी क्षेत्रका अधिकांश व्यवसाय ऋणमा चल्ने र बीमा अनिवार्य हुने भएकाले दायित्व बीमा कम्पनीहरूमा परेको हो।
बीमकहरूका अनुसार जेनजी आन्दोलनले पुर्याएको क्षति २०७२ को भूकम्पमा भुक्तानी गरिएको करिब १८ अर्ब रुपैयाँभन्दा धेरै हुनेछ। हाल सम्पत्ति बीमामा आगजनी र तोडफोडलाई अनिवार्य रूपमा कभर गरिनुपर्ने कानुनी व्यवस्था भएकाले यो आन्दोलनको नोक्सानीमा बीमा कम्पनीहरूको जिम्मेवारी झन् बढेको हो।
नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीलाई क्षति मूल्याङ्कन छिटो सम्पन्न गरी बीमितहरूलाई समयमै भुक्तानी दिन निर्देशन दिएको छ। बीमकहरूले सम्पत्ति, मोटर निजी र सार्वजनिक, सामुद्रिक, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, हवाई, कृषि बालि, पशुपन्छी लगायत शीर्षकमा बीमा सेवा प्रदान गर्दै आएका छन्।

प्रतिक्रिया