आजको युगलाई “डिजिटल युग” भन्दा अतिशयोक्ति हुने छैन। बिहान उठ्दा मोबाइल नछोई दिन सुरु नै हुँदैन, राति निदाउँदा पनि अन्तिम पटक स्क्रोल गरेरै निदाउँछौँ। फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू हाम्रो जीवनको मुख्य अङ्ग बनिसकेका छन्।
सामाजिक सञ्जालले व्यावसायिकता र सामान्यतालाई छुट्याउने सीमा नै तोडिदिएको छ। अब गीत गाउँन रेडियो नेपालको परीक्षा दिनुपर्ने, गीत प्रसारण गर्न रेकर्ड स्टुडियो वा म्युजिक कम्पनी धाउनुपर्ने अवस्था छैन। मोबाइलमा रेकर्ड गरेर टिकटकमा राखेपछि लाखौँ दर्शकले हेरेर लाइक, कमेन्ट र शेयर गरिदिन्छन्। यसरी एकैपटक “गायक” जन्मन्छ।
त्यसरी नै युट्युबले हरेक घर–घरमा “पत्रकार” जन्माएको छ। क्यामेरा हातमा लिएर माइक्रोफोनमा केही प्रश्न सोध्नेबित्तिकै आफूलाई पत्रकार भन्न पाइन्छ। टेलिभिजन वा पत्रपत्रिकामा काम गर्ने परम्परागत पत्रकारितालाई एकातिर राखेर, अब जो कोही पनि “न्यूज पोर्टल” खोल्छ र आफ्नै ढंगले समाचार लेख्छ।
सामाजिक सञ्जालले राजनीतिलाई अझ रोचक बनाइदिएको छ। एक जमाना थियो, नेताको भनाइ पत्रपत्रिकाले छाप्नुपर्ने। अहिले भने नेताले आफ्नै पेज वा ट्वीटरमार्फत जनता समक्ष आफ्ना नीति, मन्तव्य र भावनाहरू तत्काल राख्छन्। धेरैलाई त पत्रकारभन्दा अघि नै नेताले फेसबुकमा स्टाटस हालिदिन्छन्।
त्यस्तै, समाजसेवा गर्ने वा सामाजिक मुद्दा उठाउने व्यक्तिहरू पनि सञ्जालमार्फत लाखौँ मानिसलाई छुन सक्छन्। एक सामान्य व्यक्तिले पनि न्यायको खोजी गर्दै फेसबुक पोस्ट लेखेमा, त्यो मुद्दा भोलिपल्टै राष्ट्रिय चर्चा बन्छ।
तर, प्रश्न यहीँ उठ्छ – यदि सामाजिक सञ्जाल नै नभएको भए के मिडियाले हामीलाई सम्झिने थिए? के रेडियोले हाम्रो गीत बजाउने थियो? के टेलिभिजनले हाम्रो नाम लिने थियो? के अखबारले हाम्रो तस्वीर छाप्ने थियो?
हामीले स्वयम् आफैलाई ऐनामा हेरेर प्रश्न गर्नुपर्ने हुन्छ – “मैले यो स्थान, यो लोकप्रियता र यो पहिचान केवल सामाजिक सञ्जालकै कारण पाएको त होइन?”
सामाजिक सञ्जाल वास्तविक जीवनभन्दा धेरै फरक छ। यहाँ हरेक मानिस महान देखिन्छ, बुद्धिजीवी देखिन्छ, सफल देखिन्छ। फोटोशपले सुन्दरतामा चमक थप्छ, छोटकरी भिडियोले व्यक्तित्वमा स्टारडम थप्छ, लाइक–कमेन्ट–शेयरले आत्मविश्वास बढाउँछ। तर, वास्तविकतामा त्यो “फिल्टर” बिना को हुन्, त्यो सामाजिक सञ्जालले कहिल्यै देखाउँदैन।
यसैले कतिपय अवस्थामा यो दुनियाँ नक्कली लाग्छ। मित्रता पनि अनलाइन मैत्रीमा सीमित हुन्छ, सहानुभूति पनि इमोजीमा सीमित हुन्छ, प्रेम पनि “इनबक्स” भित्र मात्र सीमित हुन्छ।
सामाजिक सञ्जालले अवसर पनि दिएको छ, चुनौती पनि। जसले सक्यो, आफ्नो सिर्जना, विचार र आवाजलाई संसारसम्म पुर्याउन सजिलो बनाएको छ। तर, यसैसाथ नक्कली छवि सिर्जना गर्ने, लोकप्रियताको भ्रम सिर्जना गर्ने काम पनि गरेको छ।
त्यसैले अन्त्यमा भन्नैपर्छ :
“सामाजिक सञ्जाल तैंले गर्नु नगर्नु सबै गरिस।
हे नक्कली दुनियाँ, तँ यसैको फेला परिस।”
प्रतिक्रिया